गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा बागबजारस्थित आराधना क्याफे गइरन्थे। त्यो क्याफे हर्क साउदको हो। गीत संगीतमा खुब रुची भएका उनलाई संगितकर्मी कालीप्रसादसँग चिनापरिचय गर्न समय लागेन। अनि त्यस चिनजान पछि उनीभित्र लुकेको प्रतिभा बाहिर ल्याउन पनि समय लागेन।
हाल उनको ‘के माया लाग्छ र?’ बोलको गीत निकै चर्चामा छ। यो उनको १२ औं गीत हो। ‘उख्खुमै, हुरहुरी, गुटुङटुङ’जस्ता मौलिक शब्दका प्रयोगसहितको उक्त गायक निशान भट्टराई र गायिका एलिना चौहानले स्वर दिएका छन्। दुई सातामै २८ लाख भन्दा बढी पटक हेरिएको छ।
तीन वर्षअघि हो साउदको सांगीतिक यात्रा सुरु भएको। २०७२ सालमा ‘सुन साइली’मार्फत् संगीत क्षेत्रमा डेब्यु गरे। कालीप्रसाद बाँस्कोटासँगको संगत पछि भएको त्यो ‘इन्ट्री’ धमाकेदार साबित भयो। गीत निकै रुचाइयो। त्यस पछि साउद संगीत क्षेत्रमा हौसिए।
***
२०६५ सालदेखि रेष्टुरेन्ट व्यवसायमा छन् साउद। संगीत क्षेत्रमा पनि उनी जम्न सक्छन् भन्ने आभास कालीप्रसादले नै दिलाएको बताउँछन् उनी। भन्छन्,’यहाँ आइरहनु हुन्थ्यो। उहाँका कुरा सुन्दा, उहाँसँग कुरा गर्दा मभित्र प्रतिभा छ भन्ने कुरा महसुस गराउनुभयो। संगीतप्रतिको रुची मभित्र सुसुप्त थियो।‘
गफैगफमा तयार भयो ‘सुन साइली’। निकै चल्यो। अनि बन्यो साउदको पनि सर्कल, संगीत क्षेत्रमा।
‘सुन साइली’देखि ‘के माया लाग्छ र?’ सम्म आइपुग्दा साउदले लेखेका प्राय सबै गीत हिट छन्। तर हरेक पटक गीत लेखिसक्दा ‘यति धेरै मन पराइएला’ भन्ने अनुमान गर्दैनन् उनी। स्रोताको अपार माया पाउँछन्। श्रेय दिन्छन् टिमलाई।
‘हामीले हिट हुन्छ भनेर सुन साइलीमा पनि प्रेडिक्सन गरेका थिएनौं। त्यसमा एउटा समाजको परिवेश, मुद्दालाई उठाएका छौं। पहिले नै खतरा, बबाल हुन्छ भन्दैनौं। मैले लेख्ने काम हो, सय प्रतिशत दिनुपर्यो। संगीतकार, गाउनेले पनि गर्नुपर्यो। सबै कुरा संयोजन र फुल प्याकेज सय प्रतिशत इफोर्टका साथ भयो भने त्यसले समाज र सुन्ने, हेर्ने मान्छेमा केही न केही इम्प्याक्ट पार्छ,’ उनले भने।
‘के माया लाग्छ र?’ गीतमा संवाद शैलीको प्रयोगका कारण दर्शकको ध्यान खिचेको उनको अनुमान छ। दर्शक/स्रोताबाट पाइरहेको प्रतिक्रियाले उनी दंग छन्।
उक्त गीतको कन्सेप्ट साउदकै हो। ‘लुकिछिपि मायामा’ बोलको गीतको सिक्वेलका रुपमा। जसका लागि भिडियो पहिलो संस्करणबाट बचेका फुटेजहरुबाट बन्यो।
निर्देशक नविन चौहानले ती फुटेज देखाएपछि साउद स्वयंले सिक्वेलको योजना बनाएका हुन्। त्यसपछि हो उनले गीत लेखेको।
भिडियो पूर्वी नेपालमा खिचिएको हो। त्यसैले गीतमा शब्दहरू पनि पूर्वेली नै प्रयोग गरे। ती शब्द जुन आजभोलि बोलिचालीमा प्रयोग हुँदैन। ‘तर ती शब्दहरू हामीलाई खुब प्रिय छन्।’
लेखनको सुरुवात
केही समयको चिनजान पछि कालीप्रसाद बाँस्कोटा उनीसामू प्रस्ताव लिएर पुगे। गीतका लागि धुन तयार थियो। गीतमार्फत् के भन्ने भने ‘कन्सेप्ट’ तयार थियो।
‘हामी यस्तो गीतमा काम गर्दैछौं, आउनुस् यसरी काम गरौं भन्नु भयो। मैले पनि आँटे’, पहिलो गीत लेख्दाको अनुभव सुनाए।
त्यस गीत उनले केही फरक प्रयोगको कोसिस गरे। गाउँघरमा समेत प्रयोगमा कम आउन थालेका सर सामानहरूलाई शब्दमा अटाए। ‘नाम्लो, बरियो, कुटो, कोदालो भन्ने कुरा त मान्छेले प्राय बिर्सिसक्यो। यी मौलिक शब्द प्रयोग गर्यौं,’ उनले स्मरण गरे।
धर्मराज थापालाई आदर्श मान्ने साउदले सुन साइलीसँगै नाच माया, प्याट प्याटे चप्पल, क्याप्टेन फिल्मको कर्ली कर्ली कपाल, कबड्डी कबड्डी कबड्डी फिल्मको दुबो फुल्यो, बटौली लगायत गीत लेखे। साथै टंक तिमिल्सिना र रेखा जोशीको स्वर रहेको ‘लै लै’ देउडा पनि उनैले लेखेका हुन्।
***
सुदूरपश्चिमको बडिकेदार गाउँपालिका हो साउदको। सदरमुकाम दिपायलबाट दुई दिन हिँडे पछि मात्र पुगिन्छ। तर, उनको गीतमा किन पूर्वी नेपालमा प्रयोग हुने शब्दहरू छन् त?
‘म सुदूरपश्चिमको पनि सुदूर गाउँको मान्छे हुँ। तर म देशभर प्रयोग हुने पूराना शब्द र भाषालाई हामीले कलाको माध्यमबाट जोगाउनु पर्छ, उठाउनु पर्छ भन्नेमा विश्वास गर्छु। कर्तव्य बोध हुन्छ।‘
सुदूरपश्चिमको भाषालाई, मौलिक शब्दलाई पनि मानिसले उस्तै ‘एप्रिसियट’ गरिदिनु पर्छ भन्ने सोच्छन् उनी।
अब देउडामा नयाँ ट्रेण्ड ल्याउने प्रयासमा छन् उनी। ‘न्याउले खेलजस्तो पुरानो ढर्राको अब परिवर्तन हुनुपर्छ। भाषा, लय त्यहीँ हुन्छ तर पछाडि देशीविदेशी जुनसुकै संगीतकर्मीले मैले यो गीतको नोटेसन लेखेर गाउन सक्छु भन्ने किसिमको आँट हुने फ्रेममा गीत आउनुपर्छ। समय लाग्ला तर हामी यसरी आउँदैछौं,’ उनले आफ्नो योजना सुनाए।
समाजलाई संगीतकोस्रोत मान्ने साउदले आफ्ना गीतमा मौलिक शब्दको प्रयोगलाई बढीभन्दा बढी प्राथमिकता दिएका छन्। ‘हाम्रै पुराना, दैनिक बोलिचालीमा प्रयोग भइरहेका शब्द प्रयोग गर्छु। आजभन्दा सय वर्ष अगाडि हाम्रा आमाबुवा, बराजुहरु, बाजेहरुलाई अरुको शब्द सापटी लिएर कहिल्यै बोल्न परेन। अहिले हामीले बोल्दा अंग्रेजी र अरु शब्द किन बोल्छौं? किनभने धेरै शब्द थाहा छैन। कम्ती हामीले जानेको शब्द आफ्नो क्षेत्रमा प्रयोग गर्यौ भने एउटा त आफ्नो लिगेसी कन्टिनियु भयो, अर्को म्यासेज पनि गयो।’
सबै भाषाका मुलधारको गीत वा आम प्रयोगमा हराउँदै गएका शब्दहरुको प्रयोगमा ध्यान दिएका छन् उनले। ‘प्रयोगमा नरहेका शब्दहरू मान्छेले बिर्सिँदै जान्छ। आउँदो पुस्ताले थाहा पाउँदैन। गीत सुन्दा भविष्यमा तिनीहरुले पनि थाहा पाउन् न भन्ने हामीले योगदान गर्न सक्छौं,’ उनले थपे।
***
दिनभर क्याफेमै व्यस्त रहने उनी रातमा गीत लेख्न रमाउँछन्। कुनै गीतका लागि कन्सेप्ट दिमागमा खेल्न थालेपछि त्यसबारे सोच्न भने के दिन के रात?
