PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

भान्जा अष्ट्रेलियामा, मिर्गौंला चितवनमा : हाइप्रोफाइल ‘र्‍याकेट’को यसरी भयो खुलासा



सविन ढकाल

भान्जा अष्ट्रेलियामा, मिर्गौंला चितवनमा : हाइप्रोफाइल ‘र्‍याकेट’को यसरी भयो खुलासा

काठमाडौं : चितवनस्थित कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) २०७६ जेठ २७ गते मिर्गौंलाको सफल प्रत्यारोपण भयो। ललितपुर महानगरपालिका वडा नम्बर ३ बस्ने ५५ वर्षीय पुरुषको शरीरमा नयाँ मिर्गौंला राखियो, त्यस दिन। अस्पतालको विवरण अनुसार आफ्नै भान्जाले उनलाई मिर्गौंला दिए र ज्यान जोगाए।

नयाँ मिर्गौंलासँगै नयाँ जीवन पाएका उनको शरीरमा गरिएको शल्यक्रिया भने यतिखेर भने चर्चित प्रकरण बन्न पुगेको छ। मिर्गौंला फेर्न गरिएको त्यो अप्रेसन सबैको स्मृतिमा पनि धुमिल हुने समय भए पनि एकाएक घटनाक्रमहरु सिनेमामा झै ‘रि प्ले’ हुन थालेको छ। झन्डै १३ महिनापछि एकाएक मिर्गौंला प्रत्यारोपण आलो बनेर बल्झिएको छ।

नक्कली भान्जा बनाएर गैरकानुनी रुपमा मिर्गौंला प्रत्यारोपण गराएको भन्दै मानव बेचबिखन व्यूरोको टोलीले प्रत्यारोपण गराउने चिकित्सकदेखि अन्य १२ जनालाई नियन्त्रणमा लिएपछि घटनाको पर्दाफास भएको छ - भान्जा बनाएर मिर्गौंला प्रत्यारोपण गराएका मानिस त नक्कली पो रहेछन्!

यही अभियोगमा प्रहरीले अस्पतालका प्रमुख डाक्टर सुप्रभात श्रेष्ठ, नोवेल अस्पतालका डाक्टर राकेश कुमार बर्मा, कलेज अफ मेडिकल साइन्स टिचिङ भरतपुरका कानुनी सल्लाकार रमेश काफ्ले, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, अस्पतालका चिकित्सक बालकृष्ण कालाखेतीदेखि ललितपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष गोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका कार्यालय सहायक रामकुमार केसी, खरिदार नवराज (हाल अवकास प्राप्त)सहित गरेर १२ जनालाई नियन्त्रणमा लिएको छ।

घटनामा प्रहरी पनि मुछियो। अर्घाखाँची दरबन्दी गएर प्रहरी अस्पतालमा काजमा रहेका प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल र निलम्बित प्रहरी नायव निरीक्षक योगेन्द्रराज थपलिया पनि यसमा तानिएका छन्।

अष्ट्रेलियमा भान्जा, मिर्गौंला झिकियो चितवनमा

२०७६ कार्तिक ३ गते बबरमहलस्थित मानव बेचबिखन अनुसन्धान व्यूरोमा एउटा बेनामी निवेदन आयो। निवेदनमा गैर कानुनी रुपमा मिर्गौंला प्रत्यारोपण भएकाले छानविन गरिपाउँ भन्ने विवरण उल्लेख थियो।

निवेदन आएको पाँच महिना अगाडि विशेष ‘सेटिङ’मा ललितपुरका ५५ वर्षीय पुरुषको मिर्गौंला प्रत्यारोपण भइसकेको थियो। ५५ वर्षीय पुरुषलाई आफ्नै भान्जाले मिर्गौंला दिएको चर्चा थियो।

पाँच महिना अगाडि चितवन मेडिकल कलेजमा भएको अप्रेसनमाथि नै प्रहरीको अप्रेसन सुरु गर्‍यो। मिर्गौंला प्रत्यारोपणका लागि भएका कागजी बन्दोबस्ती सबै झिकाइयो। कागजमा ललितपुर ३ बस्ने ५५ वर्षीय पुरुषलाई उनकै भक्तपुर बस्ने अन्दाजी ३० वर्षीय भान्जाले मिर्गौंला दिने उल्लेख थियो।

प्रहरीले अनुसन्धान गर्दा एउटा ‘क्लु’ फेला पार्‍यो। जुन क्लु अन्तिममा मेडिकल कलेजमा भएको गैर कानुनी धन्दाको पर्दाफास गर्न पर्याप्त आधार बन्यो। मानव अंग प्रत्यारोपणका लागि आफ्नो नाताभित्रकाले मात्र दान गर्न सकिने कानुनी प्रावधान छ। त्यसैले उनले भान्जाबाट मिर्गौंला लिने निर्णय गरेका थिए।

