PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

बाढीपहिरोमा उद्धार र राहतका लागि भन्दै स्थायी कमिटी बैठक एक साता स्थगित, तर अधिकांश नेता काठमाडौंमै, प्रचण्ड भने चितवनमा



कुञ्जरमणि भट्टराई

बाढीपहिरोमा उद्धार र राहतका लागि भन्दै स्थायी कमिटी बैठक एक साता स्थगित, तर अधिकांश नेता काठमाडौंमै, प्रचण्ड भने चितवनमा

काठमाडौं: लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरोले बितण्डा मच्चाउन थालेपछि राहत र उद्धारमा खट्न भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटीलाई एक हप्ता छुट्टी दियो।

असार २६ गते प्रवक्ता नारायणकाजी श्रेष्ठले देशभर भइरहेको वर्षाका कारण सिन्धुपाल्चोकलगायतका केही जिल्लामा जनधनको क्षति भएको उल्लेख गर्दै राहत र उद्धारमा जुट्न स्थायी कमिटी बैठक स्थगित भएको जानकारी दिएका थिए।

लिखित निर्देशन छैन पार्टीको

स्थायी कमिटी बैठक स्थगित भएपनि बाढी पहिरोले पुर्‍याएको क्षतिमा राहत र उद्धारमा जुट्न भन्दै पार्टी केन्द्रबाट कुनै लिखित निर्देशन भने दिइएको छैन।

केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले कुनै पनि निर्देशन नपठाइएको जानकारी दिए।

'लिखित रुपमा निर्देशन त पठाइएको छैन। प्रधानमन्त्रीले सम्बोधनमार्फत भन्नुभएको छ। अर्का अध्यक्षले पनि अपिल गर्नुभएको छ,'उनले भने।

पार्टी नेताहरुले बाढीपहिरो प्रभावित क्षेत्रमा आफ्नो तर्फबाट सन्देश प्रवाह भने गरिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै राहत र उद्धारमा जुट्न आग्रह गरिसकेका छन्।

'जहाँ विपद् र विपत्ति आइलागेको छ, त्यहाँ सरकारका तिनवटै तह, जनप्रतिनिधिहरु, राजनीतिक नेता, कार्यकर्ताहरु एकजुट भएर संभव सबै प्रकारका उद्दार, सहयोग र तत्काल उपचारको कामलाई प्रभावकारी रुपमा अघि बढाइहाल्नु पर्दछ, प्रधानमन्त्रीले भनेका छन्, 'म यहाँहरु सबैलाई सम्बन्धित स्थानमा उद्दार कार्यमा जुट्न र आफ्ना दाजुभाइ दिदीबहिनीहरुको सहयोगमा केन्द्रीत हुन विशेष आह्वान गर्न चाहन्छु।'

बाढीपहिरो लगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आधिकारिक फेसबुक पेजमार्फत उद्धार र राहतमा जुट्न अपिल गरेका थिए।

त्यस्तै पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पनि एक विज्ञप्ति जारी गर्दै बेपत्ता भएकाहरुको खोजी कार्यमा तीव्रता दिन र राहतलाई प्रभावकारी बनाउन आह्वान गरे।

प्रचण्ड पुगे चितवन, अरु नेताहरु ?

नेकपा अध्यक्ष प्रचण्ड शनिवार गृहजिल्ला चितवन पुगेका छन्। प्रचण्ड जिल्लामा बाढीपहिरोको अवस्थाबारे जानकारी लिन चितवन गएका हुन।

उनले शनिवार भरतपुर महानगरपालिका २७ र २८ को सिमाना निउरेमा नारायणी नदीले कटान गरेको क्षेत्रको अवलोकन गरे। अध्यक्ष प्रचण्डले तटबन्धनको काम प्रभावकारी तरिकाले सम्पन्न गर्न निर्देशन दिए। सो क्षेत्रमा नदीले ४ मिटर कटान गरिसकेको छ भने तटबन्ध निर्माणको कार्य पनि भइरहेको छ।

उनले माडी नगरपालिकाको बाढी प्रभावित विभिन्न क्षेत्रको पनि निरीक्षण गरेका छन।

गृहनगर पुगेका प्रचण्डले आइतवार बिहान प्राकृतिक प्रकोप, बाढि-पहिरो पिडितहरुको समस्याका बारेमा छलफल, सम्बोधन एवं यथाशिघ्र पहलका लागि चितवन स्थित जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय जनप्रतिनिधि तथा सुरक्षा निकायहरूलाई निर्देशन समेत दिएका छन्।

अन्य स्थायी कमिटीका धेरैजसो नेताहरु काठमाडौंमा नै छन्। स्थायी कमिटीमा रहेका प्रदेशका मुख्यमन्त्रीहरु भने कार्यक्षेत्र पुगिसकेका छन्।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेशकै आर्थिक मामिला मन्त्री किरण गुरुङ आफ्नो कार्यक्षेत्रमा पुगेका छन्।

नेकपा अनुशासन आयोगका अध्यक्ष तथा स्थायी कमिटीका आमन्त्रित सदस्य अमृत बोहोरा सिन्धुपाल्चोकको जम्बु बाढीबारे जानकारी लिन जाने तयारीमा छन्।

म्याग्दी पहिरोबारे जानकारी लिन जाने तयारीमा गुरुङ

गण्डकी प्रदेशको म्याग्दी, कास्की, लमजुङलगायतका क्षेत्रमा पहिरो गएको छ। स्थायी कमिटी सदस्य तथा मुख्यमन्त्री गुरुङ म्यादीको पहिरोको अवस्था र पीडितहरुलाई राहत पुर्‍याउन जाने तयारीमा छन्। उनी सोमबार प्रभावित क्षेत्रमा पुग्ने तयारीमा छन्।

प्रदेश सरकारले पीडितलाई राहतका लागि हाललाई अस्थायी टहरा बनाउने तयारी गरिरहेको छ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान र मुख्यमन्त्री गुरुङले बाढी पहिरो क्षेत्रको अनुगमन गरेकाले आफू उक्त क्षेत्रमा नपुगेको बताए।

'सबै जना जाने कुरा भएन। मुख्यमन्त्री र आन्तरिक मामिलामन्त्री पहिरोग्रस्त क्षेत्रमा पुगिरहनु भएको छ' उनले भने।

यता लमजुङका सांसद समेत रहेका देव गुरुङले कार्यव्यस्तताका कारण आफू काठमाडौंमा नै रहेको बताए।

उता, स्थायी कमिटी सदस्य गणेश साह पनि काठमाडौं छन्। आफ्नो समस्याका कारण राहत र उद्धारमा खटिन नसकेको उनको गुनासो छ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु र भोटेकोशी गाउँपालिकामा गएको बाढीपहिरोबारे जानकारी लिन प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा बिहीवार नै प्रभावित क्षेत्रमा पुगे।

पहिरोपछि वाग्मती प्रदेशका मन्त्रीका साथै सत्तारुढ र विपक्षी दलका नेताहरु समेत प्रभावित क्षेत्र पुगेका छन्।

नेकपा विवाद थोरै मत्थर

केपी शर्मा ओली र पुष्पकमल दाहालबीच वारपारको अवस्था रहेको बेला बाढीपहिरोले दिएको 'छुट्टी'ले नेकपामा आउन लागेको 'आन्तरिक बाढी'लाई भने केही समय रोकेको विश्लेषण नेताहरुको छ।

स्थायी कमिटी बैठकमा पार्टी प्रधामन्त्री ओलीको राजीना मागिएपछि विभाजनको संघारमा पुगेको नेकपाको एकता जोगाउने जिम्मेवारी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो।

उत्कर्षमा पुगेको किचलोलाई साम्य बनाउन होमवर्कका लागि अहिले नेताहरुले यो समयको सदुपयोग गरिरहेका छन्।

कोरोनाले रोक्न नसकेको नेकपाको आन्तरिक किचलोलाई बाढी पहिरोले भने केही हदसम्म सेलाएको छ। शीर्ष नेतादेखि दोस्रो तहका नेताहरुले सुरु गरेको छलफल समेत अहिले बन्द जस्तै छ। यद्यपि, पार्टी फुटबाट जोगिएको विश्लेषण नेकपा खेमामा हुन थालेको छ। नेताहरु पनि पार्टी विभाजनबाट जोगिएको सन्देश दिन थालेका छन्।

दुई अध्यक्ष गत बुधवार यता भेट हुन सकेको छैन। केहीदिन लगातार दुवै अध्यक्षबीच भएको एक्लाएक्लै वार्ता सकारात्मक भएको बताइएको छ। तर सहमति जुट्न सकेको छैन। दुवै अध्यक्ष आआफ्नो अडानमा कायमै देखिन्छन्।

दुवै नेताबीच शनिवार पनि भेट्ने कार्यक्रम तय थियो। तर बाढी पहिरोपछि ओलीसँग भेट्ने कार्यक्रम सल्लाहमा नै स्थगित गरी प्रचण्ड चितवन लागेका थिए। प्रचण्ड फर्किएपछि दुवै नेताबीच नेकपाको भविष्य बारे निर्णायक छलफल हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell