PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कोभिड - १९ को उपचारमा संलग्न अस्पताललाई अनुदान दिने आदेश संशोधन, आइसोलेसन सम्बन्धी मापदण्ड - ५० संक्रमितलाई १ डाक्टर २ प्रहरी



विधुर ढकाल

कोभिड - १९ को उपचारमा संलग्न अस्पताललाई अनुदान दिने आदेश संशोधन, आइसोलेसन सम्बन्धी मापदण्ड - ५० संक्रमितलाई १ डाक्टर २ प्रहरी

काठमाडौं : सरकारले कोभिड-१९ को संक्रमणको उपचार वापत अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेशलाई संशोधन गरेको छ।

आदेशको दफा ३, ४ र ५ सहित अनुसूची १ लाई समेत संशोधन गरेको छ। मुल आदेशको दफा ३ को उपचार सम्बन्धी व्यवस्थालाई परिमार्जन गर्दै कोभिड-१९ को शंकास्पद तथा संक्रमितको उपचार विरामीको अवस्था अनुसार होम आइसोलेसन वा सामुदायिक आइसोलेसन केन्द्र वा सरकारी अस्तालमा राखेर उपचार गरिने व्यवस्था संशोधनमा उल्लेख छ।

यसअघि दफा ३ को उपदफा १ मा कोभिड-१९ को शंकास्पद बिरामीको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार सम्भव भएसम्म सरकारी अस्पतालबाटै गरिने उल्लेख थियो। त्यस्तै, उपदफा १ मै सरकारी अस्पतालबाट मात्र सेवा उपलब्ध गराउन नसकिने अवस्थामा सरकारी अस्पताल बाहेकका निजी, गैर सरकारी, सहकारी तथा सामुदायिक लगायतका अस्पतालबाट उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाउन सकिने उल्लेख थियो।

त्यस्तै, उपदफा २ लाई संशोधन गर्दै संक्रमितलाई अस्पतालमा भर्ना गरी उपचार गर्नुपरेको अवस्थामा सरकारी अस्पतालबाट मात्र सेवा उपलब्ध गराउन नसकिने भएमा सरकारी अस्पतालबाहेकका निजी, गैर सरकारी, सहकारी तथा सामुदायिक लगायतका अस्पतालमा समेत उपचार गर्ने व्यवस्था मिलाउन सकिने व्यवस्था गरिएको छ। त्यस्तै, उपदफा ३ मा शंकास्पद तथा संक्रमितको उपचार नि:शुल्क हुने व्यवस्था गरिएको छ।

त्यस्तै, मुल आदेशको दफा ४ मा संशोधन गर्दै कोभिड १९ शंकास्पद तथा संक्रमित व्यक्तिलाई उपचार गरेवापतको लागत रकम अस्पताल, आइसोलेसन सेन्टरलाई उपलब्ध गराइने व्यवस्था गरिएको छ। होम आइसोलेसनमा बस्ने बिरामीहरूको क्लिनिकल निगरानी गर्दा लाग्ने रकम सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराइनेछ।

मुल आदेशको दफा ५ मा संशोधन गर्दै कोभिड १९ का शंकास्पद तथा संक्रमित व्यक्तिको उपचार वापत होम आइसोलेससन, आइसोलेसन सेन्टर तथा अस्पतालहरूलाई उपलब्ध गराउने अनुदान रकम आदेशमा व्यवस्था भएबमोजिम हुने उल्लेख छ।

आइसोलेसन सम्बन्धि नयाँ व्यवस्था

सरकारले लक्षण नभएका वा सामान्य लक्षण भएका संक्रमितहरुलाई आइसोलेसन केन्द्रमा राख्ने गरी नयाँ मापदण्ड तयार गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नयाँ मापदण्डमा ६० वर्ष भन्दा माथिका र अन्य दीर्घ रोगीहरु (मुटु रोग, उच्च रक्तचाप, क्यान्सर, मधुमेह, श्वासप्रश्वास सम्बन्धी रोग भएका)हरुलाई छुट्टै राखी विशेष क्लिनिकल निगरानी गर्नुपर्ने मापदण्डमा उल्लेख छ।

आइसोलेसन केन्द्रमा रहेका संक्रमितहरुलाई कम्तिमा दिनको ३ पटकसम्म स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्ने नयाँ मापदण्डमा उल्लेख छ। स्वास्थ्यमा मध्यम वा कडा जटिलता देखिए तत्काल कोभिड अस्पतालमा रिफर गर्नुपर्ने उल्लेख छ।

कस्तो हुनुपर्छ आइसोलेसन केन्द्र? झ्यालमा फलामे ग्रिल अनिवार्य

नयाँ मापदण्ड अनुसार आइसोलेसन केन्द्रको संरचनामा हुनुपर्ने मापदण्ड यस्तो छ -

१. आइसोलेसन केन्द्रको व्यवस्थापन गर्दा आइसोलेसनमा बस्ने संक्रमितहरु बीचमा कम्तिमा २ मिटरको भौतिक दुरी अनिवार्य रुपमा कायम हुनेगरी व्यवस्थापन गर्नुपर्नेछ।

२. आइसोलेसनमा बस्ने हरेक संक्रमितले प्रयोग गर्ने बेड तथा कुर्सीलाइ कम्तिमा २ मिटरको दुरीमा राख्नु पर्नेछ।

३. संक्रमितहरूलाई सकेसम्म सिंगल क्याबिनको व्यवस्था मिलाउनु पर्नेछ र यसका लागि काठ, प्लाइ वा प्लाष्टिकका सीटहरूको प्रयोग गर्न सकिनेछ।

४. आइसोलेसनका कोठाहरूमा प्राकृतिक रूपमा हावा प्रवेश गर्ने पर्याप्त झ्याल वा ढोका तथा उपयुक्त भेन्टिलेसनको व्यवस्था हुनुपर्नेछ। यसका अतिरिक्त आवश्यकता अनुसार पंखाको व्यवस्था गर्न सकिनेछ।

५. आइसोलेसनमा बस्ने संक्रमितको सुरक्षाको सुनिश्चितताका लागि हरेक झ्याल, ढोका तथा भेन्टिलेसनमा चुकुल र झ्यालमा फलामको ग्रिल हुनुपर्दछ।

६. महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठा, शौचालय, स्नानघर र साबुन पानीको व्यवस्था भएको हुनु पर्नेछ। साथै महिला शौचालयमा स्यानिटेरी प्याड व्यवस्थापनका लागि लागि बिर्को सहितको डस्बिन व्यवस्थापन गर्नुपर्नेछ।

७. संक्रमण फैलन नदिने उपायहरु बाहेक हात धुने थप स्टेसनहरू र संक्रमितहरूका लुगा धुनका लागि छुट्टै स्थानको स्थापना तथा गुणस्तरीय खानेपानीको व्यवस्था गर्नुपर्नेछ।

८. आइसोलेसन केन्द्रमा प्रयोग हुने पानीको अविच्छिन्न उपलब्धता सुनिश्चित गर्नुपर्नेछ।

९. संक्रमितहरूको हेरचाह तथा सुरक्षामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अन्य कर्मचारीहरू तथा आगन्तुकहरूका लागि छुट्टै प्रवेशद्वार, शौचालय, स्नानघर र हातधुने स्टेसनहरूको व्यवस्था गर्नुपर्नेछ।

१०. संक्रमितहरूको लागि आवश्यक पर्ने औषधी, उपकरण, अन्य स्वास्थ्य सामग्री तथा अभिलेख सम्बन्धि कागजातहरू सुरक्षित साथ राख्ने प्रयोजनका लागि छुट्टै मेडिकल र नर्सिङ स्टेसनहरूको व्यवस्था भएको हुनुपर्नेछ।

स्वास्थ्यकर्मीको व्यवस्थापन

नयाँ मापदण्ड अनुसार ५० जना संक्रमितका लागि १ जना मेडिकल अफिसर र २ जना सुरक्षाकर्मीको व्यवस्था गरिने उल्लेख छ।

त्यस्तै, २५ जना संक्रमितका लागि २ जना नर्स वा प्यारामेडिक्स र २ जना सरटसफाइ कर्मचारीको व्यवस्था गर्नुपर्ने उल्लेख छ। कर्मचारीको ड्युटी रोष्टर १२-१२ घण्टाको हुनेछ।

महिला संक्रमितहरु रहेको आइसोलेसन सेन्टरमा सम्भव भएसम्म महिला सुरक्षाकर्मीको व्यवस्था गर्ने उल्लेख छ। पर्याप्त सुरक्षाकर्मीको व्यवस्था हुनुपर्ने उल्लेख छ।

तीन पटक पोषिलो खाना

आइसोलेसन सम्बन्धी नयाँ मापदण्ड अनुसार संक्रमितलाई ३ पटक स्वस्थ तथा पोषिलो खाना खुवाउनुपर्ने छ। संक्रमितबाहेक आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य कर्मचारीहरुलाई पनि दिनमा तीन पटक स्वस्थ र पोषिलो खाना खुवाउनुपर्ने उल्लेख छ।

आइसोलेसनमा २४ सै घण्टा स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने छ।

होम आइसोलेसन सम्बन्धी नयाँ व्यवस्था

संक्रमितहरुको संख्या बढ्दै गएपछि मन्त्रालयले लक्षण नभएका र सामान्य लक्षण तथा चिन्ह भएका संक्रमितलाई घरमा नै आइसोलेसनमा बस्न सक्ने व्यवस्था गरेको छ।

होम आइसोलेसनमा बस्ने भए आइसोलेसन सम्बन्धी मापदण्डमा उल्लेख भएका सर्तहरु पालना गर्ने मन्जुरिनामा गर्नुपर्ने छ।

घरमा नै आइसोलेसनमा बस्ने संक्रमित तथा निजका परिवारका सदस्यहरुले पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड

१. पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नु पर्नेछ,

२. उपचार अवधिभरि बाहिर ननिस्कने र आवश्यक पर्ने सामग्रीहरू परिवारका सदस्यहरू मार्फत मगाउने,

३. खानपानमा विशेष सावधानी अपनाइ पर्याप्त मात्रामा पानी, झोलिलो र पोषिलो खानेकुराहरू खाने,

४. आफुले प्रयोग गरेका भाडाहरू सुरक्षित रूपले सफा गर्ने र राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयोग गर्ने,

५. स्नानघर/शौचालयको छुट्टै व्यवस्था मिलाउने र सामुहिक रूपमा प्रयोग गर्नुपर्ने अवस्था भएमा संक्रमितले प्रयोग गरेपछि सरसफाइमा प्रयोग हुने डिसइन्फेक्टान्टले राम्रो सँग सफा गरे पश्चात् मात्रै अन्य सदस्यले प्रयोग गर्ने,

६. हातधुने बेसिनहरु संक्रमणको श्रोत हुनसक्ने भएकोले दाँत माझ्ने ब्रस लगायतका समानहरू बेसिन बाहेक छुट्टै स्थानमा राखेर प्रयोग गर्ने,

७. ढोका, ढोकाका ह्यान्डल, टेबल तथा अन्य सामग्रीहरू जुन धेरै व्यक्तिहरूले चलाउने वा छुने सम्भावना रहन्छ ती सामानहरूको डिसइन्फेक्टेन्ट प्रयोग गरी नियमित सफा गर्ने,

८. घरमा हातधुने साबुन र पानीको पर्याप्त व्यवस्था गरी सबै सदस्यहरूले समय समयमा हात सफा गर्ने,

९. भाँडाकुँडा र कपडा धुदा सकेसम्म पञ्जा लगाएर धुने वा मेसिनमा छुट्टै धुने र राम्रो सँग घाममा सुकाएर मात्र पुनःप्रयोग गर्ने,

१०. संक्रमितको हेरचाहको लागि प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति र संक्रमितले अनिवार्य रूपमा मेडिकल मास्क प्रयोग गर्ने,

११. घरमा बढी जोखिममा रहने समूहहरू (जस्तैः दीर्घरोगीहरू, ६० वर्ष माथिका जेष्ठ नागरिकहरू, गर्भवती तथा सुत्केरी महिलाहरू) लाई संक्रमितको सम्पर्कबाट टाढा राख्नुपर्नेछ,

१२. संक्रमितको दिनमा कम्तीमा ३ पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने,

१३. संक्रमित स्वयमले वा निजको हेरचाहमा संलग्न परिवारको सदस्यले दिनमा कम्तीमा २ पटक संक्रमितको स्वास्थ्य अवस्थाको बारेमा सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन वा एसएमएस वा अन्य भर्चुअल विधि तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकास गरेको मोबाइल एप्लिकेशन मार्फत् जानकारी गराउने,

१४ संक्रमितलाई श्वासप्रश्वासमा कठिनाइ, छाती दुखे वा भारी महसुस भएमा, ओठ तथा अनुहार नीलो देखिएमा, होस हराएमा, वाअन्य कुनै जटिल अवस्था देखिएमा निम्न अवस्थाहरू देखिएमा निज वा निजको हेरचाहमा संलग्न व्यक्तिले तुरुन्तै सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी दिनुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell