PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

हिजो समातिएका ग्याङस्टार विकास दुवेको इन्काउन्टर!



पहिलोपोस्ट

हिजो समातिएका ग्याङस्टार विकास दुवेको इन्काउन्टर!

लखनउ : उत्तर प्रदेशका चर्चित ग्याङस्टार विकास दुवे प्रहरीको नियन्त्रणमै मारिएका छन्। एक साता अघि ८ जना प्रहरीको हत्या गरेर फरार रहेका दुवेलाई प्रहरीले मध्य प्रदेशको उज्वेनमा पक्राउ गरेको थियो। उनलाई भारतीय प्रहरीको स्पेसल टास्क फोर्स (एसटीएफ)ले नियन्त्रणमा लिएर कानुपुर ल्याइँदै थियो।

विकास दुवेले प्रहरी नियन्त्रणबाटै उम्किन खोजेपछि उनलाई गोली हानिएको हो। साथै उनलाई ल्याउँदै गरेको प्रहरीको एउटा गाडी पनि दुर्घटनामा परेको छ। गाडी दुर्घटनामा परेलगत्तै दुवेले त्यहाँबाट भाग्न खोजेका थिए। वर्षाका कारण गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी केही प्रहरी घाइते भएका छन्।

दुवे उज्वेनको मन्दिरबाहिर हिजोमात्रै पक्राउ परेका थिए।

टाइम्स अफ इन्डियाका अनुसार दुवे ८ प्रहरीको हत्यापछि प्रहरीबाट बच्न लगातार भागिरहेका थिए। यसबीचमा उनी भारतका ५ राज्यमा पुगेको र १५ सय किलोमिटर दुरी तय गरेको समाचारमा उल्लेख छ। उनी फरार भएलगत्तै केही भारतीय मिडियाले नेपाल प्रवेश गरेको समाचार सार्वजनिक गरेका थिए। यद्यपि, १५ सय किलोमिटर दुरी तय गरेका उनी भारतभित्रै समातिएका थिए।

उज्वेन मन्दिरमा पूजासामा बेच्ने व्यक्तिले पहिचान गरेपछि उनले प्रहरीलाई खबर गरेका थिए। फरार रहेका दुवेको शिरको मूल्य समेत तोकिएको थियो। मोस्ट वान्टेड रहेका उनीमाथि ५ लाख रुपैयाँ पुरस्कार राखिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell