PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

वीरगंजका किसानको २० बिघाको धानबाली डुबानमा, पानीको निकासका लागि गरे हारगुहार



राधेश्याम पटेल

वीरगंजका किसानको २० बिघाको धानबाली डुबानमा, पानीको निकासका लागि गरे हारगुहार

वीरगंज : वीरगंज महानगरपालिका-१८ सुखचैनामा करिब २० बिघा भन्दा बढी क्षेत्रफलमा लगाइएको धानबाली डुबानमा परेको छ। तीन दिनदेखि परेको अविरल वर्षाका कारण पानीको निकास नभएपछि गण्डक नहरस्थित सुपर ग्याँस प्रालिको पूर्वपट्टि रहेको सुखचैनाका दुई दर्जन किसानको धानबाली डुबानमा परेको हो।

नहर छेउको पानीको निकासलाई रोक्दै स्थानीय ईगराशन यादवले छाई (धानको भुसको खरानी)को टतबन्ध बनाएपछि सुखचैनाको सरेहको पानीको निकास रोकिएको स्थानीय परमानन्द ठाकुरले बताए। सुखचैना गाउँदेखि गण्डक नहरको लचका (पैदल हिडने पुल) सम्मको बाटोमा ईगराशन यादवले सडक अतिक्रमण गरी पानीको प्राकृतिक बहाब थुनेको गाउँलेहरुको आरोप छ।

पानीले सो क्षेत्र जलमग्न हुँदा सुखचैनाको किशोरी महतोको १८ कट्ठाको पोखरीमा पनि पानी पस्ने जोखिम बढेको छ भने दर्जनौँ किसानको धानबाली तीन दिनदेखि डुबानमा परेको छ।रामनाथ महतो, शिवनाथ महतो, आसमन यादव, चन्द्रिका यादव, शंकर यादव, वीरेन्द्र महतो, गणेश महतो, रामचन्द्र साह तेलीलगायत किसानको ५ कट्ठादेखि १ बिघा सम्म गरी कुल २० बिघा क्षेत्रफलको सोना मन्सुली धान डुबानमा परेको हो।

गाउँलेहरुले पानीको निकासको लागि वीरगंज महानगरमा निवेदन दिएका छन्। निवेदन परेपछि महानगरले वडा नम्बर १८ का वडा कार्यालयलाई पत्र लेख्दै समस्या समाधानको लागि जानकारी गराएको छ। पानीको निकास व्यवस्थित नगरे आन्दोलनको तयारीमा गाउँले जुटेको स्थानीय नृसिंह राउत कुर्मीले चेतावनी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell