PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

१४ वर्षदेखि विलभले शरीरमा बोकेर हिँडेको चोट, धमिलो स्मृतिले जब पक्राउ परे आमा-बाबुका 'हत्यारा'

१४ वर्षदेखि विलभले शरीरमा बोकेर हिँडेको चोट, धमिलो स्मृतिले जब पक्राउ परे आमा-बाबुका 'हत्यारा'

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौँ: सीतापाइलामा सुवेदी परिवार आफ्नै धुनमा खाना खाएपछि सुत्ने तरखरमा थियो। करिब पौने ९ बजे कसैले ढोका ढकढक्यायो। लगातार आवाज आवाज आएपछि सानु सुवेदीले ढोका खोलिन्। लगत्तै दुई युवा घरभित्र छिरे। उनको मुख थुने र खुकुरीले हान्न थाले। ४४ वर्षीया सानु रक्ताम्मे भएर ढलिन्।

त्यसपछि उनीहरु अर्को कोठातिर लागे। कोठाभित्र थिए ४५ वर्षीय नातिकाजी। सानुलाई जस्तै उनीमाथि पनि आइलागे। उनी पनि त्यहीँ ढले। सुवेदी दम्पत्ति दुईतिर ढलिसकेका थिए। यी सबै घटना देखिरहेका १५ वर्षीय जेठा छोरा विलभले प्रतिकार गरे। १२ वर्षीय कान्छा छोरा चाहिँ कोठाभित्र चुकुल लगाएर बसिरहेका थिए। प्रतिकारमा उत्रिएका विलभमाथि पनि खुकुरी प्रहार भयो।

घटनास्थलमै सुवेदी दम्पतीको ज्यान गयो। विलभ घस्रिएर बाहिर निस्किए र भागे। चार जनाको परिवारमध्ये दुई जनाको हत्या। एक जना गम्भीर घाइते। वीर अस्पतालमा विलभको उपचार भयो। कोठाभित्र रहेका कान्छा छोरा भने जोगिए। तर, कसले किन घटना गरायो उनलाई केही पत्तो भएन।

घटना पुस २०, २०६३ सालको। स्थान सीतापाइला काठमाडौं।

+++

सीतापाइलामा कान्तिपुर स-मिल सञ्चालन गर्दै आएका थिए नातिकाजीले। उनकै परिवारमाथि खुकुरी प्रहार भयो। आखिर घटना कसले घटायो? किन भयो?

अनुसन्धानमा जुटेको प्रहरी अलमलमा पर्‍यो। घाइते भएका विलभ वीर अस्पतालको आइसीयु कक्षमा। मर्ने बाँच्ने ठेगान थिएन उनको। उनको होस् नै १४ दिनपछि खुल्यो। सँगै अपराधीको पनि।

घटना विलभले प्रस्ट देखेका थिए। घटना आफ्नै स-मिलमा काम गर्ने कामदारले घटाएको उनले प्रहरीलाई जानकारी दिए। किटानी जाहेरीमा नाम थिए - जयकिशोर साह र प्रताप राना।

सुवेदी दम्पतीको हत्या कसले गर्‍यो खुल्यो। तर, कसले गरायो खुलेन। प्रहरीलाई त के विलभलाई समेत थाहा थिएन -कारण के थियो? करिब एक वर्षअघि विलभका बुबाले उनीहरुलाई काम गर्न राखेका थिए। उनीहरुको नामबाहेक न फोटो थियो न त ठेगाना नै। बुझ्दै जाँदा बल्लतल्ल ठेगाना पत्ता लाग्छ - सर्लाही परिया।

प्रहरी उनीहरुको घरमा पुग्छ। तर, घरमा समेत जय किशोरको पत्ता लाग्दैन। उनी घर नआएको र सम्पर्क नभएको लामो समय भएको जानकारी मिल्यो। प्रहरी घरमा पुगे पनि सुवदी दम्पतीको हत्या गर्ने उनै जय किशोर हुन् वा अरु नै कोही? कसको उक्साहटमा हत्याका लागि उनी तयार भए? पत्तो लाग्दैन। किनकि उनको घरमा समेत प्रहरीले कुनै फोटो तथा जानकारी फेला पारेन।

समय बित्दै गयो। दुई दाजुभाई टुहुरा भए। बुबा-आमा बितेपछि सीतापाइलाको डेरा छाडेर हजुरबा र हजुरमासँग बस्न थाले उनीहरु।

विलभको शरीरमा लागेको खुकुरीको चोट त पुरिएन भने मनमा लागेको चोट कसरी पुरिन्थ्यो?

+++

केही साताअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विलभलाई एउटा फोटो पठायो। अनि सोधे -के तपाईँको बुबा-आमाको हत्यारा यही हो?

धेरैका लागि धुमिल भएको त्यो अनुहार विलभको स्मृतिमा अमिट थियो। उनले जवाफ फर्काए -हो।

अनुसन्धानमा खटिएका प्रहरीले उनलाई त्यतिमै विश्वास गरेनन्। स-मिलमा काम गर्ने अरु मानिसलाई पनि त्यो फोटो देखायो प्रहरीले। अन्ततः १५ वर्षअघि हत्या गर्ने जेके भनिने जय किशोर साह पक्राउ परे।

प्रदेश ५ को बाँके जिल्लामा भारतीय सीमा नजिकैबाट पक्राउ गरेर ल्याएको भन्दै सोमबार ब्यूरोको टोलीले जय किशोरलाई सार्वजनिक गर्‍यो। प्रहरीले हत्याका अभियुक्तलाई सार्वजनिक गरेको दिन विलभ पनि पुगेका थिए। खुकुरी प्रहारबाट १४ दिन बेहोस् बनेका विलभ १४ वर्षपछि तिनै अभियुक्तलाई देख्दै थिए। 

जतिखेर प्रहरीले साहलाई सार्वजनिक गरेको थियो त्यतिखेर विलभ ब्यूरोको भवनको माथिल्लो तल्लाबाट सबै कुरा नियालीरहेका थिए।

'बिर्सिन सक्दिनँ त्यो दिन। मलाई पनि खुकुरीले हाने। म खुट्टाले हानेर छटपटाउँदै मानिस बोलाउन भनेर बाहिर निस्किएको थिएँ। बाहिर निस्किएपछि बेहोस भएछु,' विलभको स्वर मलिन सुनियो।

उनी त्यो घटना चाहेर पनि बिर्सन सक्दैनन्। शरीरमा रहेको खुकुरीको डोबले प्रत्येक क्षण उनलाई त्यो दिन सम्झाइरहेको हुन्छ जुन उनी भुल्न चाहन्छन्। हत्याराले प्रहार गरेको खुकुरीले उनको ढाडको पछाडिको भाग समेत भेट्टाएको थियो।

विलभले घटनाबारे बताइरहँदा उनका भाई पनि मलिन भएर सुनिरहेका थिए। विलभलाई पनि हत्यारा कसरी समाउने भन्ने विषयले दैनिक सताइरहेको हुन्थ्यो। उनी प्रहरीसँग सम्पर्कसमेत गरिरहेका हुन्थे।

'म उसको गाउँ पनि गएँ। अरुले नचिन्ने मैले मात्र चिन्ने भएकाले पनि गएको थिएँ। तर, केही पत्ता लागेन। बरु ऊ नेपाल अहिलेसम्म नआएको भन्ने खुलेको थियो,' केही वर्ष अगाडि आफैँ हत्याराको खोजीमा हिँडेको घटना सुनाए।

+++

स-मिलमा काम गर्ने विषयलाई नै लिएर सुवेदी परिवारको हत्याको योजना बनाएका थिए उनीहरुले। पैसा अनुसार काम नगर्ने, काम बिगार्ने क्रम पनि बढ्दै गएपछि नातिकाजीले उनीहरुलाई गाली गरेका थिए। त्यही क्रममा एक/दुई पटक परिवारका सबैलाई मारिदिने धम्की समेत साहले दिएका थिए।

'काम बिगार्ने, पैसा दिए पनि काम नगर्ने गरेको थियो। मार्ने समेत धक्की दिएको थियो,' विलभले सुनाए।

यी सबै विवरणले हत्यारा पहिचान भए पनि ऊ कहाँ छ कसैलाई थाहा थिएन। प्रहरीसँग उनीहरुको नाम र परिवारको ठेगानाबाहेक खोजी गर्नका लागि अरु केही आधार थिएन। घटनापछि परिवारका सदस्यसँग पनि सम्पर्कमा आएका थिएनन् उनी।

तर, प्रहरी हत्यारा खोज्ने क्रम जारी राखेको थियो। घटनाको केही वर्षपछि फरार साहको एक टाढाको नाता पर्ने व्यक्तिसँग सम्पर्क भएको खुल्यो। त्यही क्लूलाई टेकेर प्रहरीले साहलाई नियन्त्रणमा लिन सफल भएको ब्यूरोका प्रमुख डीआइजी सहकुल थापाले बताए।

'एकदमै ग्राह्रो अनुसन्धान थियो। फोटो समेत थिएन। युवक भारतमा बसेर नेपाल समेत फर्किएका थिएनन्,' डीआइजी थापाले भने।

साह घटनापछि भारतमै बसेका थिए। यस अवधिमा परिवारका सदस्य समेतलाई फोन गरेका थिएनन्।

'ढिलै भए पनि प्रहरी पक्राउ गर्‍यो। खुशी लागेको छ,' विलभको अनुहार थोरै भए पनि उज्यालो देखियो।



ट्रेन्डिङ पोस्ट

Ncell