काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो पीडित नागरिकको उद्दार कार्यमा जुट्न सबैलाई अपिल गरेका छन्। शुक्रबार साँझ देशबासीका नाममा सन्देश दिँदै प्रधानमन्त्री ओलीले विपद्प्रति सजग हुँदै उद्दारका कार्यमा जुट्न आग्रह गरेका हुन्। जनताको जीवन रक्षााका लागि सबै जुट्न पनि प्रधानमन्त्रीले आग्रह गरेका छन्।
सन्देशमा उनले भने, ‘हामीले महामारी र प्राकृतिक विपत्तिप्रति खेलबाड गरेर महाविपत्ति निम्त्याउन किमार्थ पनि मिल्दैन। तसर्थः जहाँ विपद् र विपत्ति आइलागेको छ, त्यहाँ सरकारका तीनवटै तह, जनप्रतिनिधिहरु, राजनीतिक नेता, कार्यकर्ताहरु एकजुट भएर सम्भव सबै प्रकारका उद्दार, सहयोग र तत्काल उपचारको कामलाई प्रभावकारी रुपमा अघि बढाइहाल्नु पर्दछ।'
ओलीले सरकारले बाढी पहिरोबाट प्रभावितहरुको उद्दारमा आवश्यक सुरक्षाकर्मीहरु परिचालित गरिसकेको बताएका छन्। प्रभावितहरुलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको उनले बताए। विपद् न्यूनीकरणका उपाय अवलम्बनका दूरगामी कार्यक्रमलाई सँगै अघि बढाउनु आवश्यक रहेको उनले बताए।
प्राकृतिक विपत्तिको नेपाल सधै जोखिममा रहेको भन्दै समस्या नेपालीको नियतिजस्तै बन्ने गरेको पनि बताए। सरकारले आफ्नो सामार्थ्यका आधारमा सबै प्रकारका परिचालन गरेको पनि सम्बोधनका क्रममा बताए।
जेठ ३१ देखि असार २६ गतेसम्म देशका ११ जिल्ला बाढी/पहिरोबाट प्रभावित भएको प्रधानमन्त्रीले बताए। जसमा ३५ जनाले ज्यान गुमाएको ३२ जना घाइते भएको पनि उनले बताए। बाढी पहिरोमा अझै ३४ जना बेपत्ता रहेको पनि सम्बोधनका क्रममा प्रधानमन्त्रीले बताएका छन्।
