जब नेपाली क्रिकेटले मारेको फड्कोबारे कुरा हुन्छ तब चर्चा हुन्छ पारस खड्का, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन लगायतको।
यी खेलाडीको नाम त्यतिखेर आउँछ जब डिभिजन ५ बाट एक दिवसीय वरियताको अहिलेसम्मको अवस्थामा नेपाली क्रिकेटको चर्चा हुन्छ। क्रिकेट व्यवसायिक बनेपछिको अवस्थाबारे बोल्ने हो भने सन्दीप लामिछाने छुट्ने कुरै भएन।
यी बाहेक नेपाली क्रिकेटमा कयौँ खेलाडी आए। कतिले क्रिकेटमै लामो समय बिताए। जमे। केही छोटो समय क्रिकेटमा रमाए र विदेशिए। केहीका लागि क्रिकेट रहर बन्यो कर्म बनेन। तर, फिल्डमा केही समय उत्रिएका उनीहरुलाई क्रिकेटले पहिचान भने दियो। किनभने अहिले नेपाली क्रिकेट जुन उचाइमा छ त्यहाँसम्मको यात्रा तय गर्न उनीहरुको योगदान थियो कहीँ न कहीँ।
क्रिकेट पिच छाडेर अन्य पेशामा हाम्फाल्ने राज श्रेष्ठ त्यस्तै पात्र हुन्। त्यसबखतका नेपाली युवा क्रिकेट टोलीका बलर अलराउन्डर।
अहिले पूर्व क्रिकेटरका रुपमामात्र उनलाई चित्रित गर्दा उनको परिचय अपूरो रहन्छ। किनभने वर्तमान अवस्थामा उनी सफल बैंकरका रुपमा स्थापित भइसका छन्। र, बेलाबेलामा आफ्नो कौशलता उतार्छन् कोलाजमा।
+++
कुनै समय नेपाली युवा क्रिकेट टिमको कप्तानी सम्हालेका थिए राजले। नेपाली क्रिकेटको आरोह अवरोह सबै भोगे उनले। सोखले क्रिकेटसँग जोडिएका उनले सानका साथ खेले। र, परिस्थितिका कारण क्रिकेटबाट बाहिरिए पनि।
घर कुलेश्वर। कीर्तिपुर क्रिकेट मैदान र टुँडिखेल दुवै पायक पर्ने मैदान। पढाइ ल्याब स्कूल। त्यहाँको मैदानको चर्चा काठमाडौंका अन्य स्कूलका विद्यार्थीससम्म हुन्थ्यो। त्यसैले क्रिकेट खेल्नका लागि मैदानले नै साथ दियो उनलाई। त्यसमाथि क्रिकेटप्रति नेपालीको बढ्दो क्रेज र उस्तै वातावरणले पनि उन तानिरह्यो।
'त्यतिबेला माहोल राम्रो थियो। वर्षमा ८/१० वटा लोकल म्याचहरु हुन्थे,' श्रेष्ठ सम्झन्छन्, 'अझ शनिवार त ज्ञानेन्द्र मल्ल, म लगायत ४/५ वटासम्म म्याच खेल्न भ्याउँथ्यौं।'
अहिलेका नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल राजभन्दा केहीपछि मात्र हो क्रिकेटमा भित्रिएका। पछि उनीहरुले मिलेर क्रिकेट एकेडेमी पनि सञ्चालनमा ल्याए। क्रिकेटले जोडेको उनीहरुको सम्बन्ध अहिलेसम्म पनि दाजुभाइको जस्तो छ।
पूर्व कप्तान पारससँग भने स्कूलस्तरीय क्रिकेट खेल्दाखेल्दै चिनजान भयो उनको।
राज लेफ्ट आर्म स्पीनर थिए। अन्डर १५ को त कप्तानी समेत गरे उनले।
त्यस्तै, २००३ यू १७ एसिया कपको सेमिफाइनलसम्मको यात्रा नेपालले गर्दा उनी टोलीमा महत्वपूर्ण सदस्य थिए। श्रेष्ठले उक्त प्रतियोगितामा कूल १३ विकेट लिएका थिए जसमा कतारविरुद्ध मात्र ७ विकेट उनको खातामा रह्यो।
प्रतियोगितामा सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो।
सानैदेखि क्रिकेटमा चासो राख्ने उनको यस खेलप्रतिको लगाव तब ह्वात्तै बढ्यो जब सन् १९९६ को विश्वकपमा श्रीलंकाले जित्यो। त्यसपछि हो उनले आफूलाई पनि विश्वकपको मैदानमा खेल्दै गरेको कल्पना गरेका।
सन् २००२ मा युएइमा क्रिकेट डेभलपमेन्ट प्रोजेक्ट अन्तर्गत राम्रो खेलेसँगै नन टेस्ट प्लेइङ नेसनबाट 'ड्रिम टिम' को सूची आयो। जसमा नेपालबाट श्रेष्ठसँगै पारस र शरद गरी तीन खेलाडीको नाम थियो। त्यस सूचीले क्रिकेट पारखीहरु बीच उनीहरुलाई थप चर्चित बनायो।
त्यसपछि सन् २००३ मा पाकिस्तानमा एसिया कप र २००४ मा बंगलादेशमा यू १९ विश्वकप खेले।
न्युजिल्यान्डलाई हराएर यू १९ विश्वकप अन्तर्गत 'प्लेट' च्याम्पियन बनेको क्षण भने राजलाई सबैभन्दा अविस्मरणीय लाग्छ। वर्तमान कप्तान ज्ञानेन्द्र मल्लले पहिलो पटक बाहिर खेलेको उक्त प्रतियोगितामा नेपालको कप्तानी कनिस्क चौलागाईँले गरेका थिए।
उक्त प्रतियोगितामा राजले ७ ओभर बलिङ गरेर ३० रन दिँदै १ विकेट लिएका थिए। प्रतियोगितामा नेपालले न्युजिल्यान्डमाथि १ विकेटको जित निकालेको थियो। वसन्त रेग्मीले ७३ बलमा ६६ रन हान्दै उत्कृष्ट ब्याटिङ गरेका थिए। जुनियर लेभलमा तीनवटा टेस्ट प्लेइङ नेसनलाई नेपालले हराइसकेको भए पनि उनलाई न्युजिल्यान्डमाथिको त्यो जित अविस्मरणीय छ।
त्यो निकै ठूलो उपलब्धि थियो। त्यतिबेला नेपाली टीमका हरेक सदस्यलाई सरकारले सय सीसीको बजाज बाइक दिएको थियो। अरु खेलाडीहरुसँग त्यो बाइक सायदै होला। तर, राजले त्यो बाइक अझै राखेका छन् - कन्डिसन पनि गज्जव। जुन बाइक प्राय पार्किङमा उनको गाडीसँगै हुन्छ।
'धेरै साथीहरुले त्यो बाइक बेचे तर मैले सकिँन,' उनले भने।
नेपाली क्रिकेट अझै व्यवसायिक बन्न संघर्ष गरिरहेको छ। अझै त नेपाली क्रिकेटहरु तलबको समस्यासँग जुधिरहेका छन् भने त्यतिबेला खेलाडी कुन अवस्थामा खेलिरहेका थिए? अनुमान लगाउन सकिन्छ। क्रिकेटमा करियर अगाडि नदेखिँदा हो उनी फरक पेशामा मोडिन बाध्य भएको। सन् २००८ को मलेसिया टुर पछि उनको करियरको बाटो मोडियो।
+++
सन् २००८ मा मलेसिया गएका बेला एक्लै घुम्न निस्किएका थिए उनी। 'ज्ञानेन्द्रले जाउँ भनेको थियो तर म गइँन। पछि एक्लै गएँ,' उनी सम्झन्छन्।
घुम्दै गर्दा ठूलाठूला बिल्डिङहरु देखे। ती भवनहरुमा झुण्डिएका होर्डिङ बोर्ड देखे। जसमा लेखिएको थियो : 'एचएसडीसी', 'स्टान्डर्ड चार्टड' अनि यस्तैयस्तै नामहरु।
शहरको झिलिमिलीभन्दा बढी बैंकका नामले आकर्षित गर्यो उनलाई। त्यसपछि बिस्तारै बैंकिङ क्षेत्रप्रति चासो बढ्यो।
'सोच्थें - 'ओहो! टाइसुट लगाएर मस्तसँग बसेर काम गर्न पाइने?'
मलेसिया घुम्दै गर्दा हावी भएको बैंकिङ क्षेत्रप्रतिको रुची नेपाल फर्किएपछि पनि उत्रिएन। नेपाल फर्किएको हप्ता दिन भित्रै 'केएफए' भन्ने बैंकिङ कोर्षका लागि भर्ना भए।
बैंकमा ब्रेक पाउन उस्तो गाह्रो भएन। र, केही समयमै हिमालयन बैंकमा प्रवेश गरे। नयाँ क्षेत्रमा प्रवेश गराउनमा योगदान रह्यो प्रदीप नरसिंह रायमाझी र राजेश्वर नन्द सिंहको।
हिमायल बैंकमा २ वर्ष काम गरेपछि उनी सिभिल बैंक पुगे। त्यहाँ उनले ६ वर्ष बिताए। बैंकिङ करियरको क्रिजमा उनी जम्दै गए।
पछिल्लो समय भने उनी सिटिजन्स बैंकमा छन्- कुलेश्वर शाखाका म्यानेजर। 'अहिले सहज र सुरक्षित अवस्थामा छु। काम गर्न राम्रो वातावरण छ। मलाई यहाँ राम्रो सपोर्ट मिलिरहेको छ,' उनले भने।
एघार वर्ष यस क्षेत्रमा बिताउँदा बैंकिङ नै प्यासन बनेको छ उनको। 'हामी आक्रमक भएर भन्दा पनि सुरक्षित भएर अघि बढिरहेका छौं,' यति भनिसक्दा उनी प्रश्न गर्छन्, 'आखिर जीवनमा पनि यही पोलिसी लागू हुन्छ नि होइन?'
श्रेष्ठ आफूलाई बैंकिङ करियरमा 'यही लेभल'मा पुग्छु भन्ने लोभ नभएको बताउँछन्।
'आफ्नो तर्फबाट शत् प्रतिशत् 'इफोर्ट' दिने हो तर टप लेभलमा पुग्नै पर्छ भन्ने दवाव म आफैलाई पनि दिन्न। गर्दै जाने हो, हेरौं कहाँसम्म पुगिन्छ,' उनी केही गम्भीर सुनिए।
आफ्ना क्रिकेटर साथीहरु बैंकको एम्बासडर भएको देख्दा दङ्ग पर्छन् उनी। सोच्छन् : खेलाडीका रुपमा नभए पनि कर्मचारीका रुपमा म पनि बैंकको एक एम्बासडर त हुँ नि।
+++
पेशाले बैंकमा छन्। रहरले छाडेको क्रिकेटको 'फ्यान' हुन् यी पूर्व क्रिकेटर। करियरका फरक आयाम र रङहरु देखेका उनी रङसँग पनि रमाउँछन्। रहरले 'पेन्टर' बनेका उनी एब्स्ट्राक्ट पेन्टिङमा रुची राख्छन्।
सानेपास्थित एक घरमा पेन्टिङ गर्ने थलो बनाएका छन् उनले।
'व्यवसायिक हिसाबले भन्ने हो भने करिब ४०/५० वटा पेन्टिङ मैले बनाइसकेँ होला,' राज भन्छन्, 'व्यवसाय गर्न भन्दा पनि फुर्सदमा बनाउने हो। पेन्टिङ साथीभाइको सर्कलबाटै बिक्छन्।'
हाल बैंकरको भूमिकामा रहेका उनी बैंकबाट रिटायर भएपछि भने बाँकी जीवन क्यानभास रङ्गाउँदै बिताउने योजनामा छन्।
रङसँग खेल्दा आफूलाई मजा आउने बताउने उनले इन्टरनेटमा हेर्दै 'एब्स्ट्राक्ट पेन्टिङ' सिकेका हुन्।
सानेपामा उनको पेन्टिङ गर्ने कोठमा पुग्दा एकापट्टी पेन्टिङ राखेको र अर्कापट्टी रंगहरु छरपस्ट देखिन्थे।
पेन्टिङको अर्डरहरु आउँदा 'कलर कम्बिनेसन'लाई आधार बनाएर माग हुन्छ। उनी त्यही अनुसार रंग भर्छन्।
'पेन्टिङ भनेको मैले लाइफटाइमका लागि सोचेको हुँ। कस्तो पेन्टिङ बनाउने भन्ने कुरा मुडमा पनि भरपर्छ,' उनले सुनाए, 'धेरै फ्रस्ट्रेट भएको बेलामा आफूलाई पेन्टिङमा भुलाउन पाउँदा आनन्द महसुस हुन्छ।'
सिंगल सिटिङमा मात्रै पेन्टिङ बनाउन सम्भव हुँदैन। कुनैलाई हप्ता दिन लाग्छ भने कुनै त एकैदिनमा तयार। पेन्टिङको प्रकार हेरी त्यसका लागि समय छुट्याउने गरेका छन् उनले।
आफ्नो पेन्टिङको ब्रान्ड लोगो 'गणेशको एब्सट्राक्ट पेन्टिङ' लाई बनाएका छन् उनले। सिटिजन्स बैंकको आफ्नो कार्यकक्षमै पनि दुइवटा त्यस्तै पेन्टिङ झुन्ड्याएका छन् उनले।
+++
क्रिकेट, पेन्टिङ र बैंकिङ। कुनै कतै साइनो छैन।
तर यी तीन बिधाहरुलाई उनी एकदमै फरक हिसाबले विश्लेषण गर्छन्।
'क्रिकेट त खेल भयो। जित पनि हुन्छ हार पनि हुन्छ। मनमा देशलाई कसरी जिताउने भन्ने हुन्छ,' उनी भन्छन्, 'बैङ्किङ चाहिँ पर्फमेन्स बेसिस हुन्छ। फ्री भएर सोच्ने भन्दा पनि काम भइरहन्छ।'
पेन्टिङ भने प्यासन।
त्यो क्रिकेट र यो क्रिकेट।
राज श्रेष्ठ पहिलाको क्रिकेट र अहिलेको क्रिकेटमा फरक देख्छन्। त्यतिबेला लोकल टुर्नामेन्टहरु भइरहेकोले जुन माहोल बनेको थियो त्यो अहिले नदेखिएको उनी बताउँछन्। अहिले पनि लिगहरु पर्याप्त नहुँदा सीमित खेलाडीहरुलाई छाडेर अधिकांश संघर्षमा रहेको उनको बुझाइ छ।
'अहिलेको भन्दा माहोल त त्यतिबेला अझ राम्रो थियो,' उनी भन्छन्,' म यू १९ हुँदा लगभग वर्षमा ८/१० वटा लोकल टुर्नामेन्टहरु खेल्थेँ।'
अहिले घरेलु लिगहरु खासै नहुँदा नयाँ पुस्ताले क्रिकेटको त्यो स्वाद चाख्न नपाएको सुनाउँछन् उनी।
'घरेलु लिगहरु नै छैन। हामीले जति क्रिकेटको अनुभव गर्न पायौं त्यति अहिलेका क्रिकेटरले गर्न पाएका छैनन्,' श्रेष्ठले सुनाए, 'हामी त त्यतिबेला शनिबार ४/५ वटा म्याच खेल्थेम्। प्लस टु र कलेज लेभलमा पनि धेरै प्रतियोगिता हुन्थे। अहिलेकाले त्यो अनुभव गर्न पाएका छैनन्।'
अहिलको क्रिकेटमा भने ब्याटिङमा समस्या रहेको भन्दै ओपनिङमा सुधार गर्नुपर्ने देखेका छन्।
'अहिले ज्ञानेन्द्रको लागि ओपनिङ पार्टनर नै छैन। कति एक्सपेरिमेन्ट गरिसक्यो। अनि पारस जतिको २ जना ब्याट्सम्यान मिडलअर्डरमा चाहिन्छ,' उनको बुझाइ छ।
मुनिक श्रेष्ठ, कनिस्क चौलागाँई, प्रेम चौधरी जस्ता राम्रा ब्याट्सम्यानहरु थिए। अधिकांश विदेशिए। उनी सम्झन्छन्, 'मुनिक श्रेष्ठले बंगलादेशमा भएको प्रतियोगितामा दक्षिण अफ्रिकाका फास्ट बलरहरुलाई अघि बढेर सट हानेका थिए। अझ हेल्मेटबिनै पनि खेल्दिने के।'
उनी थप उत्साहित प्रतिप्रश्न गरे: दक्षिण अफ्रिकाका बलर भन्दा तपाईं के सम्झनु हुन्छ? अनि आँफै उत्तर दिन्छन् : पेस बढी भएको बलर।
अझै पनि आफू मुनिक श्रेष्ठको फ्यान भएको राज बताउँछन्।
'मुनिक श्रेष्ठ, कनिस्क चौलागाइ, यशवन्त सुवेदी लगायतका ब्याट्स्म्यानहरु थिए। त्यतिबेला नै उनीहरुलाई ग्रुम गर्न सकेको भए नेपालको ब्याटिङ लाइन अहिले धेरै स्ट्रङ हुन सक्थ्यो,' उनको बुझाइ छ।
अहिले क्रिकेट नखेले पनि उनमा क्रिकेट प्रतिको उत्साह देखिन्छन्। जब क्रिकेटको कुरा सुरु हुन्छ उनी एकाएक उत्साहित सुनिन्छन्। अनि चाहन्छन् अहिलेका खेलाडीहरु फाइन्यानसियल्ली सेक्युर बनुन् र फिल्डमा देखिइरहुन्। सय सीसीको बजाज बाइक र आफू जस्तै क्रिकेटको 'राज' नबनुन्।