PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बालबालिकालाई सचित्रको कोशेली : रोचकदेखि ज्ञानबर्द्धक कथा समेटिएका दश किताब



नेत्र तामाङ

बालबालिकालाई सचित्रको कोशेली : रोचकदेखि ज्ञानबर्द्धक कथा समेटिएका दश किताब

काठमाडौं : सचित्र किताब प्रालिले बालबालिकाका लागि सचित्र किताबको कोशेली बजारमा ल्याएको छ।

सचित्रले हालै ल्याएको कोशेलीमा १० किताब रहेका छन्।

कोशेलीमा कस्ता कस्ता कथा छन् त?

१. लोभी कुकुर

यो इसपले लेखेको कथा हो। यसलाई नेपालीमा पुनर्लेखन गरिएको छ। नेपालीमा कृष्णदीप सिग्देलले पुनर्लेखन गरेका हुन्। कृष्णदीप बालसाहित्यमा चिनिएको नाम हो। उनी १८ वर्षदेखि यो क्षेत्रमा सक्रिया छन्।

यो कथामा चित्र सोनाम तामाङले बनाएका छन्। थोरै शब्दमा धेरै कथा भन्ने किताब हो यो। कथामा लोभी कुकुर हुन्छ। इसपले लेखेको कथाबाटै यो पुनर्लेखन गरिएको छ। र, कथा अलिकति बढाइएको छ। नेपाली परिवेशअनुसार बढाइएको कथा रोचक त हुने नै भयो। अझ रमाइलो गरी प्रस्तुत गरिएको छ।

२. भूत

अलिकति डर लाग्ने खालको कथा हो यो। यो कथाले एक रातको कथा भन्छ। राति सुतेको बेला भूतको झल्को देख्ने अनिलको कथा यसमा छ।

रोशन पोखरेलले लेखेको कथामा सुमन महर्जनको चित्र रहेको छ। रहस्यले भरिएको यो कथा जति पढ्यो उति पढौं जस्तो खालको छ। तर, चाँडै सकिन्छ।

कथासँगै चित्र पिन राम्रा छन् यस किताबमा। चित्रले र कथाको भावको तालमेलले बालबलिकालाई पक्कै यो किताब मनपर्छ होला। शब्दहरुलाई तालमेल मिलाएर यताउति राखेर बालबालिकालाई पढ्नका लागि सजिलो बनाइदिएको छ किताबले।

३. चुलबुले च्यान्टु

यो चकचक गर्ने च्यान्टु बाँदरको कथा हो। उ सानो छ। आमाले नगर भनेको कुरा मन नै उसलाई गर्न मन लाग्छ।

यो कथा कृष्णदीप सिग्देलले लेखेका हुन्। कृष्णदीपको बारेमा माथि पनि लेखिसकेको छु। इसपको कथा लोभी कुकुको पुनर्लेखन उनले नै गरेका हुन्। यस कथामा सोनाम तामाङले नै कोरेका चित्र छन्।

चकचक गर्ने च्यान्टुले चोट पाउँछ। तैपनि च्यान्टु त्यस्ता चोट बिर्सिहाल्छ। उ खेल्दा बाआमाले चकचक गरेको सम्झन्छ। बाल मनोविज्ञानलाई रमाइलो भावका साथ कथा प्रस्तुत गरिएको छ। यो कथा पढ्दा बालबालिका खुसी हुन्छन्।

४. गाउँ खाने कथा

कोशेलीको प्याकेजको यो किताबमा गाउँ खाने कथाहरु छन्। गाउँ खाने कथा भनेको कुनै विषयमा क्लु दिएर सोधिने प्रश्न हुन्। यस्ता कथाहरुले बालबालिकाको सोच्ने शक्ति पनि बलियो हुन्छ। नयाँ नयाँ जुक्तिहरु निकाल्न सक्छन्।

यहाँ एउटा पानामा एउटा प्रश्न सोधिएको छ र उक्ता पानामा सम्बन्धित वस्तुहरुको चित्रहरु बनाइएका छन्। त्यसैलाई अनुमान गर्दै बालबालिकाले सही उत्तर भन्न सक्छन्। यो किताब कक्षाकोठाका लागि पनि उपयुक्त हुन सक्छ।

कृष्णदीपले सम्पादन गरेको यी गाउँखाने कथामा शोभितमान बानियाले आकर्षक चित्र बनाएका छन्।

५. के पो गर्ने खै?

बालबालिकाका धेरै प्रश्न हुन्छन्। कतिपय कामहरु उनीहरु आफै गर्छन्। ती कामहरु गर्दा प्रश्न पनि सँगै जन्मिन्छन्। यस्तै काम गर्ने क्रममा बालबालिकालाई उठेका प्रश्नहरुको सँगालो किताबमा रहेको छ।

थोरै शब्द धेरै चित्र यो किताबको पनि विशेषता हो। किताबको शीर्षकमै प्रश्न राखिएको छ। अविन श्रेष्ठले प्रत्येक प्रश्नको चित्रमा कल्पना भरिदिएका छन्। किताबको विषयवस्तु निर्मला चापागाईले लेखेका हुन्।

कतिपय सन्दर्भमा चित्रले सत्य कुरालाई देखाएको छ भने कतिपय सन्दर्भमा कल्पनालाई प्रस्तुत गरेको छ। जिज्ञासु बन्न यस किताबले बालबालिकालाई प्रेरित गर्नेछ भन्ने मेरो ठम्याइ हो।

६. प्यारी

लय हालेर गाउन मिल्ने मिल्ने शब्दहरु यस किताबमा छन्। मीठा लय सुशीला खनालले लेखेका हुन्। प्यारी मायाले भरिएको किताब हो। दीपक गौतमको किताबले यस किताबका विषयमा झनै माया भरिएको छ। आमा र सन्तानको माया कस्तो हुन्छ। यसबारे कितामा प्रस्तुत गरिएको छ।

नेपाली बालबालिकाको नजिक रहेका जनवारहरु यो किताबमा प्रयोग गरिएको छ। त्यसैले पक्कै पनि यो बालबालिकाले मन पराउनेछन्। किताबमा शब्द थोरै छन्। चित्रहरु आकर्षक छन्।

७. चकचके खरायो

चकचके खरायो बियाट्रिक्स पोटरले लेखेको कथा हो। किताबमा पोटरकै चित्र रहेको छ। यो कथालाई कृष्णदीपले नेपालीमा अनुवाद गरेका हुन्। यो बादल नाम गरेको साहसी खरायोको कथा हो। कथा लामो पनि छ।

यो कथाका पानाहरुमा अक्षर धेरै छन् भने वाक्य पनि लामो लामो छ। तर, मुख्य विषयका अक्षरहरु साबिकको अक्षरभन्दा ठुलो र बोल्ड पारिएका छन्।

कथामा संवादको प्रयोग गरिएको छ। यो कथा पढेपछि बालबालिकाले नेपाली नाम, सर्वनाम चिन्न र संवादको प्रयोग गर्न जान्नेछन्।

८. कथा भन्ने खाट

मिलनलाई बाआमाको एउटा कुरा मनै पर्दैन। त्यो हो पुरानो खाट बेच्ने कुरा। त्यो खाटले कथा भन्ने कुरामा मिलन विश्वस्त छ। तर उसका बाआमाले कुरा बुझेका हुँदैनन्। यही कथा यो किताबमा छ।

बालबालिकाको क्षेत्रमा चिनिएको नाम हो शाश्वत पराजुली। शाश्वतले नै यो कथा लेखेका हुन्। कथामा छोराछोरीका कुरालाई बाआमाले कसरी सुनिदिनुपर्छ त भन्ने कुरालाई प्रस्तुत गरिएको छ।

यो कथाको बलियो पक्ष भनेको चित्र पनि हो। कृष्णगोपाल श्रेष्ठले कोरेको चित्रले बालबालिकालाई लोभ्याउँछ। यो कथामा पनि लामो वाक्य र संवादको प्रयोग गरिएको छ।

९. आकारको घाउ

यो आकारको कथा हो। आकारको साथी मोबाइल हो। उसलाई मोबाइलसँग खेल्न एकदम मनपर्छ। मोबाइलसँग खेल्दा खेल्दा उसको आँखा कमजोर हुन्छ। मोबाइलसँग खेल्दा मज्जा भए पनि पढाइ भने बिग्रदै जान्छ। उसका साथीहरु टाढाटाढा हुन्छन्। यसले गर्दा उसलाई धेरैले मन पराउँदैनन्।

कसको साथी को भनी सरले प्रश्न सोध्दा आकारले मोबाइल भन्छ। उसको मान्छे साथी हुँदैनन्।

बालबालिकाको क्षेत्रमा धेरै अघि देखि लेखनमा सक्रिय रत्न प्रजापतिले लेखेको कथा हो यो। कथामा समित श्रेष्ठले दुरुस्त चित्र कोरेका छन्।

यो किताबमा पनि लामो वाक्य छन्। संवाद प्रयोग भएका छन्। कक्षमामा भएका कुराकानीले कथालाई लामो बनाएको छ। कथाको अन्त्यमा आकार सुध्रिन्छ।

१०. उपहार

जन्मदिनको कथा हो यो। आदित्यको जन्मदिनमा उपहार दिन डिलुलाई समस्या पर्छ। किनकि उसँग पैसा हुँदैन।

पैसा नभएर के भो त? उसका बाआमाले उसलाई साथ दिन्छन्। तर, उसको योजना अनुसारको काम आदित्यको घरमा लाज लाग्ने खालको हुन्छ।

आदित्यको जन्मदिनको पार्टीमा उसलाई लिटो खानुपर्छ। उसले भने आधुनिक खानेकुरा लगेको हुन्छ। पुरानो खानेकुरा खुवाएको देखेर आधुनिक खानेकुरा देखाउन डिलुलाई लाज लाग्छ। यसैत्यसै आदित्यले उसको झोला खोस्छ। उसको झोलाबाट खसेको बस्तु देखेर आदित्य खुसी हुन्छ।

बालबालिकाका क्षेत्रमा सक्रिय सिर्जना शर्माले लेखेको कथा हो यो। कथामा नीलम भुर्तेलले चित्र कोरेकी छन्। यो किताबमा चित्रहरु रमाइलो गरी प्रस्तुत गरिएका छन्। मौलिक खानलाई महत्व दिनुपर्छ भन्ने सन्देश कथाले दिएको छ।

किताबहरुबारे थप कुरा

दशै किताबलाई एकै बाकसमा कोशेली बनाएर सचित्र किताबले बजारमा ल्याएको किताबहरु रंगीन छन्। कोशेलीको मुल्य २२५० रुपैयाँ तोकेको छ। थापागाउँमा रहेको सचित्र किताबले यो पहिलो कोशेली बजारमा ल्याएको हो।

यी सबै कथाका किताबहरु कृष्णदीपकै सम्पादनमा बजारमा आएको हो। चित्रकथाका लागि अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा प्रचलित आकारका यी किताब चित्र, रचना अनि किताबको भौतिक तथा छपाईको स्तरमा अलिकलि पनि कञ्जुस्याइँ नगरिएको कृष्णदीप बताउँछन्।

बालबालिकालाई विभिन्न अवसरमा उपहार दिन उपयुक्त हुने किसिमले कोशेली तयार पारिएको उनले बताए। 'किताब विभिन्न अवसरमा बालबालिकाका लागि उपहारयोग्य बस्तु हुन सक्छ भन्ने मान्यता लिँदै तयार गरिएको हो यो कोशेली,' सम्पादक कृष्णदीपले भने।

३ देखि १० वर्षसम्ममा लागि उपयुक्त किताब हालै बजारमा आएको हो। थोरै शब्द अनि रमाइला र आकर्षक रंगीन चित्र रहेको किताब नौलो स्वादको पनि रहेको छ।

अक्षर चिन्न थालेका बालबालिकाका लागि अक्षर चिन्न सजिलो हुने गरी कुनै शब्दलाई ठुलो। कुनै सानो पारी आकर्षक तरिकाले सजाइएको छ।

किताबहरुको अर्को विशेषता भनेको चित्रलाई पाठकको दृष्टिकोणमा ढाल्नु हो। यो कोशेली रमाइला कथा, पौराणिक कथा, साहसिक कथा, हसाउँने कथा, भूतको कथा, प्रश्न र उत्तरको खेलको कथा समेटिएको प्याकेज हो।

नोट : ८ वर्षका विद्यार्थीको पहिलो रोजाईलाई १ नम्बरमा राखेको छु भने अन्तिम रोजाईलाई १० नम्बरमा। थोरै वाक्य भएका किताब पहिलो रोजे। लामो वाक्य र संवाद भएका किताबलाई अन्तिममा।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell