PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेकपाको स्थायी कमिटीलाई मिल्यो बाढी पहिरोको बाहना, ओली प्रचण्डको भेट अनिश्चित   



कुञ्जरमणि भट्टराई

नेकपाको स्थायी कमिटीलाई मिल्यो बाढी पहिरोको बाहना, ओली प्रचण्डको भेट अनिश्चित   

काठमाडौं : पार्टी विभाजनबाट जोगाउन भन्दै स्थायी कमिटी बैठक नै रोकेर संवादमा जुटेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड  आ-आफ्ना अडानमा छन्।

गत बिहीवार अन्यौलताकाबीच केही समय चलेको बैठकले पार्टी फुटको संघारमा पुगेको निश्कर्ष निकाल्दै समाधानको जिम्मेवारी ओली र प्रचण्डलाई सुम्पियो।

बिहीवार यता नेकपा अध्यक्षद्वय ५ औं पटक संवादमा जुटे तर कुनै चमत्कार हुन सकेन।

स्थायी कमिटी बैठक केही दिन यता वर्षाले निम्त्याएको क्षतिको बहाना बनाउँदै एक साता पर धकेलिएको छ। 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्षाका कारण जनधनको क्षति भइरहेको बताउँदै सम्भावित क्षति रोक्न र उद्धारका लागि जुट्न बैठक स्थगित गरिएको जानकारी दिएका छन्।

'देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठुलो क्षतिसमेत भईसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्धार एवं राहातमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित,' प्रवक्ता श्रेष्ठले ट्वीटरमा लेखेका छन्।

बैठक शुक्रवार ११ बजेका लागि बोलाइएको थियो। अर्को बैठक साउन २ गते ११ बजेका लागि बोलाइएको छ।

ओली- प्रचण्ड संवाद टुट्यो

किचलो मत्थर पार्न छलफललाई निरन्तरा दिने बताइए पनि बिहीवार भने ओली प्रचण्डबीच छलफल हुन सकेन। शुक्रवार पनि छलफल हुने कुनै सम्भावना नरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‍जुगलले जानकारी दिए।

'आज भेट हुने सम्भावना छैन,' उनले भने, 'वार्ताको वातावरण बिग्रेको पनि छैन। सकारात्मक पनि छैन।'

पछिल्ला भेटहरुमा समस्या जहाँको, तहीं छ। स्थायी कमिटी बैठकमा नेताहरुले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए। तर, अहिले ओलीले प्रधानमन्त्री छोडे सहमति हुन सक्ने निश्कर्षमा नेताहरु पुगेका छन्। भेटमा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिन भनिरहेको नेताहरु बताउँछन्। तर, प्रधानमन्त्री ओली दुवै पद नछोड्ने अडानमा छन्।

 बुधवारको भेटमा ओलीले आफूले पद नछाड्ने बताउँदै बहुमतबाट निर्णय गर्न चेतावनी दिएका थिए। बुधवारको भेटपछि अध्यक्ष प्रचण्डले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई वार्ताको वातावरण बिग्रँदै गएको ब्रिफिङ गरेका थिए। ओलीसँगको भेटमा प्रचण्डले प्रधानमन्त्रीको पक्षमा भइरहेको प्रदर्शन रोक्नुपर्ने बताएका थिए। तर, ओलीले प्रचण्डको कुरा नकारेको नेताहरुको भनाइ छ। त्यसयता ओली प्रचण्डको भेटघाट हुन सकेको छैन्।

सहमति नभए बहुमतबाटै निर्णय

नेताहरु अडानमा यथावत रहे सहमति हुने सम्भावना कम रहेको औल्याउँछन, स्थायी कमिटी सदस्य युवराज ज्ञवाली। सहमतीका लागि भन्दै लामो समय बैठक रोक्न नहुने उनको भनाइ छ।

प्रवक्ता श्रेष्ठले वर्षाले पुर्‍याएको क्षतिका कारण बैठक स्थगित भएको बताए पनि ज्ञवालीले भने आफू कारणबारे जानकार नरहेको बताए।

'बैठक साउन २ गतेसम्मका लागि स्थगित भएको छ। कारणबारे जानकारी दिइएको छैन। दुई अध्यक्षको सहमतिका लागि होला,' उनले भने।

केही समय लिएर सहमति नभए स्थायी कमिटीले बहुमतबाटै निर्णय गर्ने ज्ञवालीको भनाइ छ।

'यो बीचको समयमा अध्यक्षहरुले सहमतिको प्रस्ताव ल्याउनु भयो भने त्यस आधारमा नै अघि बढ्न सकिन्छ। तर, सहमति भएन भने बैठकबाटै निर्णय हुन्छ। बहुमतबाट निर्णय हुन्छ। त्यो सबैले मान्नुपर्छ। बैठक कसैले टार्न खोज्छ भने टारेर जान सम्भव छैन। स्थायी कमिटीले कुनै न कुनै निर्णय लिएरै छाड्छ,' उनले दाबी गरे।

दुवै पदबाट राजीनामा माग गरे पनि ओलीले एक पद छोडेमा सहमति हुन सक्ने उनको ठम्याइ छ।

'बैठकमा उहाँको दुवै पदबाट राजीनामा मागिएको स्थिति हो। उहाँले एक पद छोडेमा सहमति हुनसक्छ। तर, ओली दुवै पद नछाड्ने अडानमा हुनुहुन्छ। यसले गर्दा सहमति हुन सक्ने सम्भावना कम छ,' ज्ञवालीले भने।

प्रधानमन्त्रीबाट राजीनामा दिन उपयुक्त बेला होइन, अध्यक्षका लागि महाधिवेशन

अर्का स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल प्रधानमन्त्री ओलीको राजीनामा दिने उपयुक्त बेला नभएको बताउँछन्।

'कोरोना महमारीमा विश्व नै पीडित बनेको छ। प्राकृतिक प्रकोप छ। राष्ट्रियतका विषयमा नयाँ नक्सा जारी गरिएको छ। राजीनामा माग्ने समय उचित भयो त ? अहिले आफ्नै पार्टीबाट राजीनामा माग्ने उपयुक्त बेला होइन,' मण्डल भन्छन्, 'प्रधानमन्त्री १० कदम पछि सारेर २० कदम अघि बढ्ने अर्को व्यक्ति को छ?'

त्यस्तै अध्यक्षको छिनोफानोका लागि महाधिवेशन कुर्नुपर्ने उनको भनाइ छ।

'महाधिवेशन घोषणा गरिएकै छ। अध्यक्षका लागि महाधिवेशन पर्खिए भइहाल्यो। प्रधानमन्त्रीले नराम्रो मात्रै काम त गरेको छैन। चुनावको नेतृत्व ओलीले गर्नुभएको हो। पार्टी एककीरण गर्नमा नेतृत्वमा प्रचण्डले साथ दिए। अध्यक्षले राजीनामा दिनुपर्ने किन?' उनी प्रश्न गर्छन्।

एक सातका लागि बैठक स्थगित गर्दा दुई अध्यक्ष बसेर अन्तर विरोध, मनमुटाव समाधानका लागि पर्याप्त समय हुने उनको बुझाइ छ। अहिले बहुमतमा जान नहुने मण्डल बताउँछन्।

'प्राकृतिक प्रकोपमा सरकारका प्रमुख उप्रप्रमुख लाग्नुपर्ने भएकाले बैठक स्थगित गरिएको हो। संकटभन्दा पार्टी बैठक ठूलो होइन। यो बिचमा दुई अध्यक्ष बसेर मनमुटाव, अन्तरविरोधको हल गर्ने समय पनि भयो, ' उनी भन्छन्।

एक व्यक्ति एक पदका महाधिवेशनबाटै निर्णय गर्नुपर्ने भन्दै पहिले गरिएको अभ्यास अन्य नेताहरुले स्मरण गर्नुपर्ने उनको भनाइ छ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सहमतिकै लागि बैठक स्थगित गरिएको बताए। पछिल्लोपटक नेम्वाङ पार्टीभित्र विवाद समाधानका लागि खटेर लागेका नेतामध्येमा पर्छन्।

 असार १० गते देखिसुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय खनाल, नेपाल उपाध्यक्ष वामदेव गौतमसहित स्थायी कमिटी सदस्यहरुले ओलीको राजीनामा माग गरेका थिए। त्यसयता विवाद उत्कर्षमा छ। पार्टी विभाजनलाई रोक्न भन्दै दोस्रो, तेस्रो तहका नेताहरु निरन्तर खबरदारी गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell