नयाँ दिल्ली : भारतमा बुधवार एकै दिन सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेका छन्। यसअघिका खराब रेकर्डलाई पछि पारेको भारतले एकै दिन २५ हजार भन्दा धेरै संक्रमित पहिचान गर्यो।
बुधवारमात्रै २५ हजार ५ सय ३० नयाँ संक्रमित भेटिएको हो भारतमा। भारतमा संक्रमितको संख्या अत्याधिक बढ्नुको मुख्य कारण हो, परीक्षणको दायर बढ्नु। आइतवार भारतमा १ लाख ८० हजार जनाको परीक्षण गरिएको थियो भने सोमवार २ लाख ४१ हजार र मंगलवार २ लाख ६२ हजार जनाको परीक्षण गरिएको थियो। मंगलवारको परीक्षणको हिजो रिपोर्ट आएको हो।
पछिल्लो २४ घन्टामा भारतमा ४ सय ९३ जनाको मृत्यु भएको छ। यससहित भारतमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २१ हजार १ सय २२ पुगेको छ। साथै संक्रमितको संख्या ७ लाख ६८ हजार ३ सय २२ पुगेको छ। दुई दिनअघिमात्र भारतमा संक्रमितको संख्याले ७ लाखको सीमा पार गरेको थियो। भारतमा कोरोना ठीक हुनेको संख्या ४ लाख ७५ हजार ८ सय ४९ छ जुन कूल संक्रमितको ६२ प्रतिशत हो।
