- सविता पाण्डे -
अहिले हामी विषम परिस्थितिमा छौं। कोरोना भाइरसको महामारी नहुँदो हो त, विद्यार्थी भाइबहिनीहरु अहिले विद्यालय र क्याम्पसमा रमाइरहेका हुने थिए। तर, विश्वभर त्रास सृजना गरेको कोभिड १९ का कारण अधिकांश मानिस घरभित्र सीमित हुनुपरेको छ। भाइरसका बारेमा हरेक दिन आउने एकपछि अर्को नयाँ जानकारीले मानिसलाई सुरक्षा सावधानीमा समेत कठिनाई भइरहेको छ। हरेक दिन जटिल बन्दै गइरहेको यस्तो विषम परिस्थितिमा भर्चुअल (अभौतिक) कक्षा सञ्चालन भइरहेको छ। यो आफैमा सुखद् पक्ष हो।
मानिस परिस्थितिको दास हो। केही समय अघिसम्म अनलाइन क्लास सम्भव छैन भन्नेहरु धेरै थिए। तर, अहिले अधिकांश शहरी क्षेत्र र त्यस आसपासका विद्यालयले अनलाइन क्लास चलाइरहेका छन्। विकसित मुलुकमा निक्कै पहिलेदेखि अभ्यासमा आएको भए पनि हाम्रा लागि यो सर्वथा नयाँ विषय थियो। अहिले अधिकांश विद्यालयले अनलाइन मार्फत् विद्यार्थीहरुलाई पठन पाठन गरिरहेका छन्। अनलाइन क्लास पूर्ण व्यवस्थित नभए पनि पूर्ण अव्यवस्थित पनि छैन। मेरै अनुभवको कुरा गर्ने हो भने नियमित कक्षा कोठामा ४६ जना हुनेमा अनलाइनमा ४३–४४ जना हरेक दिन सहभागी हुने गरेका छन्। उनीहरुले नबुझेका कुरा मज्जाले सोध्छन् र उनीहरुलाई बुझाउने हरसम्भव प्रयास गर्छु। गृहकार्य पनि उनीहरुले हरेक दिन गर्ने गरेका छन्। तर, केही मानिसले अनलाइन क्लासलाई व्यङ्ग्य गर्दै उपहास गरेको देखिन्छ।
सामाजिक सञ्जालमा अनलाइन क्लासलाई उडाउँदै अनेकथरि लेख्ने र भन्ने गरेको पनि देखिन्छ। यो विषम परिस्थितिमा विद्यार्थीका महत्वपूर्ण समयलाई प्रविधिका माध्यमबाट सृजनशील बनाउन सञ्चालन गरिएको अनलाइन क्लासलाई ‘पैसा उठाउने मेलो’का रुपमा समेत चित्रण गरिरहेको देखिन्छ। जबकि केही निजी विद्यालयले वैशाखको पहिलो सातादेखि नै अनलाइन क्लास सुरु गरेका थिए र ती विद्यालयले असारको अन्तिम सातासम्म शुल्कका बारेमा अभिभावकलाई केही भनेका छैनन्। केही मानिसहरु टिकटकमा विभिन्न गीत बनाएर अनलाइन क्लासको उपहास गरिरहँदा यसको उपादेयतालाई पूरै नजरअन्दाज गरेको देखिन्छ। आफ्ना छोराछोरीले अनलाइन क्लासबाट के कति सिके, त्यतातिर ध्यान दिइएन। उल्टै, शिक्षक र विद्यालयलाई अनेक लान्छना लगाउन थालियो।
चैत ५ पछि हतारहतार विद्यालयहरु बन्द गरिए। कोभिड १९ का कारण परिस्थिति जटिल बन्दै गयो। विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण विद्यालय लामो समय सञ्चालन हुन सक्दैन भन्ने सबैले अनुभव गर्दै गए। त्यस्तो परिस्थितिमा केही जिम्मेवार निजी विद्यालयले भर्चुअल शिक्षाको तयारी गरे। सबै शिक्षकहरु प्रविधिमैत्री थिएनन्। सामाजिक सञ्जाल चलाउन जान्दैमा प्रविधि मैत्री हुन्छन् भन्न पनि सकिदैन। फेरि प्रविधिका ज्ञान भएका शिक्षक शिक्षिकाका लागि पनि प्रविधि अनुरुपका पाठ्य सामाग्री उपलब्ध थिएन। यस्तो अवस्थामा विद्यालयले आफ्ना शिक्षकलाई विभिन्न प्रयोगात्मक कक्षा मार्फत् समयमै पोख्त बनाएर अनलाइन क्लास सञ्चालन गरेका हुन्। वैशाखको पहिलो साताबाट मैले काम गर्ने विद्यालय लगायत केही निजी स्कुलले विद्यार्थीलाई अनलाइन मार्फत् पढाउन थालेको हो।
यसमा अभिभावकले गौरव गर्नु पर्ने र खुशी हुनु पर्ने हो। तर, उनीहरु त नानाथरि कुरा पो काट्न थाले। ‘के पढाएका छन् र?’ ‘अनलाइन क्लास सम्भव नै छैन।’ ‘यो सब पैसा उठाउने मेसो हो’ ‘के पढाएका छन् र पैसा दिने?’ हरे भगवान, विद्यालयले पैसा नमाग्दा नै उनीहरु तर्सन थाले।
यस्तो विषम परिस्थितिमा सधै घरभित्र मात्र थुनिनु पर्दा विद्यार्थी बालबालिका कति असहज अवस्थामा होलान्? अनलाइन क्लासले उनीहरुलाई आफ्नो कुराहरु शिक्षक शिक्षिकासँग राख्ने वातावरण बनेको छ। घरमा बस्दा वाक्क दिक्क भएका उनीहरु दिनको कम्तिमा पनि तीन घण्टा पढ्न पाएका छन्। नैराश्य भएर घरमा बसिरहेकाले आफ्ना साथीहरु र शिक्षक शिक्षिकासँग अनलाइन मार्फत् भेट्न पाएका छन्। यो निकै ठूलो कुरा हो। यसमा अभिभावकहरु खुशी हुनुपर्छ।
गुरु अर्थात् शिक्षक भनेको अन्धकारलाई हटाएर उज्यालो दिने व्यक्ति हुन्। त्यसकारण पनि अन्धकाररुपी यो महामारीमा पनि शिक्षक शिक्षिका आफ्ना प्यारा विद्यार्थीहरुलाई उज्यालो दिन प्रयासरत छन्। अनलाइन क्लासका लागि शिक्षक शिक्षिकाको मेहनत कम हुँदैन। उनीहरुले प्रशस्त गृहकार्य गर्नुपर्छ। आफ्नो घरपरिवारलाई दिनुपर्ने समय अनलाइन क्लासको तयारीका लागि खर्च गर्नुपरेको छ। मेरै कुरा गरौं, मेरी पाँच वर्षकी छोरी छिन्। म उनलाई एउटा कोठामा खेल्ने सामान दिएर ‘हल्ला नगर है’ भन्दै आफ्ना विद्यार्थीलाई पढाउने गरेकी छु। यसका लागि अधिकांश साँझ भोलि पढाउने पाठको सन्दर्भ सामाग्री र त्यसलाई प्रविधि अनुकुल बनाउँदैमा बित्छ। मेरी छोरीसँग खेल्ने समय तपाईँका छोराछोरीलाई पढाउने सामग्रीको तयारीमा बितिरहेको छ। मजस्ता धेरै शिक्षक शिक्षिकाको अवस्था यस्तै हो। तर, तपाईँले अझै पनि अनलाइन क्लासलाई उपहास गर्न छाड्नु भएको छैन।
अहिले सञ्चालन भइरहेका अनलाइन पूर्ण व्यवस्थित छैनन्। पक्का हो। तर, तपाईँहरुले भने झै उपलब्धिहीन पनि छैन। यसले सिक्न चाहने विद्यार्थी र आफ्ना बाबुनानीका समय सृजनशील बनाउन चाहने अभिभावकका सपनालाई सम्मान गरेको छ। हो, सबै विद्यार्थीले अनलाइन मार्फत् राम्रोसँग सिक्न सकेका छैनन् होला। तर, हाम्रो प्रयास उनीहरुलाई सिकाउन मै केन्द्रित छ। शिक्षण पेशासँगको लामो अनुभवले के भन्छ भने, केही त यस्ता विद्यार्थी पनि हुन्छन् जसलाई विद्यालयकै कक्षा कोठामा पनि बुझाउन सकिदैन। अनेक प्रयत्नका बाबजुद पनि कति विद्यार्थीलाई सबै कुरा बुझाउन सकिदैन। घोटेर पिलाउने कुरा त होइन नि शिक्षा। तर, केही नजान्ने भन्दा केही न केही जान्ने त हामीले हरेक विद्यार्थीलाई बनाउने गरेकै छौं।
कतिपय अभिभावक अफिसमा कामै नगरी तलब हरेक महिना आउँछ भनेर गम्किएका छन्। यो राम्रो कुरा हो कि उहाँहरुका अफिसले आफ्ना कर्मचारी प्रतिको दायित्वलाई पूरा गरिरहेको छ। तर, यो विषम परिस्थितिमा कति त्यस्ता निजी प्रतिष्ठान, व्यवसाय र कम्पनीहरु छन् जसले आफ्ना कर्मचारी प्रतिको दायित्व पूरा गरेका छन्? अनलाइन पढाउन व्यस्त शिक्षक शिक्षिकाको दैनिकी सञ्चालनमा र उनीहरु प्रतिको दायित्वमा केही निजी विद्यालय जिम्मेवार देखिए पनि धेरै विद्यालयले अहिले शिक्षक शिक्षिकालाई तलब दिइरहेका छैनन्। चितवनमा त निजी विद्यालयका शिक्षकहरु सडक आन्दोलनमै उत्रिसकेका छन्। विद्यालयलाई सरकारले शुल्क नउठाउन निर्देशन दिएको छ। तर, अनलाइन क्लास चाहिँ निजी स्कुलको अनुशरण गर्दै सबै विद्यालयका लागि सरकारले अनिवार्य गरेको छ। त्यसो त हालै सरकार र निजी विद्यालयबीच केही समझदारी भएको अनौपचारिक जानकारी प्राप्त भएको छ। यसले पनि शुल्कका विषयमा केही सम्वोधन हुने निश्चित छ। तर, वैशाखदेखि शिक्षणमा सक्रिय शिक्षक शिक्षिकाको दैनिकीका बारेमा विद्यालय र अभिभावक बेखबर बन्न मिल्छ? चैतदेखि शुल्क नलिएको विद्यालयले तलब नखुवाउन गतिलो कारण भेट्टाएको छ। तर, यसरी हुँदैन। तत्काल सरकारले विद्यालय सञ्चालनका लागि सहज समाधान खोज्न जरुरी छ। अनलाइन क्लास सञ्चालन, पढाई शुल्क निर्धारण र शिक्षक शिक्षिका कर्मचारीको तलबका लागि विशेष सरकारी प्याकेजको व्यवस्था गरेर तत्काल शिक्षा क्षेत्रमा देखिएको कालो बादललाई हटाउन आवश्यक छ। त्यसका लागि निजी विद्यालय सञ्चालकले पनि सरकारसँग स्वभाविक पहल गर्नुपर्छ।
(लेखक पाण्डे अपी स्कुल धापासी काठमाडौंमा अध्यापन गर्नुहुन्छ।)
