PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

गाउँगाउँमा सिंहदरबारको सपना बाड्ने माननीयलाई मतदाताको प्रश्न : लाज लाग्दैन, जनतालाई दुःखमा पार्दा?



राधेश्याम पटेल

गाउँगाउँमा सिंहदरबारको सपना बाड्ने माननीयलाई मतदाताको प्रश्न : लाज लाग्दैन, जनतालाई दुःखमा पार्दा?

वीरगंज : देशमा संघीयता आउँदा जनताको गाउँघरमा सिंहदरबार जाँदै छ भन्ने अभिव्यक्ति खुबै चर्चामा आएको थियो। ‘आफ्नै सत्ता, आफ्नै सरकार, आफ्नै नेता, आफ्नै विकास’ भनेर पनि विश्लेषण गरिएको थियो। तर, त्यो सबै हावादारी गफ बाहेक अरु केही सावित नभएको अवस्था छ।

पर्साको ग्रामिण भेगलाई वीरगंजसँग जोड्ने वीरगंज-पोखरीया-हरिहरपुर सडकको अवस्था अहिले बेहाल छ। पोखरीयादेखि लंगडीसम्म करिब ५ किलोमिटर सडक पूर्ण रुपमा हिलाम्मे बन्दा वीरगंजबाट गाउँ तथा गाउँ क्षेत्रबाट वीरगंज एम्बुलेन्स पनि आउन नसक्ने अवस्था छ।

दैनिक रुपमा मोटरसाइकल, जिप, सुमो र ट्रयाक्टर हिलाम्मे बाटोमा फस्ने गरेका छन् भने हजारौं जनता आवतजावतमा उत्पन्न समस्याले आजित बनेका छन्।

‘पोखरीयाबाट औषधि किनेर हरिहरपुर फर्किदैछु, बाटोको अवस्था देखेर मन रोइरहेको छ,’ हरिहरपुरका किशोरी महतोले भने, ‘भोट माग्ने बेलामा नेताज्यूहरु घरघरमा पुगेर सहयोग गर्न भन्छन्, अहिले जनताको दुःख हेर्ने कोही छैन।  माननीय जी लाज लाग्दैन, जनतालाई दुःखमा पारेर?’

उनले पर्सामा ठेकेदारनै नेता बनेपछि जनताले यस्तो दुर्दशा भोग्नु परेको गुनासो गरे।

‘पर्सा क्षेत्र नम्बर ४ ख कै प्रदेश सांसद सिगाहशन साह कलवारको कम्पनीले सडक निर्माणमा चरम लापार्बाही गरेको छ,’ बसन्तपुरका रामबालक साहले भने, ‘गाउँमा कोही बिरामी भयो भने कहाँ कसरी लैजाने केही ठेगान छैन, सडक चाडै सरकारले बनाइदिनु पयो।’

करिब दुई सातादेखि सडकको अवस्था बिग्रिदा दर्जनौँ गाडी हिलोमा फसेर खराब भएका छन्।कतिपय घाइते समेत भएको गाउँलेको भनाइ छ। प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयको करिब १४ करोडको बजेटमा १३ किलोमिटर सडकमा माटोले पुरेर पोखरीयादेखि हरिहरपुर सम्म ७ किलोमिटर चौडाइमा कालोपत्रे गर्नु पर्ने छ भने हरिहरपुरदेखि मिर्जापुर गाउँ सम्ममा साढे ५ मिटर कालोपत्रे गर्नु पर्ने ठेकेदार कम्पनीले सम्झौता गरेको छ।

रोशन/रन्जन/सागर जेभी कम्पनीले उक्त सडकको काम गत असारमा शुरु गरेको थियो। ठेकेदार कम्पनीका अनुसार हालसम्म ३५ प्रतिशत काम भएको र आगामी एक वर्षको समय सीमामा सबै काम सकाउने लक्ष्य राखिए तापनि हाललाई जनताको पीडा सम्बोधन गर्न कुनै उपाय नरहेको बताए।

‘गत असारमा ठेक्का लाग्यो, कात्तिकसम्म केही काम भएन। असोजदेखि काम शुरु भएको थियो, फागुनदेखि कोरोना महामारी शुरु भयो, जसले गर्दा काममा ढिलाई भएको हो,’ ठेकेदार कम्पनीका एक प्रतिनिधिले भने, ‘जबसम्म घाम लाग्दैन, बाटोलाई बनाउन सकिदैन।’

त्यसैगरी, सांसद सिगाहशन साह कलवारकै परिवार साझेदार रहेको रोशन/रन्जन/सागर जेभीले पनि पर्साको दक्षिणी सडक सबैठवा–भिस्वा–जयमंगलापुर-मिर्जापुरको १० किलोमिटर लम्बाइकै सडक पनि अलपत्र पारेर जनतालाई दुख दिएको नेपाली कांग्रेस पर्साका सदस्य नविन सिंहले गुनासो गरे।

उनले प्रदेश सांसद कलवारको आफ्नै निर्वाचन क्षेत्र भएतापनि बजेटको दुरुपयोग गरी प्रभावकारी काम नगर्दा जनताले सास्ती खेप्नु परेको आरोप लगाए। सबैठवा-भिस्वा-मिर्जापुरमा साढे ५ मिटर चौडा कालोपत्रे गर्न ११ करोडमा ठेक्का लागेको थियो। पोखरीया-मिर्जापुर २२ करोडमा र सबैठवा-मिर्जापुर १८ करोडमा टेण्डर आह्वान भए तापनि ३५ प्रतिशत घटाएर ठेकेदार कम्पनीले ठेक्का हात पारेको थियो। तर, अहिले काम गर्न निल्नु न ओकल्नु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell