PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

३० जिल्लामा १०८ संक्रमित थप : कुन जिल्लामा कति थपिए? कस्तो छ प्रदेशको अवस्था?



विधुर ढकाल

३० जिल्लामा १०८ संक्रमित थप : कुन जिल्लामा कति थपिए? कस्तो छ प्रदेशको अवस्था?

काठमाडौं : पछिल्लो २४ घण्टामा ३० जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका २५ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३० जिल्लाका १०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

योसँगै संक्रमितहरुको संख्या १६ हजार ५३१ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ५८८ जनाको नमुना परीक्षण गरिएको छ।

हालसम्म संक्रमितमध्ये ७ हजार ८९१ जना उपचारपछि डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा मात्र १३९ जना डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा प्रादेशिक स्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा झापा र सुनसरीका १/१ जनामा संक्रमण पुष्टि भएको छ। गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको परीक्षणमा सप्तरीका २ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेशिक प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा धनुषाका २ र सिरहाका ४ जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा दार्चुला, काठमाडौं, सर्लाही र नुवाकोटका १/१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, टेकुमै भएको परीक्षणमा डोटीका २ जनामा पनि संक्रमण पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशाला टेकुमा भएको परीक्षणमा  पनि काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा चितवनका ४ र नवलपरासी पूर्वका १ जनामा संक्रमण पुष्टि भएको छ। किटजन्य रोग अन्वेषण प्रयोगशाला हेटौंडामा भएको परीक्षणमा मकवानपुरका १ जना तथा वीर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा भएको परीक्षणमा बाग्लुङ र सिन्धुपाल्चोकका १/१ जना र काठमाडौंका २ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक प्रयोगशाला पोखरामा भएको परीक्षणमा बाग्लुङका २ र तनहुँका २ जनामा संक्रमण पुष्टि हुँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा म्याग्दी र गोरखाका २/२ तथा कास्कीका ४ र लमजुङका ५ जनामा संक्रमण पुष्टि भएको छ।

भेरी अस्पताल प्रयोगशालामा बाँके र दाङका २/२ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, राप्ती स्वास्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा दाङका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सुर्खेत अस्पताल प्रयोगशालामा सुर्खेतका १८ जनामा संक्रमण पुष्टि भएको छ। सुर्खेतमै भएको परीक्षणमा दैलेखका ३ र मुगुका २ जनामा पनि संक्रमण पुष्टि भएको छ।

डडेलधुरा अस्पताल प्रयोगशालामा भएको परीक्षणमा बझाङका १६ जनामा संक्रमण पुष्टि भएको छ।

सेती अस्पताल प्रयोगशालामा भएको परीक्षणमा बाजुरा र कञ्चनपुरका २/२ तथा कैलालीका ८ र अछामका ४ जनामा पनि संक्रमण पुष्टि भएको छ।

२४ हजार क्वारेन्टाइनमा 

संक्रमणको दर बढ्दै जाँदा झण्डै तीन लाख पुगेको क्वारेन्टाइनमा रहनेको संख्या पछिल्लो महिना घटेर २४ हजार पुगेको छ। हाल देशभर २४ हजार ४२५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

प्रदेशगत रुपमा प्रदेश १ मा २ हजार ८५०, प्रदेश २ मा २ हजार ९९०, वाग्मतीमा १ हजार ९०७, गण्डकीमा ४ हजार २५० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिए।

त्यस्तै प्रदेश ५ मा ५ हजार २४० कर्णाली प्रदेशमा १ हजार ८९९ र सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५ हजार २८९ जना क्वारेन्टाइनमा रहेका छन्।

कस्तो छ प्रदेशगत अवस्था 

 

पछिल्ला दिनमा संक्रमितहरुको संख्यामा कमि हुँदै जाँदा डिस्चार्ज हुनेको संख्या भने बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा १०८ संक्रमित हुँदा १३९ जना डिस्चार्ज भएका छन्। 
हाल प्रदेश १ मा १९६ आइसोलेसनमा रहेका छन्। संक्रमितमध्ये यहाँ ५४३ जना डिस्चार्ज भइसकेका छन्। त्यस्तै, प्रदेश २ मा २ हजार ४६ एक्टिभ केस छन् भने डिस्चार्ज हुनेको संख्या दुई हजार २३४ रहेको छ।

त्यस्तै, वाग्मती प्रदेशमा हाल ४२९ जना संक्रमित उपचारका क्रममा आइसोलेसनमा रहेका छन्। यहाँका संक्रमितमध्ये २८७ जना डिस्चार्ज भइसकेका छन्।

गण्डकी प्रदेशमा संक्रमितमध्ये ८६२ जना आइसोलेसनमा छन्। त्यहाँका ३५५ जना डिस्चार्ज भइसकेका छन्। प्रदेश ५ मा डिस्चार्ज हुनेको संख्या सबै भन्दा बढी छ। यहाँ २ हजार २९६ जना संक्रमित डिस्चार्ज भइसकेका छन्। यहाँ संक्रमितमध्ये अझै १ हजार ७२७ जना आइसोलेसनमा रहेका छन्। कर्णालीमा एक्टिभ केस ४०५ र डिस्चार्ज हुनेको संख्या एक हजार २३८ रहेको छ।

सुदूरपश्चिम प्रदेशमा २ हजार ९६२ संक्रमित आइसोलेसनमा रहेका छन्। संक्रमितमध्ये ९३८ जना डिस्चार्ज भइसकेका छन्।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २, प्रदेश २ मा ९ र बागमती प्रदेशमा १२ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै गण्डकीमा १८, प्रदेश ५ मा ९, कर्णालीमा २३ र सुदूरपश्चिममा ३५ जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म ७७ वटै जिल्लामा संक्रमण पुष्टि भएकोमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लाका संक्रमित डिस्चार्ज भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell