PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बाढीमा ज्यान गुमाएका निकेशको आजै थियो जन्मदिन : अस्पतालको शय्याबाट सविना सोध्छिन्, 'मेरो श्रीमान र बच्चा खै?'



मुकुन्द घिमिरे

बाढीमा ज्यान गुमाएका निकेशको आजै थियो जन्मदिन : अस्पतालको शय्याबाट सविना सोध्छिन्, 'मेरो श्रीमान र बच्चा खै?'
बाढीमा परी घाइते भएको सविनाकी फूपुसहित आफन्त ह्याम्स अस्पताल परिसरमा।

काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पताल अगाडि एक महिला यताउता गरिरहेकी थिइन्। अस्पतालमाथि हेलिप्याडमा हेलिकोप्टर पालैपालो आउँदै जाँदै थियो।

झरझर पानी पनि परिरहेकै थियो। 'यस्तै पानीले त हो, राति सिन्धुपाल्चोकमा बाढीपहिरो गएको,' ती महिला भन्दै थिइन्।

उनी रहेछन् त्यही प्रकोपमा परेर घाइते भएकी सुनिता बस्नेतकी फुपु सासु देवकी कार्की।

बुधवार रातिको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकास्थित वडा ५ मा रहेको जम्बुमा परी घाइते भएकी २० वर्षे सबिना। माइती चितवन।

'मैले हेर्न पाएको छैन। छोरीहरु भित्र गएका छन्,' मास्कमाथि आँशु खस्न थाल्यो, 'कुखुराहरु पालेका थिए। ससुरा देवर ढलान गरेको घरमा बस्थे। उनीहरु चाहीँ कुखुरा पालेकाले अर्कोपट्टी बस्थे। खै के भयो भयो अहिले यस्तो भयो।'

सबिनाका श्रीमान निकेश र बच्चाले यही बाढीमा ज्यान गुमाए। उनको अवस्था पनि गम्भीर छ।

'निकेश आजै २० पुगेर २१ वर्ष लागेको थियो,' देवकीको आवाज दब्यो। अनि उनी बोल्न सकिनन्।

उनले मोबाइल निकालेर एउटा सानो बच्चाको फोटो देखाइन्, 'यो चाहीँ सानी नानी।'   

'उ चाहीँ के गरी बाँच्यो। श्रीमान र बच्चाचाहीँ भेटिए रे। जलाउँदै छन् रे,' आँशु पुछ्दै उनले भनिन्।

निकेशले जन्मदिन उनले मनाउन पाएनन्। छोरी असोजबाट २ पुगेर ३ वर्ष लाग्ने थिइन्।

'अब उनीहरुको घरसर केही छैन। घरबार पनि छैन,' गम्भीर बन्दाबन्दै उनको आवाज फेरि अड्कियो। कुरा गर्दागर्दै सविनाका फुपाजु अस्पतालभित्रबाट निस्किए। उनी रहेछन् नारायण न्यौपाने। सविनालाई हेर्न त्यतिबेला भित्र छिरेका रहेछन् उनी।

एकछिन फोनमै व्यस्त रहे। कसैलाई बस्नेतको अवस्था सुनाउँदै थिए।

'होसमा त उ उतै हूँदा पनि थिइन्। अहिले पनि होसमै छिन्। टाउकोमा चोट लागेको रहेछ,' नारायण भन्दै थिए, 'मेरो श्रीमान र बच्चा खै भनेर सोधेको थियो मलाई।'

+++

त्यहीँ पर एकजना महिला बसिरहेकी थिइन्। खाली खुट्टा। फुटबल खेलाडीको जस्तो जर्सी र मलिन अनुहार। उनी दिउँसो २ बजेतिर हेलिकोप्टरबाट त्यहाँ आइपुगेकी थिइन्। र, घाइते श्रीमान अस्पतालभित्र थिइन् उनी बाहिर। उनी हुन् भावना तामाङ।

'खाना खाएर सुतिसकेको थियौं। एकैछिन निदाएका पनि थियौं होला। अनि एउटा भाइ बोलाउन आयो। भोटेकोशी करायो भनेर।' उनले त्यो रातलाई सम्झिन्, 'मेरो श्रीमानले अलि पानी पर्दैछ तेइ भएर भोटेकोशी करायो होला भन्नु भयो।'

एकैछिनमा कुरो बुझ्दाबुझ्दै बाढीपहिरो र सबैथोक हुन भ्यायो। उनी त निस्किइन कसोकसो। तर उनका श्रीमानले भने धेरै संघर्ष गर्नुपरो त्यहाँबाट निस्कन्। निस्कने क्रममा उनको श्रीमानलाई धेरै चोटपटक लाग्यो।  

+++

अस्पताल परिसरमै पीडामा रहेका आफन्तहरुलाई सम्झाउँदै थिए भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल। 

'हाम्रो ठाउँमा मध्यराति १ देखि २ बजेको बीचमा खहरे खोलामा बाढी आयो। त्यहाँ एउटा पुल थियो। पुलसम्मै चाहीँ बाढीसँगै ढुंगा र माटोले भरेपछि बस्ती तिर पानी छिर्‍यो,' प्रकोपबारे उनले भने, 'त्यहाँ तीन घर थियो। त्यसमा सबै घर बगायो। एउटा घरको चाहीँ चारजना बेपत्ता छ। एकजना सुत्केरी महिला उनको बच्चा र एकजना भाइचाहीँ भाग्न सफल भयो।'

भागेर बच्नेहरुको पनि अवस्था नाजुक भएको उनले जानकारी दिए। राति नै जानकारी भए पनि भीषण पानी र पहिरोका बीच उद्धार गर्न कठिन भएको पौडेलले बताए।

'भागेर बच्नेको पनि अवस्था चाहीँ नाजुक छ। कसैको ढाड भाँचिएको छ। कसैको खुट्टा भाँचिएको छ,' उनले भने, 'त्यहाँबाट हेलिकोप्टरमार्फत उहाँहरुलाई यहाँ ल्याइएको छ।'

अध्यक्ष थापाले रातिनै प्रकोपबारे थाहा पाएर संबन्धित ठाउँमा रहेकाहरु लाई उद्दारका लागि सहयोग गर्न आग्रह गरेका थिए।

'मैले चाहीँ राति २ बजे थाहा पा'को। साथीहरुले फोन गरेका थिए। राति त्यहीँ गाउँको भाइहरुले फोन गरेको थियो। यसरी बाढी आयो भनेर। त्यतिबेला निस्कन सक्ने अवस्थै थिएन,' उनी सम्झन्छन्, 'साथीहरुलाई फोन गरेर जान सक्नुहुन्छ भने जानुहोस भने। मेरै ठाउँमा चाहीँ त्यतिबेला बाटो ब्लक थियो र ठूलो पानी परिरहेको थियो।'

यद्यपि बिहान सबेरैबाट उद्धारमा खटिएको र घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell