स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले स्पानोयलमाथि संघर्षपूर्ण जित निकालेको छ। क्याम्प नोउमा भएको खेलमा घरेलु टोलीले १-० को जित निकालेको हो।
बार्सिलोनाको जितकालागि लुइस स्वारेजले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफको सुरुमै बार्सिलोनाका अंशु फाती रेडकार्ड खाँदै बाहिरिए। ५० औं मिनेटबाट बार्सिलोना १० खेलाडीमा सीमित भए पनि त्यसको तीन मिनेट भित्रै स्पानोयलका पोल लोजानो पनि रेड कार्ड खाँदै बाहिरिए।
खेलको ५६ औं मिनेटमा बार्सिलोनाका स्वारेजले गोल गर्दै बार्सिलोनाको खाता खोले। र, उनको गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बन्न पुग्यो।
जितसँगै बार्सिलोना लिग लिडर रियल मड्रिड भन्दा एक अंकले पछाडि छ। ३४ खेल खेलेको मड्रिडको ७७ अंक छ भने ३५ खेल खेलेको बार्सिलोनाको ७६ अंक छ। स्पानोयल भने २४ अंकसहित तालिकाको पुछारमा छ।
