PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

दुई हप्तादेखि उठेन फोहर, तलब नपाउँदा हड्तालमा उत्रिए कर्मचारी



पहिलोपोस्ट

दुई हप्तादेखि उठेन फोहर, तलब नपाउँदा हड्तालमा उत्रिए कर्मचारी

विराटनगर : विराटनगर महानगरपालिका क्षेत्रभित्र फोहरमैला व्यवस्थापनको ठेक्का लिएको वेस्ट म्यानेजमेन्ट ग्रुपले दुई हप्तादेखि फोहर उठाएको छैन।

समयमा तलब र पारिश्रमिक नपाएको भन्दै ग्रुपका कामदारहरू हड्तालमा उत्रिएपछि फोहमैला उठ्न नसकेको हो।

विराटनगरमा दैनिक २ सय मेट्रिक टन फोहर उत्पादन हुन्छ।

वेस्ट म्यानेजमेन्टले फोहर नउठाएपछि महानगरवासीहरू बोरामा फोहर पोको पार्दै सडकका किनार वा च्यापमा फ्याल्दै गर्न थालेका छन्।

वेस्टका सञ्चालक देवीप्रसाद आचार्यका अनुसार महानगरले जेठ महिनाको भुक्तानी असारको अन्तिम सातासम्म पनि नदिएका कारण कामदारलाई तलबभत्ता दिन नसकिएको हो।

'महानगरले भुक्तानीमा सधैँ झुलाउँछ, कहिल्यै समयमा भुक्तानी पाइँदैन’, सञ्चालक आचार्यले भने, ‘जेठको भुक्तानी अहिलेसम्म पाएका छैनौँ । जबकि सम्झौताअनुसार ७ गतेभित्र भुक्तानी पाइसक्नु पर्ने हो।’

फोहर व्यवस्थापन गरेवापत महानगरले वेस्टलाई मासिक ११ लाख ४० हजार रुपैयाँ दिनुपर्ने शर्त छ। वेस्टले आफ्ना कर्मचारीलाई पारिश्रमिकबापत मासिक २२ लाख रुपैयाँ वितरण गर्छ।

'नपुग रकम घरघरमा ग्राहक बनाएर सङ्कलन गरिरहेका छौँ’, आचार्यले भने, ‘तर महानगरले नै नदिएपछि आधा कामदार पारिश्रमिकबाट वञ्चित छन्।’

वेस्टले २०७३ जेठ १ गतेदेखि महानगरको फोहरमैलाको व्यवस्थापन सम्हालेको हो। व्यवस्थापनको अवधि २०७८ वैशाख मसान्तमा सकिन्छ।

वेस्टले फोहरको व्यवस्थापनका लागि महानगरमा २५ वटा ट्रयाक्टर र २० वटा रिक्सा परिचालन गरेको आचार्यले जानकारी दिए।

उनले भने, ‘आवश्यकताअनुसार स्काभेटर र डोजर पनि भाडामा ल्याएका सञ्चालन गरिरहेका छौँ।’

महानगरका कार्यकारी अधिकृत इन्द्रमणि पोखरेलले वेस्ट म्यानेजमेन्टले समयमा बिल पेश नगरेका कारण जेठ महिनाको भुक्तानी नपाएको बताए।

‘हामीले असारको पनि बिल ल्याउन भनेका हौँ, किनकि क्लोजिङको बेला छ’, अधिकृत पोखरेलले भने, ‘तर उहाँहरूले जेठको पनि ल्याउनु भएको छैन। फाइनल बिल नआई भुक्तानी गर्न सकिन्न।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell