PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सलह प्रकोप : नेपालमा आउने नआउने भारतको नीतिमा निर्भर, ‘पहिलेको भन्दा ठूलो संख्यामा आउन सक्छ’



प्रकाश भण्डारी

सलह प्रकोप : नेपालमा आउने नआउने भारतको नीतिमा निर्भर, ‘पहिलेको भन्दा ठूलो संख्यामा आउन सक्छ’

काठमाडौं : नेपाल भारत सिमाना तर्फ सलह अघि बढिरहेकाले सचेत रहन विज्ञहरुले चेतावनी दिएका छन्। हावाको वेगमा परिवर्तन आएमा केहि दिनमै नेपालका तराइ क्षेत्रमा सलहको झुण्ड आउने कृषि अनुसन्धान परिषद् नार्कका किट वैज्ञानिक सुदीप कुमार उपाध्यायले बताए।

दोस्रो पटक सलहको झुण्ड नै आउन सक्ने भएकाले किसानलाई सचेत रहन उनले आग्रह गरे। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सलह आउने सम्भावना रहेको भन्दै शनिवार सूचना जारी गरेको थियो।

नेपालको कुन ठाउँबाट प्रवेश हुन्छ सलह?

सूचनामा हाल सलहको झुण्ड भारतको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेको जनाइएको छ।

‘यी झुण्डहरु हावाको बहाबसँगै पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभंगाको आसपासका क्षेत्र हुँदै धनुषा, महोत्तरी, सर्लाही क्षेत्रबाट नेपालतर्फ समेत प्रवेश गर्न सक्ने प्रक्षेपण गरिएको छ,’ सूचनामा उल्खेख गरिएको छ।

यस्तै राजस्थानमा रहेका सलहका झुण्डहरु दक्षिण पश्चिमी वायुसँगै उत्तर प्रदेशका मुरादावाद, बरेली तथा शाहजहाँपुर तर्फ अगाडि बढ्नसक्ने र त्यहाँबाट पश्चिम तराईमा प्रवेश गर्नसक्ने प्रक्षेपण गरिएको छ।

पानी परेका बेला तथा रातिको समयमा स्थानान्तरण नगर्ने भए पनि झुण्डहरु धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रमा १ र २ दिनमा र सुदूरपश्चिम प्रदेशमा दक्षिण तथा पश्चिमबाट तथा प्रदेश नम्बर ५ का दक्षिण पश्चिमका भूभागहरुबाट २र३ दिनमा नेपालभित्र प्रवेश गर्न सक्ने सम्भावना रहेकाले पूर्वतयारी गर्न अनुरोध गरिएको छ।

अब झुण्ड नै आउन सक्छ

उपाध्यायले पहिला आएको सलह केही लाखको संख्यामा भएपनि अब सलह झुण्डमै आउन सक्ने सम्भावना रहेका बताए। यसअघि नेपालका विभिन्न जिल्लमा पुगेको सलह झुण्डबाट टुक्रिएर आएको थियो। उनले एउटा झुण्डमा ६र७ करोड सलह हुने भएकाले झुण्ड नै आए विनाश निम्त्याउने बताए।

‘यो पनि मौसम जस्तै पूर्वानुमान गर्ने विज्ञान न हो। त्यसैले झुण्ड आउन सक्छ,’ उनले भने।

यसअघि नेपालमा आएको सलहले नेपालमा अण्डा पार्न अनुकुलता नपाएपछि मरेर सकिएको थियो। भारतको औरैया आसपास क्षेत्रको १ सय ५० हेक्टर जमिनमा सलहका २ झुण्ड फैलिएका छन्। त्यो झुण्डमध्ये एक झुण्ड नेपाल आउन सक्ने पूर्वामानुमान गरिएको हो।

भारतकै कारण पनि नेपालमा सहल आउन सक्ने

किट वैज्ञानिक उपाध्यायले अन्तर्राष्ट्रिय कानुनअनुसार सलहलाई कुनैपनि देशले आफ्नै भुगोल भित्र नष्ट गर्नुपर्ने बताए। भारतले सलहलाई मार्ने भन्दापनि धपाउने गरेको उनले बताए।

यसअघि नेपालमा सहल प्रवेश गर्दा पनि भारतले सलह नमारेर धपाएको थियो। तर, उपाध्यायले सलह वायुको दिशामा निर्भर हुने भएकोले भारतकै कारण मात्र नेपाल प्रवेश नगरेको बताए। अहिले पनि भारतले सलह धपाइरहेको उनको भनाइ छ।

अहिले पनि नेपालमा सहल आउने नआउने कुरा हावाको दिशासँगै भारतको नीतिमा पनि निर्भर हुने उनले बताए। अन्तर्राष्ट्रिय कानुनकै आधारमा भारतले पाकिस्तानले आफ्नो देशमा सलह पठाएको आरोप लगाउने गरेको उनले बताए।

‘पूर्व तयारी राम्रो छ’

भारत, पाकिस्तान लगायतका देशमा हरेक वर्ष सलहले विनाश निम्ताउने भएकाले यस सम्बन्धी छुट्टै निकाय छ। नेपालमा भने ठूलो संख्यामा सलह पहिलोपटक प्रवेश गरेको हो। पहिलोपटक प्रवेश गरेको भएपनि सहलले निम्ताउन सक्ने विनाशको पूर्व तयारी राम्रो भएको उपाध्यायको दावी छ।

उनले अहिले हरेक स्थानीय तहमा सलह आउन सक्ने भन्दै परिपत्र भइसकेको र तयारी अवस्थामा रहेको जानकारी दिए। यसअघि आएका सलहलाई भगाएको तथा मारेको जसरी फेरि पनि तयारी भएको उनको भनाइ छ।

विभिन्न घरेलु उपाए अपनाएर सलह नष्ट गर्ने तथा भगाउनु उत्तम हुने उनको तर्क छ। ठूलो ध्वनी निकालेर तथा लसुनको पानी छर्केर तथा बास बसेको ठाँउमा मारेर सलहलाई नष्ट गर्न सकिने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell