महानायक विवादमा राजेश हमालले मुख खोलेका छन्। हमालले मंगलवार राती सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै दिपाश्री निरौलालाई क्षमा गरिदिन दर्शक तथा स्रोतासँग अनुरोध गरेका छन्।
दिपाश्रीले एक अन्तर्वार्तामा राजेश हमाल महानायक हो र? भन्दै प्रश्न उठाएपछि उनको चर्को आलोचना भइरहेको छ। दर्शकमात्रै होइन पुराना कलाकारहरु पनि राजेश हमालको पक्षमा उत्रिँदै दिपाश्रीको कडा आलोचना गरिरहेका छन्। यो प्रकरणमा दिपकराज गिरी पनि निशानामा परेका छन्।
विवाद साम्य हुने भन्दा पनि दिन प्रतिदिन बढ्दै गएपछि राजेशले फेसबुकमार्फत कला क्षेत्रमा पछिल्लो समय सिर्जना भएको विवादले आफूलाई दु:ख लागेको उल्लेख गरेका छन्।
उनले कलाकार र दर्शकबीच नङ र मासुको सम्बन्ध रहेको भन्दै एउटा कलाकारले बोल्दा गरेको गल्तीलाई माफी दिन उनले फ्यानसँग अनुरोध गरेका छन्।
आफूलाई चित्त नबुझेको, भावनालाई ठेस पुर्याउने कुरा कसैले गर्छ भने त्यसमा ठाडो प्रतिक्रिया आउनु एक हिसाबले स्वभाविक भए पनि मानवतामा आँच, आघात र चोट लाग्ने गरी गाली गर्नु सही नहुने उनको तर्क छ।
हमालले यस्ता अभिव्यक्तिलाई नजरअन्दाज गरेर आफ्नो काममा अगाडि बढ्ने सहिष्णुता आफूमा भएको स्पष्ट पार्दै सहिष्णुता दर्शक जनसमुदायले दिएको उर्जाबाट प्राप्त भएको उल्लेख गरे।
‘त्यसैले म आफ्नो दर्शक, जनसमुदायलाई हृदयदेखि अनुरोध गर्न चाहन्छु केही फराकिलो भएर बृहत चित्रलाई मनन गरेर अत्यन्त सकारात्मक हिसाबबाट मानवताका लागि र कसैको मानवतामा आँच नपुग्नेगरी आफ्ना अभिव्यक्ति प्रकट गरौं,’ उनले भनेका छन्।
कला क्षेत्र कलाकारका साथै राष्ट्र र दर्शकको पनि भएको बताउँदै उनले भनेका छन्, ‘तपाईहरुको भूमिका सधै हाम्रो कलामा सिर्जनामा अत्यन्तै ठूलो भूमिका खेलेको हुन्छ। यो राष्ट्रको सिने क्षेत्र, कला क्षेत्रका लागि मानवताका लागि तपाइहरुले अत्यन्त सकारात्मक भएर कृपया सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला। एउटा कलाकारलाई कला पस्किन प्रेरित गरिरहनुहोला। यहाँहरुबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राखेको छु।’
