PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सार्वजनिक बस चलाउन ट्राफिकको यस्तो छ तयारी, टेम्पो चलाउनेबारे भने अन्योल नै



पहिलोपोस्ट

सार्वजनिक बस चलाउन ट्राफिकको यस्तो छ तयारी, टेम्पो चलाउनेबारे भने अन्योल नै

काठमाडौँ : लकडाउनका कारण ग्यारेजमा नै थन्किएर बसेका सार्वजनिक सवारी साधनले १ सय ८ दिनपछि सडकमा गुड्ने अनुमति पाए। बिहीवार मन्त्रिपरिषद् बैठकले उपत्यकासहित अन्य जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दियो।

चालक सहित सिट क्षमताको ५० प्रतिशत यात्रु मात्रै चढ्न पाउने व्यवस्था सहित सार्वजनिक यातायात खुलाउने रणनीति सरकारले लियो। तर, यसरी संचानल भएका सवारी साधनलाई कसरी व्यवस्थापन गर्ने त? सडकमा खटिएका सुरक्षाकर्मीले सवारीको अनुगमन र नियम विपरीत गए कुन प्रावधानबाट कारबाही गर्ने? सडकमा खटिने ट्राफिक प्रहरी आफै अलमलमा छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रवार सरकारले गरेको निर्णय कार्यान्वयनमा समस्या नहोस् भनेर सम्पूर्ण ट्राफिक प्रहरीलाई बोलाएर सवारी सञ्चालनको मापदण्डबारे जानकारी दियो। यसरी तोकिएको मापदण्ड पूरा नगरे त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिन निर्देशन समेत दिइयो।

'प्रहरीमा समस्या नहोस् भनेर मापदण्ड बताएका छौँ। कसैले नियम विपरीत गएर सञ्चालन गरे सवारी साधन समातिन्छ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी वामदेव गौतमले भने।

के छ नयाँ मापदण्ड?

सार्वजनिक सवारी साधनले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु बोक्न पाउने छन्। ट्याक्सीले चालक बाहेक दुई जनामात्र यात्रु बोक्न पाउने छन्। यसरी दुई जनाभन्दा बढी यात्रु बोकेको पाइएमा प्रहरीले कारबाही गर्नेछ। एउटै परिवारका सदस्य भएको खण्डमा बच्चालाई भने सिट सङ्ख्या निर्धारण गरिएको छैन।

ट्याक्सी चालकले अनिवार्य रुपमा मास्क, पन्जा, फेस भाइजर लगाउनु पर्नेहुन्छ। त्यस्तै यात्रुले पनि अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने छ।

'यसरी सञ्चालन भएको ट्याक्सीलाई प्रत्येक दिन डिसइन्फेक्ट् समेत गर्नुपर्छ,' एसपी गौतमले भने। त्यस्तै, ट्याक्सीमा स्यानिटाइजरसमेत राख्नुपर्ने भनिएको छ।

माइक्रोबस र बसको हकमा ढोकामा नै स्यानिटाइजरको व्यवस्था गरिएको हुनुपर्ने व्यवस्था गरिएको छ। यसमा पनि सिट क्षमताको आधारमा ५० प्रतिशत मात्र यात्रु चढाउन पाइने छ। गाडीको सिटको एउटा रोमा एक जनामात्र राख्न पाउने छन्। यसरी यात्रु राख्दा एउटा सिटको एउटा कुनातिर र अर्को सिटको अर्को कुनातिर अर्थात् क्रस गरेर राख्नुपर्ने एसपी गौतमले बताए।

गाडी चालक र सहचालकले अनिवार्य रुपमा पन्जा, मास्क र फेस भाइजर लगाउनु पर्ने छ।

माइक्रो बस, बस र ट्याक्सीमा सामाजिक दुरी कायम गर्ने केही सजिलो देखिन्छ। तर रत्नपार्कबाट नारायणटार, कलङ्की लगायत स्थानमा चल्ने निलो माइक्रो र ट्याम्पोको हकमा नयाँ नियम कठिन देखिएको छ। यस्ता साधनमा सामाजिक दुरी कायम गर्दा कम यात्रु मात्र बोक्न मिल्छ। साथै सामाजिक दुरी कायम गराउन पनि कठिन देखिन्छ। यस्ता सवारी सञ्चालनमा ल्याउँदा आर्थिक रूपमा समेत समस्या पर्ने देखिएको छ। त्यसैले अहिले ट्राफिक प्रहरीले यस्ता सवारी साधनलाई सञ्चालन नगर्न निर्देशन दिएको छ।

'यस्ता साधनमा समस्या देखियो। त्यसैले हामीले यो जानकारी माथिल्लो निकायमा पठाएका छौँ। गृह तथा स्थानीय प्रशासनबाट कुनै निर्णय नभएसम्म सञ्चालन नगर्न भनेका हौँ,' एसपी गौतमले भने।

ट्याक्सी बाहेक अन्य सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई ५० प्रतिशत थप भाडा लिन पाउने व्यवस्था सरकारले गरेको छ। साउन ६ गते रातिसम्म यो नियम लागू हुने छ। सरकारले लामो दुरीका सवारी साधनलाई भने संचालनमा फुकुवा गरेको छैन। सार्वजनिक सवारी साधनले एक जिल्लाबाट अर्को जिल्ला जान भने पाउने छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell