PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

नेकपाभित्र घम्साघम्सी : ओली र प्रचण्डबीच कुराकानीकै छैन टुंगो



प्रकाश भण्डारी

नेकपाभित्र घम्साघम्सी : ओली र प्रचण्डबीच कुराकानीकै छैन टुंगो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी भित्रको विवाद झनै चुलिएको छ। बिवाद बढ्दै गएपछि लगतातार भेटवार्तामा रहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बिहीवार हुने भनिएको भेटको टुंगो समेत लाग्न सकेको छैन।

हालसम्म दुई अध्यक्षको भेटबारे टुंगो नलागेको प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। स्थायी कमिटी बैठकमा ओलीको राजीनामा मागेका प्रचण्डले पछिल्ला केही दिन यता ओलीसँगै वान अन वान वार्ता गर्दै आएका छन्। यसअघिका भेट सकारात्मक रहे पनि बैठक निष्कर्षबिहीन बन्दै गएका छन्।

असार १० मा स्थायी कमिटी बैठक सुरु भएयता मात्रै ओली प्रचण्डले ९ पटक भेटिसकेका छन्। दोस्रो तहको मध्यस्थतामा वार्तामा बस्न थालेको ओली प्रचण्ड केही दिन यता एक्लाएक्लै वार्तामा बस्न थालेपछि नेकपाको विवाद केही मत्थर भएको नेताहरुले बताउँदै आएका थिए। फेरि ओली प्रचण्डको भेट अनिश्चित भएसँगै नेकपा विवाद पुरानै अवस्थामा पुगेको छ।

बुधवार पनि ओली - प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो। 'हिजोको भेट अघि स्थायी कमिटी बैठक असार २६ गते सम्मका लागि सार्न ओली प्रचण्ड सहमत भएका थिए। हिजोको भेटमा आवश्यक परेमा भेट्ने भन्नेबारे सहमति भएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले बताए।

'अहिलेसम्म भेटबारे त टुंगो लागेको छैन। तर, हिजोको भेटमा आवश्यक परेमा भेट्ने भन्ने सहमति भएको थियो,' उनले भने। बुधवार भएको भेटमा प्रचण्डले ओलीलाई सडकमा भइरहेको प्रदर्शन रोक्न भनेका थिए। उनले बैठकको सुरुवातमै ओलीका पक्षमा भइरहेको प्रदर्शन रोकिएमात्रै अरु विषयमा कुराकानी गर्न सकिने बताएका थिए।

स्थायी कमिटी बैठकमा स्थायी कमिटी र सचिवालयका बहुमत सदस्यले ओलीको राजीनामा मागेपछि नेकपा भित्रको विवाद झनै चर्किएको हो। ओलीले पार्टी फुटाउन लागेको भन्दै प्रचण्ड-माधव नेपाल समूह सशंकित छ भने ओली समूह आफूलाई दुवै पदबाट जसरी पनि हटाउन लागेको भन्दै पद जोगाउने रणनीतिमा लागेका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell