PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

के नेकपाको विवाद मिलेको हो? शंकर पोखरेल भन्छन्, 'अध्यक्षद्वयले चुँडिन लागेको डोरी जोड्नेछन्'



पहिलोपोस्ट

के नेकपाको विवाद मिलेको हो? शंकर पोखरेल भन्छन्, 'अध्यक्षद्वयले चुँडिन लागेको डोरी जोड्नेछन्'

काठमाडौँः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद कसरी मिल्छ स्पष्ट भइसकेको छैन। विवाद वार्ताबाट समाधान खोज्न भन्दै स्थायी समितिका पछिल्ला सबै बैठक स्थगित हुँदै आएका छन्। शुक्रबारका लागि बोलाइएको बैठक बाढी पहिरोको कारण देखाउँदै एक साताका लागि स्थगित भइसकेको छ।

विवाद कसरी समाधान हुने स्पष्ट नहुँदै प्रधानमन्त्री केपी शर्मा ओली निकटका स्थायी समिति सदस्य शंकर पोखरेलले भने पार्टी विभाजनको दुर्घटनाबाट जोगिएको टिप्पणी गरेका छन्। एकताको पक्षमा संवादको भूमिका खोल्ने सबैलाई उनले धन्यवाद पनि दिएका छन्। एकताको चुँडिन लागेको डोरी अध्यक्षद्वयले जोड्ने विश्वास पनि पोखरेलले व्यक्त गरेका छन्। 

पोखरेल अध्यक्षद्वयले गठनको गरेको चार सदस्यीय अनौपचारिक कार्यदलका सदस्य पनि हुन्।

सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन्, ‘पार्टी एकताको  चुँडिन लागेको डोरी अध्यक्षद्वयले जोड्ने र त्यसमा अन्य सबै कमरेडहरूको सकारात्मक साथ सहयोग रहने विश्वासका साथ म आजै कार्यक्षेत्रमा (बुटवल) फर्किएको छु। पार्टी एकतालाई दुर्घटनामा पर्नबाट जोगाउँदै संवादको प्रक्रियालाई अघि बढाउन भूमिका खेल्नु हुने सबै धन्यवादको पात्र हुनुहुन्छ। पार्टी एकताले नै आजको शक्ति आर्जन भएको हो र पार्टी एकताको रक्षाबाट नै उज्यालो भविष्य सुनिश्चित हुन्छ। पार्टी एकताको रक्षाका लागि एकताको मूल मर्म र भावनाको अनुसरण गरौँ। निषेध र उपेक्षाले पार्टी एकताको रक्षा हुन सक्दैन। नेपाल-भारतबीचको सीमा विवाद समाधान गर्ने उद्देश्यका साथ नेपालका सबै भूभाग समेटिएको नक्सा प्रकाशनपछि मुलुक संवेदनशील मोडमा उभिएको छ। सबै राजनीतिक दलको समर्थनमा संविधानको अनुसूचीमा त्यसलाई समावेश गरिएको छ। यो ऐतिहासिक कदम नेपाली स्वाभिमान र अखण्डताको रक्षाको राष्ट्रिय संकल्प हो। छिमेकी भारत त्यसबाट आक्रोशित बनेका बेलामा त्यसको नेतृत्व गर्ने प्रधानमन्त्रीलाई सिंगो राष्ट्र एक भएर साथ दिने बेलामा पार्टीमै विवाद देखिनु राम्रो होइन। यसप्रति सबैको ध्यान अवश्य गएको हुनुपर्छ। यतिबेला जनता कोभिड १९ र बाढी पहिरोको त्रास र पीडामा छन्। उनीहरूको सेवा गर्नु हामी सबैको कर्तव्य हो। अध्यक्षद्वयले परिस्थितिको गम्भीरतालाई मनन गरी चालु बैठकलाई एक साताका लागि स्थगन गर्नुभएको छ। यसलाई सदुपयोग गर्दै धर्ना, जुलुस र वादप्रतिवादका सबैखाले गतिविधिहरू स्थगन गरेर पीडामा रहेका जनताको सेवामा जुटौँ। बेमौसमी बाजाको कर्कश धुन कसैलाई प्रिय हुँदैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell