काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिकामा बाढी पहिरोले ठूलो क्षति भएपछि उद्धार कार्य चुस्त बनाउन त्यसतर्फ उडेको हेलिकप्टर धुलिखेलबाटै फर्किएको छ।
सभामुख अग्निप्रसाद सापकोटा हेलिकप्टरमा उक्त क्षेत्र जाँदै थिए।
'मौसम अनुकूल नहुँदा धुलिखेलको आकाशबाट फर्किनु पर्यो,' सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, 'अहिले हामी त्रिभुवन विमानस्थलमा छौं। मौसम खुल्नसाथ जान्छौं।'
बाढी र पहिरो गएको ठाउँ सभामुख सापकोटाको निर्वाचन क्षेत्रसमेत हो। उक्त क्षेत्रमा सडकबाट जान निकै समय लाग्ने बाह्रबिसे नगरपालिकाका कर्मचारी गणेशबहादुर मोक्तानले जानकारी दिए।
भोटेकोशी र खाल्डे खोलामा आएको बाढीले कैयान घर बगाएको अनुमान गरिएको छ भने मानवीय क्षतिको विवरण आइसकेको छैन। अहिले उक्त क्षेत्रमा दुई जनाको शव भेटिएको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिइन्।