PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'राष्ट्रवाद'को भुलभुलैयामा सरकारले नदेखेको १७ नम्बर गेटको त्यो दुर्घटना [सम्पादकीय]



पहिलोपोस्ट

'राष्ट्रवाद'को भुलभुलैयामा सरकारले नदेखेको १७ नम्बर गेटको त्यो दुर्घटना [सम्पादकीय]

मंगलवार मेलम्ची खानेपानीको सुरुङमा राखिएको बाँधले पानीको भार थम्न नसक्दा चार कर्मचारीलाई बगायो। इन्जिनियर सतिस गोहित र चालक राधाकृष्ण थापामगर बेपत्ता भए। मंगलवार साँझसम्म मेलम्चीदेखि दोलालघाट खोलासम्म खोज्दा पनि उनीहरुको पत्तो लागेको छैन। दुई कर्मचारीको ज्यान जोगियो, उनीहरुको उपचार जारी छ। पहिलो चरणमा १७ करोड लिटर पानी काठमाडौं ल्याउन २७ वर्ष अघिबाट शुरु भएको खानेपानीको २७ किलोमिटर सुरुङ भराउन पानी पथान्तरण गरिएको थियो। अम्बाथानमा रहेको हेडवर्क्सबाट असार २१ गते पूजा २२ गतेबाट नियमित रुपमा पानी पठाउन थालियो। त्यसको ८ दिनको दिन अकल्पनीय घटना भयो। सुरुङ भरिन २० दिन लाग्ने अनुमानकै आधारमा यस अवधिमा ३ देखि ९ किलोमिटरसम्म पानी पुगेको थियो। तर, १७ नम्बरको गेट भत्किएसँगै मेलम्ची खानेपानीमाथि थप बहाना मिलेको छ।

यस घटनाले मेलम्चीको काम गर्ने शैलीमाथि प्रश्न उठेको छ। कमजोर संरचनाकै कारण दुर्घटना निम्तेकोमा दुईमत छैन। आफ्ना कर्मचारीलाई असुरक्षित रुपमा नै काममा परिचालन किन गरियो? गम्भीर प्रश्न खडा भएको छ। परियोजनामा संलग्न कार्यकारीले यसको जवाफ किन नदिने? राज्यले यसलाई कसरी निरीक्षण गर्‍यो? कसरी परीक्षण गर्‍यो? प्रश्नै प्रश्न उब्जिएको छ। काठमाडौंमा पानी ल्याउने भन्दैमा जबरजस्ती काम देखाउने प्रवृत्तिका कारण त दुर्घटना निम्तिएको होइन? दुर्घटनाको यो ट्रेलरमात्र हो भने, मेलम्चीदेखि सुन्दरीजलसम्मको टनेल भरिएकै अवस्थामा यसैगरी दुर्घटना हुँदा हेलम्बु, चनौटे, ग्याल्थुम, तालामाराङ, मेलम्ची, सिपाघाटदेखि दोलालघाटसम्मको बस्ती कसरी सुरक्षित हुनसक्छ? पानी सुरुङमा पठाउन अघि पनि सरकारले स्थानीयको आवाज दबायो। कतिसम्म भने स्थानीय सरकारलाई कुनै खबर नगरी पानी सुरुङमा हुलियो र प्रगतिको प्रचारवाजी थालियो। काम कम, हल्ला ज्यादाको नतिजा यतिखेर आयोजनाले बेहोरिरहेको छ। मेलम्चीको पानी साउनमै काठमाडौं झार्छु भन्दै चर्चामा आएकी खानेपानी मन्त्री वीना मगरको सामाजिक सञ्जाल फेसबुकको प्रोफाइलमा अहिले पनि मेलम्चीकै फोटो छ तर घटनाबारे उनको मौनता यथावत। विनातयारी र सुरक्षाविना पानी पठाउँदा उनको वाहवाही गर्दै ताली पिट्नेहरुले मन्त्रीसँग प्रश्न गरेका छैनन्। त्यो गर्नेवाला पनि छैनन्, यहाँ ताली बजाउनेहरु आफ्ना हुन्, प्रश्न गर्नका लागि उनीहरुको दस्ता तयार गरिएको होइन।

त्यसो त राष्ट्रिय गौरवको योजनामा प्रधानमन्त्रीको पनि ध्यान जानुपर्ने हो। तर, प्रधानमन्त्रीका रुपमा नेपालले यति राष्ट्रवादी नेता पाएको छ कि उनी भारतीय अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण हुँदा स्वास्थ्य लाभको कामना गर्न भ्याउँछन्। मेलम्चीमा वेपत्ता भएका कामदारबारे मौन रहन्छन्। विभागीय जिम्मेवारी पाएका मन्त्रीसँगसमेत सोध्ने फुर्सद छैन उनलाई। तर, रामको जन्मबारे घन्टौं प्रवचन दिने फुर्सद छ। प्रधानमन्त्री ओली एक व्यक्तिमात्र होइनन्, उनी नेपालको विकासप्रति राजनीतिक नेतृत्वको सोचका उदाहरणीय प्रवृत्ति हुन्। र, मेलम्ची आयोजनामा भएको यो दुर्घटना नेपालको विकासको चिन्तन र स्वरुपको एउटा उदाहरणमात्र हो।

यस्तै चिन्तनले हामीलाई जब्बर रुपमा बाँधेको छ। त्यसैले मेलम्ची सपनालाई साकार पारिरहँदा प्रचारभन्दा सुरक्षामा ध्यान दिन आवश्यक छ। यही बहानामा मेलम्चीको काम अवरुद्ध हुने त होइन? संशय पैदा भएको छ। सबैभन्दा पहिले यस्तो अवस्था आउनुको कारण पहिचान गरी दोषीमाथि कारवाही गर्न आवश्यक छ। प्रचारका लागि कमजोर अवस्थामा नै किन पानी पठाइयो, छानविन अनिवार्य छ। दोषी दण्डित हुनै पर्छ। त्यसपछि स्थानीयलाई साथ लिएर सुरक्षा सुनिश्चितता गरेरमात्र योजनाको काम अगाडि बढाउन आवश्यक छ। त्यसका लागि सरकारदेखि स्थानीय तहसम्म जागरुक हुन आवश्यक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell