PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

रामबारे प्रम ओलीको 'प्रवचन'लाई लिएर बिजेपीको चिन्ता, गरे आलोचना



पहिलोपोस्ट

रामबारे प्रम ओलीको 'प्रवचन'लाई लिएर बिजेपीको चिन्ता, गरे आलोचना

काठमाडौं : भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का प्रवक्ताले रामबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको खण्डन गरेका छन्।

सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय सोनकर शास्त्रीले मानिसको धार्मिक आस्थाको विषयमा खेल्ने अधिकार कोहीसँग नभएको बताएका छन्।

'भगवान राम आस्थाका विषय हुन्। जनताले त्यो आस्थासँग खेल्न कसैलाई दिने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही,' शास्त्रीको भनाईलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

के थियो प्रधानमन्त्रीको भनाई

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सोमवार भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए। भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको ओलीले बताएका हुन्।

प्रधानमन्त्री ओलीले भने, ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ। तथ्यहरुमा अतिक्रमण भएको छ। हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ। भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले। अयोध्या भनेको वीरगञ्ज भन्दा अलि पश्चिमको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन। अयोध्याको बारेमा भीषण विवाद छ है त्यहाँ। हाम्रोमा विवाद नै गर्नुपर्दैन। अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मिकी आश्रम यही (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रेष्ठी यज्ञ लगाउने पण्डितजी रिडीका। त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीय होइन।’

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न समेत गरेका थिए।

त्यस बखत कुनै सञ्चार सुविधा बिना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको ओलीको आशय थियो।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उनले भने, ‘यहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या छ, त्यस बेलामा न टेलिफोन न मोबाइल कताबाट थाहा होस्। थाहा हुन सम्भव थिएन। त्यो इतिहास बहस गरी साध्य छैन। फेरि एक हमला माथि अर्को।’

प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञानको सुरुवात र विकास नेपालमा भएको भए पनि निरन्तरता पाउन नसकेको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell