PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

प्रधानमन्त्रीको ‘अयोध्या अभिव्यक्ति’ बारे चौतर्फी विरोध हुँदा ठोरीबासीले भने गरे स्वागत



राधेश्याम पटेल

प्रधानमन्त्रीको ‘अयोध्या अभिव्यक्ति’ बारे चौतर्फी विरोध हुँदा ठोरीबासीले भने गरे स्वागत

वीरगंज : मंगलवार पर्साका ठोरीबासीको खुशीको सिमा रहेन। त्रेता युगमा रामको जन्म पर्साको ठोरीमा भएको खबर सञ्चार माध्यममा आएपछि बिहानैदेखि ठोरीबासी गद्गद् भएका छन्।

भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवासमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादा पुरुषोत्तम रामको जन्म पर्साको गाउँपालिका ठोरीमा भएको कुरा सुनेपछि यहाँका सर्वसाधारणदेखि राजनीतिक दलका अगुवा एवं बुद्धिजीवीहरु एक आपसमा खुशी साटासाट गरेका छन्।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई स्वागत गर्दै ठोरीबासीले राज्य स्तरबाट ओझेलमा परेको ऐतिहासिक एवं धाार्मिक पर्यटकीय स्थल ठोरीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने गरी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबाट आफूहरु गद्गद् भएको ठोरी गाउँपालिकाका वडा नम्बर १ का वडाध्यक्ष रामप्रकाश कुँवरले बताए।

‘हिन्दूहरुको लागि मर्यादा पुरुषको रुपमा स्थापित रहेका भगवान राम जस्ता धार्मिक ऐतिहासिक पुरुषको जन्म भएको कुरा खुलासा भएपछि हामीहरु खुशी छौं’, उनले भने, ‘ठोरी नेपालकै वाल्किमी आश्रमसँग जोडिएको क्षेत्र हो, यहाँ सीता गुफा पनि छ, तर भारतको बलमिच्याईको कारण ओझेलमा परेको धार्मिकस्थल ठोरीलाई प्रधानमन्त्रीले खुलाइदिनु भएकोमा हामी सम्पूर्ण गाउँबासी हार्षित छौँ।’

सोमवार बसेको चौथो गाउँ सभाले ठोरी छोटी भन्सारभन्दा दक्षिणमा रहेको सीता गुफामा मन्दिर निर्माणको लागि ७ लाख र पूजापाठको लागि डेढ लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य प्रकाश खनालले प्रधानमन्त्रीको अभिव्यक्तिलाई स्वागत गर्दै कानुनी रुपमा भगवान रामको जन्म ठोरीमा भएको अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्न सरकारलाई अनुरोध गरे।

उनले भने, ‘ठोरीबारे राम्रो कुरा बाहिर आएको छ, अब भगवान रामको जन्म ठोरीमा भएको प्रति विश्वलाई सिद्ध गर्न सरकारले अघि बढनु पर्छ।’

साथै, रामायण सर्किटको बारेमा गुरुयोजना बनाएर ठोरीमा धार्मिक मठमन्दिर निर्माण गरी धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरेपछि मात्र प्रधानमन्त्रीको अभिव्यक्ति सही साबित हुने तर्क गरे ।

ठोरीकै स्थानीय बासिन्दा रामशरण लामिछानेले त्रेता युगमा माता जानकी जनकपुरबाट जाँदा एक रात ठोरीकै सीता गुफामा विश्राम गरेको किंवदन्ती रहेको बताउँदै मोदीसँग भारतको अयोध्यामा नै भगवान रामको जन्म भएको के प्रमाण छ? भनी प्रश्न गरे।

उनले भने, ‘हाम्रो प्रधानमन्त्रीले इतिहास र प्रमाणकै अधारमा बोल्नु भएको हो, अब उहाँले रामायणमा आधारित पर्यटकीय स्थलको रुपमा मठमन्दिर निर्माण गर्न भारत सरह नेपाल सरकारले पनि अरबौँको बजेट विनियोजन गरी रामजन्म ठोरीको विकास गर्नु पर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell