काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना फ्री भन्दै सरकारले घोषणा गरेको सोलुखुम्बुसहित १८ जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशका २५ प्रयोगशालामा गरिएको तीन हजार ९१६ परीक्षणका क्रममा ८२ जनामा संक्रमण पुष्टि भयो।
आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौंका ५ र ललितपुरका १ जना पनि रहेका छन्।
पछिल्लो २४ घण्टामा प्रादेशिक प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा झापाका १ र मोरङका २ जना रहेका छन्
त्यस्तै, प्रादेशिक प्रयोगशाला जनकपुरमा धनुषाका १९ र सर्लाहीका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका ३ र सिन्धुपाल्चोकका १ जनामा संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल प्रयोगशालामा चितवनका ५ तथा किटजन्य रोग अन्वेषण प्रयोगशाला हेटौंडामा मकवानपुर र सिन्धुलीका १/१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौंका २ ललितपुरका १ र सोलुखुम्बुका १ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमध्ये प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङ र पर्वतका २/२, नवलपरासी पूर्व र स्याङ्जाका १/१ र तनहुँका ६ जना रहेका छन्। त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोरखाका १ र लमजुङका २ जनामा संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा गुल्मी र पाल्पाका १/१ जनामा संक्रमण पुष्टि भएको छ। दैलेखको पीसीआर प्रयोगशालामा दैलेखका १ तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिका प्रयोगशालामा रुकुम पश्चिमका २ जनामा संक्रमण पुष्टि भएको छ।
सुर्खेत अस्पताल प्रयोगशालामा सुर्खेतका ११ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा कालिकोटका ७ जनामा संक्रमण पुष्टि भएको छ।
डडेलधुरा अस्पताल प्रयोगशालामा बझाङका १ र डडेलधुराका २ जनामा संक्रमण पुष्टि भएको छ।
सेती अस्पताल प्रयोगशालामा कैलालीका २ र दार्चुलाका १ जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये ८ हजार ५८९ जना डिस्चार्ज भइसकेका छन्। जुन ५१.१ प्रतिशत हो।
यस्तो छ प्रदेशको अवस्था
प्रदेश १
प्रदेश १ मा आज ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यहाँ हाल १८० जना आइसोलेसनमा रहेका छन्। यहाँ कोरोना भाइरसको संक्रमित कसैको पनि मृत्यु भएको छैन। यहाँ हाल २ हजार ७६७ जना क्वारेन्टाइनमा रहेका छन्।
प्रदेश २
सबै भन्दा बढी प्रभावित प्रदेश हो, प्रदेश २। यहाँ हाल एक हजार ९१३ जना संक्रमित आइसोलेसनमा रहेका छन्। यहाँ आज मात्र २० जनामा संक्रमण पुष्टि भएको छ। यहाँ मृत्यु हुनेको संख्या ४ छ भने क्वारेन्टाइनमा ३ हजार ९४ जना रहेका छन्।
वाग्मती
वाग्मती प्रदेशमा हाल ४६१ जना संक्रमित आइसोलेसनमा छन्। आज मात्र यस प्रदेशमा १४ जना थपिएका छन्। त्यस्तै, प्रदेशमा ९ जना संक्रमितको मृत्यु भइसकेको छ। यहाँ हाल एक हजार ८८७ जना क्वारेन्टाइनमा रहेका छन्।
गण्डकी
गण्डकी प्रदेशमा हाल ९०१ जना संक्रमित आइसोलेसनमा रहेका छन्। यहाँ संक्रमण पुष्टि भएकामध्ये ५ जनाको मृत्यु भएको छ। आज मात्र त्यहाँ १५ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ क्वारेन्टाइनमा रहनेको संख्या तीन हजार ८५२ छ।
प्रदेश ५
हाल प्रदेश ५ मा एक हजार ६४७ जना संक्रमित आइसोलेसनमा रहेका छन्। यहाँ १३ जनाको मृत्यु भएको छ। यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० जनालाई मात्र समावेस गरेको छ। आज प्रदेश ५ मा २ जनामा मात्र संक्रमण पुष्टि भएको छ। प्रदेश ५ मा ४ हजार ९३० जना क्वारेन्टाइनमा रहेका छन्।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा हाल ३८८ जना संक्रमित आइसोलेसनमा छन्। यहाँ आज मात्र २१ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये ६ जनाको मृत्यु भएको छ। जसमध्ये २ जनाले आत्महत्या गरेका हुन्। जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समावेस गरेको छैन। कर्णालीमा हाल एक हजार ८४५ जना क्वारेन्टाइनमा रहेका छन्।
सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशमा हाल पाँच हजार ४०९ जना क्वारेन्टाइनमा रहेका छन्। यहाँ संक्रमण पुष्टि भएकामध्ये अझै पनि दुई हजार ६४७ जना संक्रमित आइसोलेसनमा उपचारकै क्रममा रहेका छन्। प्रदेशमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। आज मात्र प्रदेशमा ६ जना नयाँ संक्रमित थपिएका छन्।
हाल महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा जिल्लामा ५०० भन्दा बढी एक्टिभ केस रहेका छन्। त्यस्तै, धनकुटा, भोजपुर, मुस्ताङ, मनाङ र हुम्ला जिल्ला कोरोना मुक्त भएका छन्।