PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारतीय सन्तहरुको चेतावनी : भोलिबाट नेपालमा सडक प्रदर्शन, एक महिनाभित्र ओलीलाई हटाउँछौं



पहिलोपोस्ट

भारतीय सन्तहरुको चेतावनी : भोलिबाट नेपालमा सडक प्रदर्शन, एक महिनाभित्र ओलीलाई हटाउँछौं

भारतीय सन्त तथा महन्थहरुले नेपालमा सडक प्रदर्शन चर्काउने चेतावनी दिएका छन्। सन्त महन्थहरुको सर्वोच्च संस्था अखिल भारतीय आखडा परिषदले मर्यादा पुरुष राम नेपालको अयोध्यामा जन्मिएको र भारतले सांस्कृतिक अतिक्रमण गरेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको वयानमा आपत्ति जनाउँदै प्रदर्शन चर्काउने चेतावनी दिएको हो।

प्रधानमन्त्री ओलीले सोमवार भानु जयन्तीका अवसरमा सरकारी निवास बालुवाटारमा राम भारतमा नभई नेपालमा जन्मिएको र भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको बताएका थिए। यो बयानको विरोधमा परिषदले सडक प्रदर्शनको घोषणा गरेको हो।

परिषदका प्रमुख महन्थ नरेन्द्र गिरीले भोलि बुधवारदेखि नेपालमा आफ्ना अनुयायी सडकमा उत्रिने बताए। राजनीतिक दाउपेचका लागि विवादित अभिव्यक्ति दिने ओलीलाई एक महिनाभित्र प्रधानमन्त्रीको कुर्सीबाट हटाउने उनले चेतावनी दिए।

परिषदका प्रमुख गिरीले अयोध्या भारतमा भएको र त्यही अयोध्याले संसारलाई नेतृत्व गरेको बताए। नेपालका प्रधानमन्त्रीले दिएको अभिव्यक्ति निन्दनीय भएको र यसका लागि उनले माफी माग्नुपर्ने गिरीको माग छ।

उनले नेपाल पहिले हिन्दु राष्ट्र रहेको र कम्युनिस्ट तथा माओवादी शासनमा आएपछि सबै करा बिग्रिएको आरोप लगाए।

रामा दल ट्रस्टका अध्यक्ष कल्की राम महाराजले ओलीको बयानको निन्दा गरे। ओलीले नेपाल भारतबीचको रोटीबेटीको सम्बन्ध बिगार्ने प्रयास गरेको र कम्युनिस्टले हिन्दु राष्ट्र धर्मनिरपेक्ष बनाएर मास्ने काम गरेको आरोप लगाए।

पुजारी एवं महन्थ परमहंश आचार्यले ओली नेपालको नागरिक नै नभएको आरोप लगाए। ‘जो देशको नागरिक होइन उसले कसरी देशको भलो गर्न सक्छ?’ उनले प्रश्न गरे, ‘ओलीजीले नेपाललाई पाकिस्तानजस्तै भिखारी बनाइसकेका छन्। नेपालका जनतालाई धोका दिइरहेका छन्।’

‘भगवान राम पुरै दुनियाँका हुन्। रामले कालान्तरमा नेपालमा मा जानकीसँग विहे गरे। नेपालको पहिचान पुरै दुनियाँमा बन्यो। आज यदि नेपालको पहिचान दुनियाँमा छ भने त्यो केपी शर्माले दिलाएको होइन, त्यो भारत र नेपालको सम्बन्धका कारण चिनिन्छ,’ उनले भने।

केपी शर्मा ओलीले चीनको गुलामी गर्दै नेपालको जनतालाई धोका दिइरहेका आरोप लगाउँदै पुजारी आचार्यले थपे, ‘आफ्नो कुकर्ममा पर्दा हाल्न उनले भगवान रामलाई नेपाली भने। हनुमानलाई नेपाली भन्लान्। तर उनले भन्दैमा केही हुन्न। पुरै दुनियाँ जान्दछ कि मर्यादा पुरुषोत्तम श्री रामचन्द्रजी अयोध्यामा जन्मिएका थिए।’

ओली दिमाग बिग्रिएको आरोप लगाउँदै आचार्यले ओलीबाट नेपाली जनतालाई धोका भइरहेको र यसको परिणाम नेपाली जनताले भोग्नुपर्नेतर्फ सचेत गराए। ‘समयमै नेपाली जनता सडकमा आउन जरुरी छ,’ उनले भने, ‘केपी शर्मा ओलीलाई देखाइदिनुपर्छ। एक पागल व्यक्तिले भन्दैमा नेपाल भारत सम्बन्ध टुट्दैन। तोड्न सक्दैनौं।’

राम मन्दिर ट्रस्टका सदस्य महन्थ धीरेन्द्र दासले पनि अयोध्या भारतमै भएको र राम अयोध्यामै जन्मिएको बताए। ‘राजनीतिमा नेताहरु जे पनि बोल्छन्। तर, वास्तविकता यो हो कि राम अयोध्यामै जन्मिएका हुन्। अयोध्या भारतमा छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell