PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

देशभर बाढी पहिरोको कहर : पूर्वतिर सर्दै मनसुन, मौसम विभागले दियो चेतावनी, यस्तो छ सरकारको तयारी



कमलराज भट्ट

देशभर बाढी पहिरोको कहर : पूर्वतिर सर्दै मनसुन, मौसम विभागले दियो चेतावनी, यस्तो छ सरकारको तयारी

काठमाडौँ : वर्षातको समय सुरु भएसँगै पछिल्लो तीन दिनयता देशभर बाढी, पहिरो र डुबानको आपत् आइलागेको छ। कोरोना महामारीबीच पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि नेपालमा मनसुन सक्रिय भई अविरल वर्षा भइरहेको छ। वर्षाले सिन्धुपाल्चोकको भोटेकोशी, बाह्रबिसे साथै म्याग्दी, जाजरकोट, तनहुँलगायत जिल्लामा जनधनको क्षति गरेको छ। अब मनसुन मध्य र पूर्वतिर सक्रिय हुँदा थप क्षति हुने निश्चित छ।

गृह मन्त्रालयले मुख्यतः सूचना प्रवाह, उद्धार र राहतमा आफूलाई केन्द्रित गरेको छ। सुरुमा जोखिम क्षेत्रका मानिसहरूलाई सूचना दिएर सुसूचित गराउने काम सरकारले गर्दै आएको छ।

‘कुन नदीमा बहाव कति बढ्यो? खतरा लेभल पार गर्‍यो कि गरेन?, कति वर्षा भयो? भन्ने सूचना मौसम पूर्वानुमान महाशाखाले तल्लो तहसम्म सूचना प्रवाह हुन्छ। रेडियो, टिभी, सामाजिक सञ्जाललगायतका माध्यमबाट स्थानीय तहसम्म सूचना पुग्छ,’ गृह मन्त्रालयमा विपद् व्यवस्थापन हेर्ने सहसचिव इन्दु घिमिरेले भनिन्।

सूचना पाएपछि समयमै मान्छे ज्यान तथा धनसम्पत्ति जोगाउन सक्ने भएकाले सरकारले सूचना प्रवाहलाई प्राथमिकता दिएको उनले जानकारी दिइन्। सूचना प्रवाहलाई सरकारले पूर्व तयारीको एउटा पाटो भनेको छ।

त्यसै गरी सूचनाका आधारमा जोखिम क्षेत्रमा खोज तथा उद्धारका सामग्रीसहित सुरक्षाकर्मी परिचालन गरिन्छ।

‘प्राकृतिक प्रकोप तथा विपद्मा परेकाहरूको खोज तथा उद्धारका लागि तालिमप्राप्त सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मी ठाउँ-ठाउँमा परिचालन भएका छन्,’ घिमिरेले भनिन्, ‘तटीय क्षेत्र, जोखिम क्षेत्रमा सुरक्षाकर्मी स्थानीय प्रविधि प्रयोग गर्ने हिसाबले अलर्ट छ।’

यसपाली तराईमा डुबान तथा बाढीका लागि १९१ मोटर बोट र रबर बोटसहित सुरक्षाकर्मी तयारी अवस्थामा रहेको उनले जानकारी दिइन्।

गृह मन्त्रालयका अनुसार प्राकृतिक प्रकोपपछिको उद्धारका लागि देशका ५ स्थानमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ। सुर्खेत, पोखरा, भरतपुर, इटहरी र काठमाडौँमा हेलिकोप्टर तयारी अवस्थामा छन्।

‘विपत्तिमा परिसकेपछि गाडी जान नसक्ने एवं गम्भीर अवस्थाका लागि हेलिकोप्टर तयारी अवस्थामा छन्। तर, कतिपय अवस्थामा मौसमले साथ दिएन भने निजी क्षेत्रबाट सानो हेलिकोप्टर हायर गर्छौँ,’ सहसचिव घिमिरेले म्याग्दीको उदाहरण दिँदै भनिन्।

म्याग्दीमा सेनाको हेलिकोप्टर पहिरो प्रभावित क्षेत्रमा जान नसकेर सदरमुकाममै रोकिएपछि प्रभु कम्पनीको सानो हेलिकोप्टर हायर गरेर बीचमा फसेका २४० नागरिकको उद्धार गरियो। कतिपय अवस्थामा भने सुरक्षाकर्मी हिँडेरै पुग्ने गरेका छन्।

सरकारको अर्को तयारी भनेको राहत सामग्री वितरण हो। प्राकृतिक प्रकोप तथा विपद्बाट घरबार तथा परिवारका सदस्य गुमाइसकेपछि सरकारले तत्कालीन तथा दीर्घकालीन राहत दिन्छ। तात्कालिक खर्च भनेको किरिया बस्न अथवा अस्थायी घर तथा खानाका लागि दिइन्छ भने दीर्घकालीन भनेको घर निर्माण तथा पुनर्स्थापनाका लागि हुन्छ। राहत वितरणको काम सिडिओको अध्यक्षतामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले गर्छ।

‘रेडक्रस, स्थानीय तह, प्रदेशसँग समन्वय गरेर तत्काल आवश्यक राहत दिइरहेका छौँ,’ सहसचिव घिमिरेले भनिन्, ‘जिल्ला जिल्लामा राहत सामग्री स्टोर गरिएको छ।’

विपद् व्यवस्थामा रेडक्रस

देशभर प्राकृतिक प्रकोपका घटना बढ्दै जाँदा नेपाल रेडक्रस सोसाइटीले पनि आफ्नो सक्रियता बढाएको छ। बिहीबार सिन्धुपाल्चोकमा एक सय परिवारको अभिलेख संकलन गरी सामग्री पठाएको रेडक्रसले म्याग्दीमा शुक्रबार गएको पहिरोमा हराएका व्यक्तिको खोजीका लागि सेनालाई स्टेजर, कैँची, औजारहरू दिएको छ।

रेडक्रस सोसाइटीका प्रवक्ता दिव्यराज पौडेलले आफूहरूले स्टेप बाई स्टेप तयारी गरेको बताए। उनका अनुसार झापादेखि कञ्चनपुरसम्म तराईका १६ जिल्लालाई प्राथमिकतामा राखेर रेडक्रसकर्मीलाई अनलाइन तालिम दिएर तयारी अवस्थामा राखिएको छ।

‘कोभिड र बाढी पहिरो सँगसँगै भएकाले कोभिड प्रतिकार्य र मनसुन प्रतिकार्य जनशक्ति अलर्ट छ,’ प्रवक्ता पौडेलले भने, ‘गृह मन्त्रालय, युएन एजेन्सीहरू र अन्य निकायसँग समन्वय गर्ने गरी मनसुन प्रिप्लान तयार छ।’

त्यसैगरी रेडक्रसले गैर खाद्य सामग्री वितरणको पनि तयारी गरेको छ। आफ्नै स्रोतमा पाँच हजार परिवार र अन्य संघ-संस्थाको सहयोगमा १० हजार गरी १५ हजार परिवारलाई गैर खाद्य सामग्री दिने रेडक्रसको तयारी छ। एउटा परिवारलाई ९ हजार रुपैयाँ बराबरको सामग्री दिइनेछ।

त्यसै गरी रेडक्रसले नेपाल प्रहरी, स्थानीय तहका प्रतिनिधिसँग मिलेर द्रुत लेखाजोखा गर्ने र सोही अभिलेखका आधारमा राहत तथा गैर खाद्य सामग्रीको प्रबन्ध मिलाउँछ। साथै सरकारको विपद् व्यवस्थापन सम्बन्धी प्राधिकरणसँग समन्वय गरेर सहयोगका कार्यक्रम अगाडि बढाउँछ।

पूर्वतिर सर्दै मनसुन, मौसम विभागले दियो चेतावनी

यता मौसम पूर्वानुमान महाशाखाका अनुसार अब देशको पूर्वी क्षेत्रको विपद्को उच्च जोखिममा छ। आज (शनिबार) देखि देशको पूर्वी भागमा भारी वर्षा भइरहेको छ। नेपालमा केही दिनयता सक्रिय मनसुन पूर्वतिर सरिरहेको छ। नेपालमा मनसुन पश्चिमबाट भित्रिएको थियो।

सुदूरपश्चिम, कर्णाली, प्रदेश ५ र गण्डकी प्रदेशमा शुक्रबारसम्म भारी वर्षा भएको छ। हिजो सबैभन्दा धेरै गण्डकी प्रदेशमा वर्षा भयो। अब आजदेखि प्रदेश २ र १ तर्फ सक्रिय भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

उनका अनुसार न्यूनचापीय रेखा नेपालतिर भएकाले मनसुन दुई/तीन दिनयता नेपालमा सक्रिय भएको छ।

‘अब मध्य र पूर्वी भागमा आज र भोलि भारी वर्षा हुन्छ। पश्चिमतिर हल्का हुँदै जान्छ,’ मौसमविद् अर्यालले भने, ‘सिस्टम अनुसार अबको ४ दिन जोखिम छ।’

वर्षाका कारण मध्य पहाडी भूभागमा पहिरो तथा तराईमा बाढी र डुबानको उच्च जोखिम रहेको भन्दै उनले सतर्कता अपनाउन आह्वान गरे।

‘मध्य पहाडी भूभागमा पहिरो, तराईमा जलस्तर बढ्ने, बाढी पहिरोले बाटो अवरोध हुनसक्छ,’ उनले भने, ‘जुनदेखि नै प्रसस्त पानी परेकाले जमिन गलिसकेको छ। धेरै ठाउँमा पहिरोको जोखिम एकदमै छ।’

मौसमविद् अर्यालले पश्चिमबाट मौसम सुधारिएर आउने र ४/५ दिनमा क्रमिक सुधार हुने उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell