PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सिन्धुपाल्चोकका कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु, 'लामो समयदेखि क्षयरोगबाट पीडित थिए'



कुञ्जरमणि भट्टराई

सिन्धुपाल्चोकका कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु, 'लामो समयदेखि क्षयरोगबाट पीडित थिए'

काठमाडौं : कोरोना संक्रमणबाट सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालधाप गाउँपालिकाको एक जनाको मृत्यु भएको छ। गाउँपालिकास्थित वडा नम्बर ६ का ४५ वर्षिया पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
 
'उहाँ क्वारेन्टाइनमा बसेको होइन। लामो समयदेखि बिरामी हुनु हुँदो रहेछ। पीसीआर गर्दा पोजेटिभ देखियो। बिहीवार पाटन अस्पतालमा मृत्यु भएको रहेछ। हामीले हिजो जानकारी पायौं,' जिल्ला जनस्वास्थ्यका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइले भने।
 
वडा ६ का अध्यक्ष मानबहादुर तामाङका अनुसार उनी लामो समयदेखि क्षयरोग पीडित थिए। पिसाब थैलीबाट रगत बगेपछि उनलाई भक्तपुरको क्षयरोग अस्पाताल लगिएको थियो।

'अस्पतालमा कोरोना देखिएपछि पाटनमा लगिएको रहेछ। मृत्यु भएर पनि शव व्यवस्थापन भइसकेको कुरा आएको छ', वडा अध्यक्ष तामाङले भने। 

यस अघि नै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका एक महिलाको मृत्यु भएको थियो। सिन्धुपाल्चोकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ।  
गाउँपालिकामा बुधवार ५ जना संक्रमित पनि थपिएका छन्। सबै भारतबाट आएका हुन्। उनीहरु तिपेनी क्वारेन्टाइनमा रहेको चापागाइले जानकारी दिए।

सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ६१ पुगेको छ। देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell