काठमाडौं: भारत्तोलनमा १३ औं सागमा स्वर्ण जितेकी खेलाडी सञ्जु चौधरीले सम्मान गर्ने भन्दै स्थानीय तहले अपमान गरेको आक्रोश पोखेकी छिन्। नेपालगञ्ज उपमहानगरपालिकाले सम्मानको लागि बोलाएर त्यतिकै फर्काए पछि उनी आक्रोशित बनेकी हुन्।
'हामी खेलाडीको स्वभिमान हुँदैन र? कुरा नमिली नबुझी सम्मान छ भन्दै बोलाउने। आफू नसके परिवारको सदस्यलाई पठाउनु भन्ने,' उनले फेसबुकमा लेखेकी छिन्, 'अनि परिवारको सदस्य पुगेपछि कुरा मिलेन भनेर जानु भन्ने?'
यस्तै तरिका हो भने कुनै पनि परिवारले आफ्ना सन्तानलाई खेलाडी बन्न देला र? भनेर चौधरीले प्रश्न उठाएकी छिन्।
'पैसा होइन स्वाभिमान चाहिएको हो। खेलाडीले खेल्ने भनेको देशका लागि हो। तेसपछि आफ्नो लागि' उनले लेखेकी छिन्।
त्यस्तै कमेन्टमा नगरपालिकाले सम्मान छ भनेर बोलाएर उनका बुवा त्यहाँ गएको र कुरा मिलेन भन्दै त्यतिकै फिर्ता पठाएको उल्लेख गरेकी छिन्।
के भएको थियो?
सञ्जुलाई हिजो १ बजेतिर फोन आयो सम्मान कार्यक्रम छ साढे १ बजे आउन पर्यो भनेर। तर उनी थिइन काठमाडौंमा। त्यसैले उनले आउन नसक्ने बताइन्। तर महानगरपालिकाले घरको कसैलाई भए पनि पठाउन भन्यो। र, उनले बुवालाई कार्यक्रममा जान अनुरोध गरिन्।
'मैले बुबालाई साडे १ बजेतिर कार्यक्रम छ पुग्नु भनेर भने। तर बुवाले फेरि फोन गरेर वडाको र खेलकुद शाखाबाट निवेदन चाहिने भनेर भन्नुभयो।' उनी भन्छिन, 'निवेदन चाहिने भनेपछि म चुपलागेर बसेँ। मैले चिनेको कोही पनि थिएन।'
उनले सोचेकी थिइन् सामान्य सम्मान कार्यक्रम होला गएमात्र हुन्छ भन्ने। तर त्यहाँ त सम्मान लिन पनि अलगअलग ठाउँको सिफारिस चाहिने रहेछ। उनी थिइन यतै। नम्बर त्यहाँको कसैको उनीसँग थिएन्। र चुपलागेर बसिन्।
'त्यतिकैमा एकजना साथी प्रकाशले सबै निवेदनहरु बनाएर त्यहाँ पुगेछन्। उनले तिम्रो के भयो भनेर मलाई फोन गरे,' उनी भन्छिन, 'कहाँकहाँको निवेदन माग्छन मलाई केही थाहछैन। म चुप लागेर बसिरहेकी छु भनेर उनलाई भने।'
ती साथीसँगै भएका एकजना गुरुले उनलाई वडाको सिफारिस बनाउन सहयोग गर्ने भने। तर अर्कोठाउँमा चाहिँ प्रकाशको पनि मिलेको छैन भने।
उनलाई लाग्यो यो झमेलामा किन पर्ने? उनले फोन गरिन् बुवालाई। नमिल्ने भए नजान भनेर।
तर त्यतिबेलासम्म उनका बुवा पुगिसकेका थिए।
'त्यहाँ पुगेपछि कोकोसँग केके कुरा भयो बुवालाई त त्यतिकै फर्काइदिए।' उनले भनिन्।
के भन्छ उपमहानगरपालिका?
उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा आफूले त्यसबारे बुझ्नै बाँकी रहेको बताए।
'कतै नाम छुट्यो होला। केही मिसअन्डस्ट्यान्डिङ भयो होला। अब दिइहाल्छ नि। के भएको बिस्तृतमा बुझ्दै छु।' उनले भने।
