काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका २६ प्रयोगशालामा गरिएको ५ हजार ९० जनाको रियल टाइम पीसीआर परीक्षणका क्रममा २५ जिल्लाका मानिसहरुमा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंका ७ जना पनि छन्।
संक्रमण पुष्टि भएकामध्ये प्रादेशिक प्रयोगशाला विराटनगरमा मोरङ र ताप्लेजुङका १/१ जना तथा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धनकुटाका १ जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ।
त्यस्तै, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशालामा सप्तरीका १३ जना तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ६ जनामा संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणका क्रममा नुवाकोट र सिन्धुपाल्चोकका १/१ र काठमाडौंका ४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशालामा काठमाडौंकै २ जनामा संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल प्रयोगशाला भरतपुरमा चितवनका ८ र नवलपरासी पूर्वका ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौंडामा रौतहटका ५ तथा त्रिवि शिक्षण अस्पताल प्रयोगशाला काठमाडौंमा काठमाडौं, पाल्पा, गोरखा र धादिङका १/१ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा कास्कीका तीन जना तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा तनहुँका ३ र म्याग्दीका ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
त्यस्तै, रुकुम पश्चिमको चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा सल्यानका ३ जनामा संक्रमण पुष्टि भएको छ।
सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा अछाम, जाजरकोट र मुगुका १/१ जना तथा दैलेखका ३, जुम्लाका २, सल्यानका २ र सुर्खेतका २८ जनामा संक्रमण पुष्टि भएको छ।
डडेलधुरा अस्पताल प्रयोगशालामा डडेलधुराका २ जनामा संक्रमण पुष्टि भएको छ।
आज थप भएका संक्रमितसँगै नेपालमा संक्रमितको संख्या १७ हजार १७७ जना पुगेको छ। संक्रमितमध्ये ११ हजार २५ जना संक्रमित डिस्चार्ज भइसकेका छन्। जुन कुल संक्रमितको ६४.२ प्रतिशत हो।
६ हजार ११४ जना संक्रमित उपचारकै क्रममा छन्। पछिल्लो २४ घण्टामा ६९७ जना डिस्चार्ज भएका छन्।