गीतप्रति रुची भएका उनी आफूलाई अझै पनि संगितकर्मीभन्दा बढी व्यवसायी मान्छन्।
डोटीको विकट बडिकेदारबाट साउद २०५५ सालमा अध्ययनका लागि काठमाडौं हान्निए। ‘मान्छे कि पैसा भएर काठमाडौं छिर्छ कि अलि हठी भएर छिर्नुपर्छ। म भने हठले हो,’ उनले भने। पढ्दा पढ्दै उनले साथीहरुसँग मिलेर २०६५ सालमा क्याफे खोले, बागबजारस्थित श्रेष्ठ टेलरिङ भएको बिल्डिङमा। नाम हो आराधना क्याफे। व्यवसायसँगै पढाई पनि छाडेनन्। सोसोलोजीमा मास्टर गरेका छन्।
पढाई, गीत उनलाई जीवनका फरक आयामहरु बुझाउने माध्यम हुन्। त्यसैले आफूलाई गीतकारभन्दा बढी व्यवसायीकै रुपमा चिनाउन चाहेका हुन्। गीतलाई आफ्नो पेशा बनाउन नसक्ने अनुमान छ उनको।
‘गीतकारको कि त साइड बिजनेस हुन्छ। कि उ निकै धनी हुनुपर्छ। हामीजस्तो मध्यम वर्गीय मान्छेले गीत लेखनलाई पेशा बनाउँछु भन्ने अवस्था यहाँको उद्योगमा छैन,’ उनले भने। अस्वस्थ प्रतिस्पर्धाले पनि पेशा बनाउन सक्ने अवस्था नरहेको उनी बताउँछन्।
उनी आत्म सन्तुष्टिका लागि गीत लेख्छन्। ‘साथै गीतसंगीतमार्फत हामीसँग भएका पुराना हराइसकेका केही संस्कृतिलाई जगाउने, मुलधारमा ल्याउन म गीत लेख्छु। मैले सक्ने त्यति हो। मनोरञ्जन मात्र मेरो उद्देश्य होइन,’ साउद भन्छन्।
संगीत र व्यवसायलाई संगसंगै अघि बढाउने उनको योजना छ। दुबै क्षेत्रमा उनको छुट्टै टिम छ। टिमअनुसार काम गर्ने उनी सुनाउँछन्। उनको अर्को गीत आउँदो महिना सार्वजनिक हुँदैछ।
विकृतिमा सुधारको खाँचो
मौलिकतामा विश्वास गर्ने गीतकार साउद अहिले गीत, संगीतमा देखिएको विकृतिलाई दर्शक स्रोतको तहबाट सुधार गर्नुपर्ने बताउँछन्।
‘सुरुमा सबैभन्दा पहिला हेर्ने र सुन्नेले सुधार गर्नुपर्छ। जे आयो त्यहीँ हेर्ने, सुन्ने?’ उनले प्रश्न गरे, ‘ति मान्छेलाई बहिष्कार गरौं। सामाजमा विकृति फैलाउने, उच्छृंखलता फैलाउनेलाई निरुत्साहित गरौं। हल्का रुपमा नलिऔं। यसो गर्दा राम्रो गर्ने सोंच राख्छ।’
सर्जकको पनि जिम्मेवारी बारे पनि बोल्न पछि पर्दैनन् उनी।
‘म कुन समाजमा छु, सीमाभित्र रहेर के दिनुपर्छ, गर्नुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ हामीले पनि’, उनी भन्छन्।‘