PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भृकुटीमण्डप बजार खुल्यो तर बोहनी गर्नै मुश्किल : व्यवसायीलाई चिन्ता, 'बहाल कसरी तिर्ने?'

भृकुटीमण्डप बजार खुल्यो तर बोहनी गर्नै मुश्किल : व्यवसायीलाई चिन्ता, 'बहाल कसरी तिर्ने?'

सरला सुवेदी/पहिलोपोस्ट


काठमाडौं : कपडादेखि कस्मेटिकसम्म, इलेक्ट्रोनिक्सदेखि झोलाजुत्तासम्म। एकै छानामुनि रहेका पसलमा छानीछानी किन्न पाउने बजार हो भृकुटी मण्डप बजार।

सस्तो बजारका रुपमा चिनिएको यो बजारमा १२ सय बढी स्टल छन्। चाड पर्वबाहेका समयमा पनि यहाँ ग्राहकको घँइचो नै लाग्थ्यो।

तर, लकडाउनको तीन महिनापछि खुलेको यो बजार यतिबेला लगभग सुनसान देखिन्छ।

खुलेका पसलमा ग्राहक देखिँदैनन्। पसलेहरु एकापसमा गफ गरिरेहका देखिन्छन्।

असार १ गतेबाट अन्तका बजार खुले पनि भृकुटी मण्डप भने दुई सातापछि मात्र खुलेको हो। कोरोना भाइरसको महामारी फैलिरहँदा व्यवसायीहरुले सामाजिक दुरी कायमसहित बजार खुलाएको काठमाडौं निम्नवर्गिय व्यापार संघका उपाध्यक्ष गोविन्द पौडेलले बताए।

'संघले लकडाउन भरका लागि विहान १० बजेदेखि साँझ ६ बजेसम्म बजार खुल्ला गर्ने व्यवस्था गरेको छ,' उनले भने, 'बजार खुल्यो, ग्राहकहरू फाट्टफुट्ट आउन थालेका छन्।'

बोहनी गर्नै मुश्किल

राजधानीकै पुरानो खुद्रा बजारका रूपमा रहेको भृकुटी मण्डपमा व्यवसाय गर्नेमा अधिकांश बाहिरीबाट काठमाडौं आइबसेकाहरू छन्। लकडाउन सुरू भएयता घर गएकामध्ये अझै धेरैजना फिर्न बाँकी छ। लकडाउनमा पनि काठमाडौं नछाडेकाहरूले आआफ्नो पसल खोल्न थाले पनि व्यापार छैन।

'बजार खुलेको ८ दिनमा ३ दिनमात्र बोहनी भयो,' व्यवसायी रुपक लामिछानेले भने, 'लकडाउन खुकुलो भए पनि बस चल्न पाएको छैन। हाम्रा ग्राहक भनेका मध्यम र निम्नवर्गीय हुन्। गाडी नचल्दा मान्छे आउने कुरै भएन।'

फागुनमा गर्मीका केही सामान ल्याएका पसलेले चैत दोस्रो सातादेखि लकडाउन सुरू भएकाले बेच्न पाएनन्। पसल खोल्न थालेका व्यवसायीले पनि नयाँ सामान ल्याएका छैनन्।

'दिनभरि कुराइ मात्रै छ, व्यापार छैन,' व्यवसायी रामप्यारी भण्डारीले भनिन्, 'दिनमा १५/२० हजारको कारोबार हुन्थ्यो, यतिबेला पसल खोल्यो, बन्द गर्‍यो। हात खाली छ।' सार्वजनिक यातायात खुलेर जनजीवन सहज नभएसम्म भृकुटीमण्डपको बजारले ग्राहक पाउन गाह्रो रहेको उनले बताइन।

'व्यापार हुन्छ की भनेर पसल खोल्न आउन थालियो, न खाजा खर्च उठ्छ न त गाडी भाडा,' उनले भनिन्, 'गफ गरेर र मोबाइलमा गेम खोलेर बस्नु परेको छ।'

बिहेका सारी, पार्टी वेयर र लेहेंगा धेरै बिक्री हुने भनेकै चैत र वैशाखको सिजन हो। 'लकडाउनले व्यापार हुने समय सक्कियो। अब साउन र भदौमा केही होला की भन्ने आशा छ,' लालबहादुर प्रसादले भने।

यहाँका जुत्ता-चप्पल पसलको अवस्था पनि उस्तै छ। पसल खोलेर ग्राहक कुर्नु बाहेक विकल्प नभएको व्यवसायी नवीन ढुंगानाले बताए। 'पहिले जस्तो ठ्याक्क टाइममा पसल खोल्नु पर्दैन, व्यापार नै नहुँदा जतिबेला खोले पनि हुने भएको छ,' उनले भने, 'केही समय बस्दा पनि ग्राहक आएनन् भने बन्द गरेर हिड्ने गरिएको छ।'

पसल खोले पनि तीन दिनदेखि बोहनी नगरी बसेको रेडिमेड लुगाका व्यवसायी सुजन पाण्डेले बताए। 'ग्राहक आइहाले आफ्नो नाफा नै नराखी पनि बेच्नै पर्ने अवस्था छ,' उनले भने, 'कारोबार नभएपछि घरमा बस्न र यहाँ आएर बस्नु केही फरक छैन।'

पहिले सामान झुण्ड्याएर ग्राहक आकर्षित पारेर बस्ने व्यवसायी यतिबेला आधा स्टल सामान राखेर बसेका छन्। स्टल बन्द भइरहँदा सामान बिग्रने हुनाले व्यापार नभए पनि खोल्न आउने गरेको व्यवसायी विनाता श्रेष्ठले बताइन।

यहाँका व्यवसायीहरूका अनुसार तुलनात्मकरूपमा राजधानीका अन्य बजारभन्दा भृकुटीमण्डप खुद्रा बजारको स्टल भाडा सस्तो छ। स्टल अनुसार प्रतिस्क्वायर फिटमा भाडा दिने गरेकाले अधिकांशले मासिक १० देखि १५ हजार रुपैयाँ तिर्छन्। स्टल भाडासँगै व्यवसायीले सरसफाइ, बिजुली र सुरक्षाको पैसा पनि तिर्नुपर्छ।

लकडाउन सुरू भएयता व्यवसायीले चैतदेखि भाडा बुझाएका छैनन्। व्यापार बन्द रहेको अवधिको भाडामा व्यवसायीलाई छुट दिने नदिने विषयमा निर्णय भइसकेको छैन।



ट्रेन्डिङ पोस्ट

Ncell