PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

मिथिलाञ्चल क्षेत्रमा नवविवाहित महिलाले मनाउने ‘मधुश्रावणी’ पर्व आजदेखि शुरु



पहिलोपोस्ट

मिथिलाञ्चल क्षेत्रमा नवविवाहित महिलाले मनाउने ‘मधुश्रावणी’ पर्व आजदेखि शुरु

जनकपुरधाम : मिथिलाञ्चल क्षेत्रमा नवविवाहित महिलाले मनाउने मधुश्रावणी पर्व आजदेखि शुरु भएको छ।

साउन शुक्ल पञ्चमी तिथिका दिनदेखि शुरु हुने मधुश्रावणी पर्व नवविवाहित महिलाहरुले १५ दिनसम्म पतिको दीर्घायुको कामना गर्दै मनाउने गर्दछन्। विशेषगरी मैथिल समुदायका ब्राह्मण, कायस्थ र स्वर्णकार जातिका नवविवाहिताले धार्मिक एवं सांस्कृतिक रुपमा यो पर्व हर्षोल्लासका साथ १५ दिनसम्म मनाउने यो पर्वमा नवविवाहित महिलाहरु भगवान शिव र विषहरा अर्थात नाग देवताको पूजा गर्छन्।

यो विशेष अनुष्ठानमा नवविवाहित महिलाहरुले सुखी जीवनको अपेक्षा गर्दै पूजा गर्छन्। पञ्चमी तिथिबाट शुरु भएको यस पर्वमा आज माटोको वा गाईको गोबरको कलात्मक ढंगले नाग, नागिन मूर्ति बनाएर विधिपूर्वक पूजाअर्चना गरी पर्वको शुभारम्भ गरिन्छ।

मधुश्रावणी पर्वको पहिलो दिन आजदेखि फुललोढी शुरु भएको छ। मधुश्रावणी पर्वमा शिव र पार्वती तथा नाग देवताको पूजा गर्ने गरिन्छ। नवविवाहिताहरुले माटोको नागदेवता बनाई १५ दिनसम्म प्रत्येक साँझ समूहमा गीत गाउँदै फूलपात टिपेर साँझ र बिहान पूजा गर्ने चलन रहेको मधुश्रावनी पर्व मनाउन लागेकी जनकपुरकी प्रतिभा झाले बताइन्।

पतिको दीर्घायु एवं सुखशान्तिको कामना गरी मनाउने हुनाले यो पर्वको निकै ठूलो महत्व रहेको उनको भनाइ छ। साउन शुक्ल पञ्चमी तिथिका दिनदेखि मधुश्रावणी शुरु भई १५ दिनपछि कृष्ण पक्षको पञ्चमी तिथिका दिन सम्पन्न हुने गर्दछ। यो १५ दिनको अवधिमा पहिलो पञ्चमीलाई मैनापञ्चमी र अन्तिम पञ्चमीलाई मधुश्रावणी भन्ने गरिन्छ।

यो पर्व मनाउनका लागि नवविवाहिताको ससुरालीबाट नयाँ वस्त्र लगायत खानेकुराका साथै पूजाका लागि आवश्यक पर्ने सामग्री पठाउने परम्परा छ। माटोको नाग–नागिन पनि कोसेलीका रुपमा पठाउने गरिन्छ। यस अवधिमा ससुरालीबाट आएका अन्न नै ग्रहण गर्नुपर्ने र नियम निष्ठाका साथ बस्नुपर्ने परम्परा छ।

यस पर्वका विभिन्न कथाको सम्बन्धमा जानकारी राख्ने महिलाले प्रत्येक दिन कम्तीमा एउटा कथा सुनाउने गर्छन्। टोलभरीका महिला एक स्थानमा जम्मा भई ध्यानपूर्वक कथा श्रवण गर्ने र पूजाको अन्त्यमा धार्मिक एवं पर्वसँग जोडिएका गीत गाएर सो दिनको पूजा विसर्जन गरिन्छ।

पहिलो दिन नाग-नागिन देवीदेउताको पूजा गरी शुभारम्भ गरेपछि दोस्रो दिन महादेवको मानस पुत्री बिहुलाको कथा, बिसहराको कथा, मंगला गौरीको कथा र तेस्रो दिन पृथ्वीको जन्म र समुद्र मन्थन कथाका बारेमा जानकारी गराइन्छ। त्यसपछि, क्रमिक रुपमा सतीको कथा, पतिब्रताको कथा, महादेवको परिवारको कथा, गङ्गाको कथा, गौरी अर्थात पार्वतीको जन्म, तपस्या, र विवाह, गौरीकी माता मैनाकी मोहभङ्गको सम्बन्धमा नवविवाहितालाई जानकारी गराइन्छ।

त्यसैगरी, कात्तिक र गणेशको जन्म, सन्ध्याको विवाह र लिलीको जन्म, विवाह, पतिब्रता सुकन्याको कथा, बाल बसन्त, गोसाउनिको कथा, राजा किरकको कथा र गणेशद्वारा सोहागको मन्थन र वितरणको सम्बन्धमा जानकारी गराइन्छ। मधुश्रावणी पर्वको अन्तिम दिन महिलालाई भोज खुवाउने परम्परा छ।

यो भोजभतेर नवविवाहिताको ससुरालीको पक्षबाट गर्ने गरिन्छ। भगवान गौरीशंकर र नागदेवताको पूजा गरेपछि अन्तिम दिन ‘टेमी’ कपासको बत्तीले बेहुलीको घुँडा र खुट्टाको पञ्जामा पोलेर ‘मधुश्रावणी’ पर्वको अन्त्य हुन्छ। बत्तीले पोलेपछि बेहुलीको खुट्टामा फोका आउँदा उसको वैवाहिक जीवन राम्रो हुने धार्मिक जनविश्वास रहिआएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell