नयाँ दिल्ली : भारतमा कोरोना संक्रमितको संख्या ९ लाख पार भएको छ। संक्रमितको संख्या ८ लाख पार भएको तीन दिनमै थप एक लाख संक्रमित जोडिएका हुन्।
हिजो भारतमा २८ हजार ६ सय नयाँ संक्रमित थपिए भने ५ सय ३८ जनाले ज्यान गुमाए। कोरोना संक्रमणका कारण खराब हालत भोगिरहेका मुलुकमा भारत अमेरिका र ब्राजिलभन्दा पछिपछि छ।
सोमवारसम्म भारतमा कोरोना संक्रमित संख्या ९ लाख ७ हजार ४१ पुगेको छ। भारतमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २३ हजार ६ सय ९५ पुगेको छ।
गत आइतवार भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा कोरोना संक्रमित भेटिएका थिए। त्यस दिन २९ हजार २ सय ७१ जनामा संक्रमण फेला परेको थियो।
नेपालसँग जोडिएको उत्तर प्रदेशमा सोमवार १६ सय ६४ नयाँ संक्रमित भेटिएका छन्। उत्तर प्रदेशसहित ६ प्रान्तमा संक्रमित संख्याको नयाँ रेकर्ड कायम भएको छ।
