PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

छिमेकको संक्रमणले हामी कति जोखिममा?



पहिलोपोस्ट

छिमेकको संक्रमणले हामी कति जोखिममा?

काठमाडौं : नेपालमा भेटिएका कोरोना संक्रमितको अधिकांश हिस्सा भारतबाट फर्केका नेपालीहरुमा देखियो। अहिले भारतबाट नेपाल आउनेक्रम घटेको छ त्यसको असर क्वारेन्टाइनहरु रित्तिँदै गएका छन् भने संक्रमितको संख्या पनि क्रमश: ओरालो लागिरहेको छ।

तर, नेपाल जोखिममुक्त भने भइसकेको छैन। भारतमा रहेका नेपालीको संख्या कति छ भन्ने आधिकारिक तथ्याङ्क छैन। कति फर्किए भन्ने पनि यकिन तथ्याङ्क छैन। किनभने भारतबाट नेपाल भित्रिनेहरु औपचारिक बाटोबाटमात्र आएका छैनन्। सुरुमा सीमामा आइपुगेका मानिसलाई नेपाल छिर्न नदिने रणनीतिले यहाँ संक्रमितको संख्या बढाउन योगदान दियो। किनभने मानिसहरुलाई आउन नदिँदा कोरोना संक्रमण त्यतै फैलियो भने लुकीछिपी नेपाल छिर्नेका कारण पनि कतिपय बस्तीहरुमा कोरोना पनि फैलियो।

भारतको उत्तर प्रदेशमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ। उत्तर प्रदेश नेपालसँग सीमा जोडिएको दोस्रो ठूलो भारतीय राज्य हो। मध्यदेखि पश्चिम नेपालसम्म जोडिएको यो प्रदेशबाट भित्रिएकाहरुमा संक्रमण अत्याधिक देखिएको छ। शनिवारसम्म उत्तर प्रदेशमा कोरोना संक्रमितको संख्या ३३ हजार ७ सय रहेको छ। त्यहाँ मृत्यु हुनेको संख्या पनि ८ सय ८९ पुगिसकेको छ।

धेरै जनसंख्या हुने राज्यमध्येको एक हो उत्तर प्रदेश। श्रमिक स्पेसल रेल मार्फत् अन्य राज्यमा कामका लागि पुगेका उत्तर प्रदेशका नागरिकलाई फिर्ता पठाउने क्रमसँगै त्यहाँ संक्रमितको संख्या ह्वात्तै माथि गएको हो। तिनै श्रमिकसँगै नेपालीहरु नेपाल फर्केका थिए। नेपालीहरु अझै पनि भारतमा उल्लेख्य संख्यामा रहेका छन्। उत्तर प्रदेशमै पनि नेपालीहरु छन् उनीहरु फर्किने सम्भावना अझै रहन्छ। त्यसकारण त्यहाँबाट औपचारिक वा अनौपचारिक मार्ग हुँदै नेपाल प्रवेश गर्नेहरुबाट संक्रमणको जोखिम सधैं रहन्छ। उत्तर प्रदेशमा संक्रमितको संख्या नेपालमा जस्तो घट्दो स्वरुपमा देखिएको छैन।

नेपालसँग सबैभन्दा लामो सीमा जोडिएको भारतको अर्को प्रान्त हो - बिहार। मध्यदेखि पूर्वी नेपालसम्म जोडिएको बिहारमा भारतका अन्य प्रान्तमा जति संक्रमित छैनन्। यहाँ पनि श्रमिक स्पेसल रेल सेवा सुरु भएपछि कोरोना संक्रमित फैलिनेक्रमले गति लिएको छ। जनसंख्याको हिसाबमा बिहार पनि ठूलो राज्यमा पर्छ।

बिहारमा शनिवारसम्म संक्रमितको संख्या १४ हजार ५ सय ७५ रहेको छ। त्यहाँ १ सय १९ जना संक्रमितको मृत्यु पनि भइसकेको छ। प्रदेश दुई समग्र रुपमा बिहारसँग जोडिएको छ। धेरै संक्रमितहरु बिहार हुँदै नेपाल प्रवेश गरेको देखिन्छ। उदयपुरको भुल्केदेखि बारा र पर्सासम्मै बिहारबाट आएका नेपालीबाट संक्रमण भित्रिएको देखिएको छ। बिहारमा संक्रमणको रफ्तार भारतका अन्य राज्यमा जस्तो लगातार बढिरहेको छैन। तर, समूदायमा संक्रमण फैलिएको अवस्थामा नेपाल सधैं जोखिममा रहन सक्छ।

सुरुमा महाकाली नदीका कारण नेपाल प्रवेशमा सकस भोगेको सुदूर पश्चिमसँग जोडिएको उत्तराखण्डमा भारतका अन्य राज्यको तुलनामा संक्रमितको संख्या कम छ। त्यहाँ शनिवारसम्म ३ हजार ३ सय ७३ जनामा संक्रमण देखिएको छ। भारतको दार्चुलाबाट धेरै संख्यामा नेपालीहरु सुदूर र कर्णाली तथा प्रदेश ५ मा आएका थिए। उत्ताराखण्डमा संक्रमितको संख्या कम भएकाले हुनुपर्छ, दार्चुलाबाट प्रवेश गरेकामध्ये ज्यादै न्युन संख्यामा मात्र कोरोना भाइरस संक्रमित फेला परे। बिहार र उत्तर प्रदेशको तुलनामा महाकाली नदीका कारण यस क्षेत्रबाट नेपाल भित्रन सक्ने सम्भावना कम छ।

नेपालसँग सीमा जोडिएकोमध्ये पश्चिम वंगालमा भने संक्रमितको संख्या लगातार बढिरहेको छ। यो प्रदेशबाट नेपाल भित्रिनेको संख्या अन्य क्षेत्रभन्दा निक्कै कम थियो। तर, सीमापारी संक्रमित संख्या लगातार बढ्नुको अर्थ जोखिमको खतरा यथावत भने हुने नै भयो। त्यहाँ २७ हजार १ सय ९ जना संक्रमित छन्। मृत्यु हुने कोरोना संक्रमितको संख्या पश्चिम वंगलामा ८ सय ८० पुगिसकेको छ।

नेपालसँग जोडिएका भारतीय राज्यमध्ये सबैभन्दा कम प्रभावित क्षेत्र हो सिक्किम। त्यहाँ अहिलेसम्म १ सय ३४ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ। अहिलेसम्म त्यहाँ यसैका कारण कसैको मृत्यु भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell