PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

झापामा बाढी : एकको मृत्यु, एक बेपत्ता, ७४९ जना विस्थापित



रासस

झापामा बाढी : एकको मृत्यु, एक बेपत्ता, ७४९ जना विस्थापित
प्रतीकात्मक तस्बिर (रासस)।

भद्रपुर : झापामा अविरल वर्षापछि कनकाइलगायतका नदीमा आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ। त्यस्तै, एक जना बेपत्ता भएका छन् भने ७४९ जना विस्थापित भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार विरिङ नदीमा नुहाउन गएका झापा गाउँपालिकाका–५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको छ। त्यस्तै, भद्रपुर-३ का ३३ वर्षीय हिरण राई मेची नदीमा नुहाउँदा बगेर बेपत्ता भएका छन्।

पछिल्लो जानकारीअनुसार कनकाइ नदीमा आएको बाढीले झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिकाका ७४९ जना घर डुबानमा परेका कारण विस्थापित भएका छन्। कनकाइ नदीमा जलसतह बढेर आज सतर्कता नजिक पुगेको छ भने अरु नदीमा पनि बाढी आएको छ।

झापा गाउँपालिकाको कुमरखोदमा कनकाइको बाढीले डुबानमा परेका ११४ घरका ५५० जनालाई नेपाल रेडक्रस, गाउँपालिका र प्रहरीको सहयोगमा उद्धार गरी शितुमारी प्रावि र जुडो प्राविमा सेल्टर बनाएर सुरक्षित रुपमा राखिएको छ।

यसैगरी, गौरीगञ्ज गाउँपालिकामा कनकाइको बाढी बढ्न गई झिलझिलेमा ४३ घरका १५० जना, शिवसताक्षीको शिवगञ्जका सात घरका २९ जना र झोडाबस्तीका दुई घरका १४ जनालाई उद्धार गरी स्थानीय सेल्टरमा सारिएको छ। 

मेचीनगर–७ को पालिया खोलाको बाढी घरभित्रै पसेपछि नौ घरका ४२ जनालाई प्यारीभिट्टास्थित बसपार्कको कोठामा सारिएको छ। बाढीको कहर शुरु भएपछि झापामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना नेपाल रेडक्रस सोसाइटी र स्थानीय तह विपद् व्यवस्थापन र उद्धारमा आपसी समन्वय गर्दै जुटिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell