सुर्खेत : कर्णालीमा कोरोना संक्रमितको संख्या ओरालो लागेसँगै निको भएर डिस्चार्ज हुनेको संख्या पनि बढेको छ। जम्मा संक्रमितको संख्या एक हजार सात सय १४ रहेकोमा अहिले विभिन्न जिल्लाका अस्पताल तथा आइसोलेसन सेन्टरमा जम्मा दुई सय ३३ जना संक्रमितमात्रै आइसोलेसनमा रहेका छन्।
सुर्खेतमा १२३ जना, दैलेखमा ३०, जाजरकोटमा ५, सल्यानमा २२, रुकुम पश्चिममा १२ जना आइसोलेसनमा रहेका छन्। यस्तै, जुम्लामा १६ जना, कालिकोटमा ११, डोल्पामा एक जना गरी जम्मा २२० जना रहेका छन्।
बाँकी १३ जना रिपोर्ट पोजेटिभ देखिएको तर, कोरोनाको कुनै पनि लक्षण नभएको हुदाँ होम लाइसोलेसनमा रहेको महाशाखा प्रमुख तिवारीले जानकारी दिए।
कर्णालीमा हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल, दैलेख र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला, रुकुमपश्चिमबाट कोरोना भाईरस संक्रमण भए÷नभएको परीक्षण गरिदैँ आएको छ।
सबैभन्दा बढी दैलेख, हुम्ला र मुगु शून्य
जेठ ५ गते पहिलो संक्रमण पुष्टि भएको कर्णालीमा सवैभन्दा बढी दैलेखमा सक्रमण बढी पुष्टि भयो। हालसम्म आइपुग्दा दैलेखमा मात्रै आठ सय एक जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि दोस्रो स्थानमा सुर्खेत छ। सुर्खेतमा चार सय ९६ जना छन् भने, सल्यानमा दुई सय १६, कालिकोट ५७, जुम्ला ४०, जाजरकोट २१, रुकुमपश्चिम १९, मुगु ५, डोल्पा ४ र हुम्ला दुई वटा केस देखिएको छ। हालसम्म एक हजार पाँच सय २९ पुरुष संक्रमित छन् भने, एक सय ८५ जना महिला संक्रमित पुष्टि भएको छ। हाल कर्णालीको हुम्ला र मुगुमा कुनै केस देखिएको छैन।
अन्य प्रदेश वा जिल्लाका ५३ जना
अन्य प्रदेश वा जिल्लाका मध्ये बाँकेका ६ जना, बाजुरा, दाङ, लमजुङ, बैतडी, इलाम, ओखलढुंगा र धादिङमा २/२ जना, बझांङ, रामेछाप र गोर्खामा ३/३ जना, काठमाण्डौँ र ताप्लेजुङका ४/४, धनुषा, उदयपुर, अछाम, रुपन्देही, सप्तरी, कैलाली, दार्चुला, कास्की, गुल्मी, कन्चनपुर, खोटाङ, पाल्पा, स्यांजा, चितवन र नवलपरासी पूर्वमा एक/एक गरी ५३ जनामा संक्रमण पुष्टि भएको छ।
अहिलेसम्म कर्णालीमा संक्रमित पुष्टि भएकामध्ये ६ जनाको मृत्यु भइसकेको छ।