PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

किन गइरहन्छ नेपालमा पहिरो? भूकम्पको पहिरोसँग के छ नाता?



पहिलोपोस्ट

किन गइरहन्छ नेपालमा पहिरो? भूकम्पको पहिरोसँग के छ नाता?

काठमाडौं : केहीदिन यतादेखि देशभर बदलीका कारण निरन्तर वर्षा भइरहेको छ। अत्याधिक वर्षासँगै धेरै स्थानमा बाढी पहिरो गइरहेको छ। जसबाट धेरै जनधनको क्षति भएको छ। वर्षायाममा हरेक वर्ष बाढीपहिरोको समस्या देखिने गर्छ। यता सरकार भने पहिरो बाढी नियन्त्रणका लागि प्रयास गरिरहेको दाबी गर्दै आएको छ।

तर, पहिरोविद् सुबोध ढकाल भने नेपालमा पहिरोका लागि पूर्व तयारी नै नगरिएको बताउँछन्। राहत र उद्दारमा मात्रै केन्द्रित विपदको पूर्व तयारीले नेपालमा वर्षेनी थुप्रैले ज्यान गुमाउनु परेको ढकालको तर्क छ। प्राकृतिक कारणले मात्र नभइ नेपालमा मानवीय कारणले समेत पहिरोले ठूलो विपद निम्ताएको र अबका दिनमा पनि त्यसले झन ठूलो रुप लिनसक्ने ढकालको भनाई छ।

नेदरल्याण्डबाट भौगर्भिक इन्जिनियरिङमा स्नातकोत्तर गरेका ढकालले जापानको साइतामा विश्वविद्यालयबाट पहिरो तथा जियोमेकानिक्समा पीएचडी गरेका छन्। हाल त्रिभुवन विश्वविद्यालयको भूगर्भशास्त्र विभागमा उनी सह प्रध्यापक हुन्।

चुरे क्षेत्रमा पहिरोको अध्ययन गरेका ढकाललाई पहिलोपोस्टका प्रकाश भण्डारीले यसै विषयमा केन्द्रित रहेर प्रश्न गरेका छन्।

नेपालमा पहिरो गएर वर्षेनी धेरै मान्छेको मृत्यु हुन्छ, मुख्य कारण के-के हुन्?

हामीले विपदका क्षेत्रमा तीनवटा पाटाका बारेमा छलफल गर्छौं। विपद पूर्व, विपदको बेला र विपद पछिको भनेर भन्छौं। यही आधारमा अध्ययन अनुसन्धान भएर बढी जोखिम भएका ठाउँको पहिचान गरेर पूर्व तयारी गर्नुपर्ने हो। त्यस्ता ठाउँमा भएका बस्तीलाई अस्थायी र स्थायी रुपमा स्थानान्तरण गर्नुपर्छ। त्यस्तो नगर्दा वर्षेनै पहिरो गइरहेको छ। त्यसको मुख्यकारण भनेकै पूर्व तयारीको अभाव नै हो।

त्यसो भए पूर्व तयारी नभएकै कारण पहिरो गइरहेको छ र त्यसबाट जनधनको क्षति भइरहेको छ ?

पहिरो रोक्न अध्ययन अनुसन्धान गरेर काम गर्नुपर्छ। सरकारले तत्काल जोखिमयुक्त क्षेत्रको पहिचान गरेर अनुसन्धान गर्नुपर्छ।

मैले कता कता सुनेको छु, सरकारी निकायले अहिले कम जोखिम क्षेत्रमा पहिरो गयो भनेर भनिरहेका छन्। यदि त्यसो हो भने उहाँहरुले गर्नुभएको अध्ययन अनुसन्धानमा कुनै कमजोरी भएको जस्तो लाग्छ। उहाँहरुले जे जसरी जोखिमयुक्त क्षेत्रको पहिचान गर्नु भयो त्यो नै गलत छ कि? या त अध्ययन अनुसन्धानबिनै यसरी भन्नु भएको हो?

हुन त विपद प्राधिकरण गठन भएको पनि धेरै समय भएको छैन। त्यसले राम्ररी काम गर्नै पाएको छैन। यसमा मुख्य गरी दुईवटा कुरा छन् - एक उहाँहरुको कि अध्ययन नै राम्रो भएन । अर्को अध्ययन बिनै भनेकाले अहिलेको पहिरो सरकारले अनुमान गरेभन्दा फरक ठाउँमा गएको हो।

पहिरो प्राकृतिक कारणका साथसाथै मानवीय कारणले पनि जान्छ। यसबाट हुने क्षति कम हुने नहुने कुनै पनि देशको सरकार तथा नागरिकले गर्ने तयारीमा निर्भर गर्छ।

त्यसो हो भने सरकारले जोखिमयुक्त क्षेत्र पहिचान गरेकै गलत छ। सरकार सँग राम्रो अध्ययन नै छैन?

विपद प्राधिकरणसँग यो यो ठाँउमा बढी सम्भावित जोखिम छ भन्ने वैज्ञानिक तरिकाको डाटा छ जस्तो मलाई लाग्दैन। उहाँहरुले सिन्धुपाल्चोक लगायतका ठाँउमा पहिरो नजानुपर्ने ठाउँमा गयो या भनौं जोखिम नभएको ठाउँमा गयो भनेर के आधारमा भन्नुभयो? त्यो कुरामा मलाई विश्वास छैन्।

सामान्यतया खोला किनार, पहिरो गइरहने ठाउँमा जोखिमको पूर्व मूल्यांकन गर्न अध्ययन नै गर्नुपर्छ र?

सरकारले जोखिमयुक्त क्षेत्रको अध्ययन गरेको छ भने त्यसबाट हुन सक्ने क्षतिलाई रोक्न सकिन्थ्यो। सबै ठाउँको राम्रो तथ्यांक छ भने किन कार्यावन्वय गर्नु भएन त? त्यो त उहाँहरुकै कमजोरी हो।

अर्को कुरा जोखिम छ छैन भनेर खाली हेरेर मात्रै भन्दा पनि देशभरीकै एकीकृत ढंगले अध्ययन गरेर कम र बढी जोखिम भएको ठाउँ छुट्टाउनु पर्छ। त्यसो गरिएमा वर्षेनी हुने मानवीय क्षति कम गर्न सकिन्छ नभए एक दुई ठाउँमा काम गरे जस्तो गरेर केही हुन्न।

म एउटा उदाहरण दिन्छु। अहिले हाम्रो देशमा कुनकुन नदीको बाहव बढदै छ? कहाँ डुबान हुन सक्छ भन्ने त दुई चार दिन अगाडि थाहा हुने कुरा हो।

थाहा भएपछि त्यस्तो ठाउँका मानिसलाई अगाडि नै शतर्क गराउन सकिन्छ। नभए मनुसुन सुरु भएपछि त उनीहरुलाई सार्न सकिन्छ। त्यो त गरिएको छैन। त्यसैले एकीकृत प्लान चाहिन्छ।

अर्को सबै कुराको राम्रो जानकारी छ भने कसले भनेको कुन निकायले मान्ने भन्ने लफडा पनि होला सायद। त्यसले पनि कार्यान्वयन नभएको हो कि।

मानिसहरु आफै पनि पहिला पहिरो गएको तथा जोखिम युक्त खोला किनारमा बस्छन्। नागरिक आफैले पनि सचेत छैनन् , उनीहरुले पनि पूर्व तयारी नगरेका हुन्?

मान्छेले आफूसँग जे उपलब्ध छ, जस्तो स्रोतसाधन छ त्यही अनुसारको काम गर्छ। तर, यसलाई रोक्ने त राज्यले हो नि।

यस्तो हुनुको केही कारण छन्। उनीहरुसँग अन्त जग्गा नै छैन। खोलाको बगरमा बसे कसैलाई पैसा तिर्नु परेन। अर्को भनेको व्यापार व्यवसाय गर्न पनि मानिसहरु त्यहाँ बसिरहेका छन्।

विपदको काम भनेकै एउटा निकाय वा एकजना व्यक्ति वा सरकार एक्लैले गरेर हुने काम पनि होइन। यसमा सबै पक्षको ध्यान जानैपर्छ। नभए अहिलेको जस्तो विपद हुुँदै गर्छ। त्यसैले सबैकुरा छोडेर पनि हामीले जोखिमयुक्त स्थानका व्यक्तिलाई जोखिम रहित स्थानमा सार्नु पर्छ।

नेपालमा जुन हिसाबले विकास निर्माणका काम हुन्छन् त्यसले पनि होला नि पहिरो लगायतका प्राकृतिक प्रकोप निम्तने?

जहाँजहाँ विकास निर्माणको काम भएको छ, धेरैजसो स्थानमा विपद् निम्तिएको छ। अरु देशमा कुनै पनि आयोजना संचालन गर्दा पहिरोबाट हुने क्षतिको अध्ययन गर्नु अनिवार्य हुन्छ। त्यो आयोजनाले विपदको पनि जिम्मा लिनपर्ने हुन्छ।

हाम्रोमा डोजरले मनलाग्दी खनेर पहिरो आउँदा पनि त्यसको जिम्मेवारी कसले लिने भन्ने नै स्पष्ट छैन। विकास निर्माणका काम गर्दा वातावरण केन्द्रमा नराख्नुको परिणाम हो यो। भू उपयोग नीति तथा घर निर्माण गर्दा मापदण्ड जुन अपनाउनु पर्ने हो त्यसको कार्यान्वयन पनि राम्ररी हुँदैन अर्को कारण त्यो पनि हो।

भूकम्पले सिन्धुपाल्चोक लगायतको ठाउँमा धेरै क्षति भएको थियो। अहिले बाढी पहिरोको क्षति पनि त्यहीबाटै सुरु भयो। यसको कनेक्सन केही छ कि संयोग मात्र हो?

अहिले गएको धेरैजसो पहिरोलाई हेर्दा के देखिन्छ भने पहिला नै ठूल्ठूला पहिरो गएको ठाउँमा फेरि पहिरो गइरहेको छ। पहिला पहिरो गएको ठाउँमा मान्छेले बस्ती विकास गरे। त्यसैकारण क्षति बढि हुने गरेको छ।

मानिसहरु पहिला पहिरो गएको ठाउँमा किन बस्छन् भन्दा अलि भिरालो भएको ठाउँलाई पनि पहिरोले कतिपय ठाउँमा सम्म बनाउने सम्मका घटना हुन्छन्। तर, मानिसहरुलाई पहिरो गएर यो ठाउँ सम्म भएको हो भन्ने त थाह हुँदैन। पहिरो गएर बनेको ठाउँमा विभिन्न कारणले खेतिपाती पनि राम्रो हुन्छ।

यसबारेमा मैले पूर्ण अनुसन्धान गरेको छैन। तर, अहिले पनि जहाँसम्म सिन्धुपाल्चोक र म्याग्दीको पहिरोको कुरा छ ती ठाउँमा पहिला पनि ठूलो पहिरो गएको हुनसक्छ। त्यसैले अहिले फेरि पहिरो गएको हो।

त्यहाँ अर्को के पनि देखियो भने खोलाको नजिकै घर बनाएर बसेको पनि देखियो। एउटा गाउँमा जंगलको बीचबाट पहिरो सुरु भएको छ। त्यहाँ पहिरोमा पानी देखिँदैन। सायद् त्यो जंगलमा भूकम्प जाँदा चिरा परेको थियो। भूकम्प गएपछि पनि हाम्रोमा राम्रोसँग अध्ययन भएन। त्यो बेला जमिनामा चिरा पेरर थिलथिलो भएको जमिनमा अहिले पहिरो गएको पनि देखिन्छ। कतिपय ठाँउमा त्यतिबेला खाल्डा परेका थिए। हामीले त्यो बेला व्यवस्थित ढंगले पुर्न सकेनौं। पानी जमिनमा पस्यो र त्यसले पनि पहिरो निम्ताएको हो।

भूकम्पका कारण पनि पहिरो गएको हो?

सिन्धुपाल्चोकको हकमा सबै पहिरो भूकम्पकै कारणले नगएको भए पनि कम्तिमा एउटा पहिरो भूकम्पका बेला बनेको चिराका कारण पनि गएको हो। त्यो बेला जमिन थिलथिलो भएको थियो। जमिन हल्लियो भने कमजोर बन्छ। त्यसकारण पनि हो।

म्याग्दीमा हेर्ने हो भने तल माथि पहिरो र बीचमा गाउँ छ। यसले के देखाउँछ भने माथिल्लो भागमा पानी भूकम्पका कारण जमिनमा पस्दा पहिरो गएको हुन सक्छ।

भूकम्पले कमजोर बनाएको जमिन तथा जोखिम बढि भएको ठाउँमा पहिरो जाने सम्भावना धेरै हुने भयो?

यो कुरा पानीको मात्रा र समयले पनि पहिरो निर्धारण हुन्छ। पानी धेरै पर्न थाल्यो भने अवश्य पनि पहिरोको जोखिम धेरै हुने नै छ। जोखिमयुक्त क्षेत्र पहिचान गर्दै मानिसहरुलाई स्थानान्तरण नगर्ने हो भने ठूलो मानवीय क्षति हुने सम्भावाना हुन्छ।

मानव बस्तीको कारणले पनि पहिरो जानसक्छ। मानिसहरुले पानीको बहावको दिशा परिवर्तन गर्ने,नदी थुन्ने, पानीको निकासमा अवरोध गर्ने गरेको देखिन्छ। सबै जमिन कंक्रिटले छोप्दा पानी जमिन मुनि जान पाउँदैन। त्यसबाट नि खतरा हुन्छ।

तत्कालै पहिरोबाट हुने क्षतिलाई कम गर्न के गर्नु पर्ला?

अहिले आएर धेरै कुरा गर्न सकिन्छ भन्ने त मलाई लाग्दैन। तर अब खोला किनार तथा जोखिम पहिचान भएका क्षेत्रका बस्दै आएका बासिन्दा बीचमा राम्रो कम्युनिकेसन गर्ने वातावरण बनाउन सकिन्छ।

खोला तथा नदीको माथिल्लो तटीय क्षेत्रका बासिन्दाले तल्लो तटीय क्षेत्रमा मोबाइलमा एसएमएस गरेर सचेत गराउन सक्छन्। यसले बाढी पहिरोबाट हुने क्षति केही कम हुनसक्छ। तर, वैज्ञानिक अध्ययन गरेर जोखिम युक्त र जोखिम रहित क्षेत्र छुट्याएर त्यही अनुसारको योजना नबनाएसम्म पहिरो तथा बाढी गइरहन्छ, क्षति भइरहन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell