वीरगंज : वीरगंज महानगरपालिका-२६ सुगौली विर्तामा गत असार १० गते बिहान ४ बजे भएको हत्या प्रयासको घटना एक महिलाबाट भएको रहस्य खुलेको छ।
स्थानीय ४० वर्षीया मीरा उपाध्यायले छुरा प्रहार गरेर बाल्यकालकै साथी ४५ वर्षीय सरफुद्दिन मियाको हत्या गर्ने प्रयास गरेको घटनाको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार नजिकको आपसी सम्बन्ध रहेका दुवैबीच विगत एक महिनादेखि मनमुटाव बढ्दै गएको र असार ९ गते राति १२ बजे सरफुद्दिन मीराको घरमा गएको बयानबाट खुलेको छ।
असार १० गते बिहान स्थानीय वीरबहादुरको पोखरीको डिलमा छुरा हानेको अवस्थामा सरफुद्दिन फेला परेका थिए। पोखरीको डिलमा बसेर कुरा गर्ने क्रममा विवाद भएपछि मीराले सरफुद्दिनलाई छुरी प्रहार गरी हत्याको प्रयास गरेकी थिइन्।
सरफुद्दिनको घाटीमा ४ इन्च गहिरो घाउ लागेको थियो। अहिले घाइते सरफुद्दिनको अवस्था सामान्य रहेको र नेशनल मेडिकल कलेजमा उपचार भइरहेको र २ हप्ता पछि डिस्चार्ज हुने बताइएको छ।
प्रहरीको नियन्त्रणमा रहेकी मीराविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान भइरहेको प्रवक्ता कुँवरले बताएका छन्।
मीराको माइती घर सुगौली हो। उनको विवाह भारतमा भए तापनि श्रीमानसँग गाउँकै पश्चिममा जग्गा किनेर घर बनाइ बस्दै आएकी थिइन्।
सरफुद्दिन र मीरा बाल्यकालदेखिकै छिमेकी साथी पनि हुन्। घटनास्थलमा भेटिएको मीराको साडीलाई उनकी छोरीले सनाखत गरेकी थिइन्। सो दिन राति सरफुद्दिन मीराको घरमा पुगेको मीराकी छोरीले बयान दिएकी छन्।
सरफुद्दिनले पनि आफू सुतिरहेको अवस्थमा मीराले छुरीले घाँटी रेटेर छुरी लिएर भागेको बयान दिएका छन्।