कानुनी रुपमा मामा भान्जाको नाता प्रमाणित अनिवार्य हुने भयो। ललितपुर महानगर वडा नम्बर ३ बाट वडा अध्यक्ष महर्जनले नै नाता प्रमाणित गरेका थिए। तर, चितवन मेडिकल कलेजमा बुझाएको नाता प्रमाणित पत्र नै अनुसन्धानमा जुटेका प्रहरीका लागि शंकाको आधार बन्यो।

वडामा गरिएको नाता प्रमाणितमा भान्जा भनिएका व्यक्तिको फोटोमा कालो टिसर्ट लगाएको देखिन्छ। तर, अस्पतालमा पुगेको नाता प्रमाणितमा रातो टिसर्टमा लगाएको देखियो। नाता प्रमाणित भएको व्यक्ति नै कसरी फरक पर्‍यो? त्यहीँबाट प्रहरीले अनुसन्धान सुरु गर्‍यो।

अनुसन्धान अझ रोचक मोडमा त्यतिखेर पुग्यो जतिखेर थाहा भयो - मामालाई मिर्गौंला दिने भनिएका भान्जा त सन् २०१६ देखि नै अष्ट्रलियामा बस्दै आएका रहेछन्।

'हामीले नाता हेर्दा उनी नेपाल आएको देखिएन। त्यसमाथि नाता प्रमाणिकरण गरिएका मानिस नै फरक भेटियो,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

प्रहरीले उनी अष्ट्रेलियामा भएको सबै प्रमाण संकलन भएपछि अपराधको घेराभित्रै शल्यक्रिया भएको बुझ्न प्रहरीलाई समय लागेन।

तर, प्रहरीले घटनाका थप तथ्य बटुल्नेक्रम जारी राख्यो। प्रहरीको हातमा अर्को तथ्य पनि लाग्यो - अस्पतालमा पेश भएको नागरिकता र मिर्गौंला दाताको नागरिकता। एकै व्यक्ति दुई नागरिकता!

फरक हुँदाहुँदै जिल्ला प्रशासन कार्यालय चितवनले रुजु गरेको कागजमा मिलेको देखियो। प्रजिअ कार्यालयका अधिकृत रामचन्द्र ढकालले नागरिकता मिलेको भन्ने लिखित जानकारी अस्पताललाई दिएका थियो। आखिर नागरिकतामा फरक देख्दादेख्दै कसरी मिल्यो? यही प्रश्नलाई आधार देखाएर प्रहरीले अधिकृत ढकाललाई नियन्त्रणमा लिएको छ।

२०७६ जेठ २३ गते अस्पतालले नाता प्रमाणित भएको हो कि होइन भन्ने जानकारी लिन ललितपुर महानगरपालिका बडा नम्बर ३ को कार्यालयमा पत्राचार गरेको छ। वडा अध्यक्ष महर्जनले पनि त्यसलाई सक्कली भएको जनाउँदै फर्वाड गरेका छन्।

'नक्कली देख्दादेख्दै उहाँले किन ठिक छ भन्नु भयो? त्यो पत्र लिएर एउटा अग्लो कदको मानिस नै वडामा पुगेको देखिएको छ। उनी को हुन् भन्ने खोज्दैछौं,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

कीर्तेलाई सदर गरेको अभियोगमा वडा अध्यक्ष महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर, अस्पतालले फेरि वडामा कागजपत्र पठाएको ठिक छ कि छैन किन भन्यो? सेटिङमा नै काम गरेको भए यो बाँकी प्रकृया किन देखाउन खोज्यो? यसको जवाफ प्रस्ट छैन।

सबै प्रकृया मिलेपछि जेठ २६ गते कागजी प्रक्रिया पूरा भयो। मिर्गौंला प्रत्यारोपणका लागि अस्पतालको समितिले निर्णय लियो। ५५ वर्षीय पुरुष २० गते नै अस्पताल भर्ना भइसकेका थिए।

'अस्पतालमा बुझाएको कागजपत्र नक्कली देखिन्छ। यो सेटिङमा भएकाले नियन्त्रणमा लिएका हौं,' व्यूरोका एसपी गोविन्द थपलियाले भने।

व्यूरोले अस्पतालले समेत नक्कली कागजपत्र खडा गरी विदेशमा रहेको व्यक्तिको विवरण प्रयोग गरी तेस्रो व्यक्तिको शरीरबाट मिर्गौंला झिकेको अभियोग छ।

कसरी पुगे एजेन्टसम्म ?

५५ वर्षीय पुरुषको मिर्गौंलाले काम गर्न छाडेपछि उनकै दिदी बहिनी आफ्नो मिर्गौंला दिन तयार थिए। तर, उनीहरुको मिर्गौंला प्रत्यारोपणका लागि ‘म्याचिङ’ भएन। त्यसपछि उनीहरु ज्यान जोगाउन एजेन्टको शरणमा पुगे।

भक्तपुरको जगाती बस्ने रेश्मा राईको चिनजान झापा कन्काई नगरपालिका घर भएका ३८ वर्षीय योगेन्द्रराज थपलियासँग थियो। थपलिया निलम्बनमा परेका प्रहरी नायव निरीक्षक (सई)। महाराजगंजमा केही समय अगाडि भएको मिर्गौंला प्रत्यारोपणकै प्रकरणमा संलग्न भएको भेटिएपछि उनी निलम्बनमा परेका हुन्। उनी आफैँ मिर्गौंलाका रोगी समेत हुन्।

उनकै पनि मिर्गौंला प्रत्यारोपण गरिसकिएको खुलेको छ। पाँच वर्ष अघि उनको मिर्गौंला प्रत्यारोपण भएको थियो। त्यस्तै, अर्का प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल पनि मिर्गौंला प्रत्यारोपण गरिसकेका ब्यक्ति। उनीहरु दुवै यो र्‍याकेटका एजेन्ट बनिसकेका रहेछन्। एकातिर आफैँ मिर्गौंलाका भुक्तभोगी, अर्कोतिर सबै प्रकृयाबारे जानकार।

नक्कली कागजपत्रदेखि अस्पतालका चिकित्सक समेतलाई सेटिङ मिलाउने भूमिकामा उनीहरु नै देखिएको व्यूरोका एक प्रहरीले जानकारी दिए।

'उनीहरु आफैंले मिर्गौंला प्रत्यारोपण गरेकाले धेरै कुरा थाहा रहेछ। एउटा प्रहरी त यसअघि यस्तै धन्दामा समेत मुछिएका हुन्,' अनुसन्धानमा खटिएका ती अधिकृतले सुनाए। मिर्गौंलाबाट आफैँ पीडित भइसकेका उनीहरुलाई यसको बिचौलिया बन्दा हुने आम्दानीबारे पर्याप्त जानकारी हुने नै भयो।

उनीहरुले १० लाख रुपैयाँ लिएर सम्पूर्ण कागजपत्र तयार पारे। उनीहरुले नै डाक्टर राकेश वर्मासँग सम्पर्क गराएर विरामीलाई चितवन पठाएका हुन्। डाक्टर राकेश वर्माको सल्लाहमा नै चितवनमा प्रत्यारोपण गर्ने निर्णय भयो।

व्यूरोले गरेको अनुसन्धानमा मिर्गौंला प्रत्यारोपणका लागि २८ लाख रुपैयाँ भन्दा बढी खर्च भएको देखिएको छ। कलेज अफ मेडिकल साइन्स टिचिङ हस्पिटल भरतपुरको प्रमुख संचालक डाक्टर सुप्रभात श्रेष्ठको प्रहरीसँग नाता नै छ। उनी अवकाशप्राप्त एक डीआइजीका छोरा हुन्। ती डीआइजी जसले आइजीपीको रेसमा पछि परेपछि पदबाट राजीनामा दिएका थिए। किड्नीको यो कारोबारको र्‍याकेट चलाइरहँदा डाक्टर श्रेष्ठ बढी नै आत्मविश्वासी देखिनुमा उनको पृष्ठभूमिले साथ दिएको देखिन्छ। बाबुमात्र होइन, डाक्टर श्रेष्ठ पनि केही महिना अगाडि अवकाश पाएका आइजी सर्वेन्द्र खनालसँगै प्रहरी निरीक्षकमा भर्ना भएका थिए। तर, बुबाले राजीनामा दिएपछि उनले तालिम पूरा गरे पनि प्रहरीमै चाहिँ रहन चाहेनन् र चिकित्सकीय पेशालाई निरन्तरता दिइरहे।

एउटा अज्ञात व्यक्तिबाट मिलेको उजुरीले हाइ प्रोफाइलहरुको मानव अंग तस्करीको र्‍याकेट खुलेको छ। जनप्रतिनिधि, चिकित्सक, सरकारी कर्मचारी र प्रहरीसमेत जोडिएको यो घटना कतै ‘टीप अफ आइसवर्ग’ त होइन? प्रहरीसँग पनि यसको उत्तर छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell