काठमाडौं: निजी विद्यालयले साउन १ गतेदेखि सम्पूर्ण प्रकारका अनलाइन कक्षा बन्द गर्ने भएका छन्।
निजी विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सन र प्याब्सनले बुधवार विज्ञप्ति जारी गर्दै सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गर्ने घोषणा गरेको हो। दुबै संस्थाले निजी विद्यालयका शिक्षक र कर्मचारीलाई बेतलवी घर विदामा पठाउने निर्णय समेत गरेका छन्।
कोरोना महामारी र लकडाउनकै बीचमा वैशाखदेखि अनलाइन कक्षा सुरु गरिएको थियो। शिक्षा मन्त्रालयले असार १ देखि वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण निर्देशिका जारी निजी तथा सरकारी सबै शिक्षण संस्थामा अनलाइन कक्षाका लागि मार्गप्रशस्त गरेको थियो।
किन बन्द हुँदैछ अनलाइन कक्षा?
लकडाउनका कारण निजी विद्यालयमा उत्पन्न समस्यामा सरकारले साथ नदिएको भन्दै निजी विद्यालय वैकल्पिक कक्षा सञ्चालन रोक्ने निष्कर्षमा पुगेका हुन्।
‘पटक पटक माग गर्दा पनि सरकारबाट कुनै किसिमको सहयोग प्राप्त हुन नसकेकाले हामी कक्षा सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छौं,’ एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सनका अध्यक्ष टिकाराम पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अब शिक्षक कर्मचारीका तलब, घरभाडा बैंक ब्याज लगायतका दायित्वको जिम्मेवार सरकार हुनुपर्नेछ।’
सरकारले असार २१ गते माग पुरा गर्ने प्रतिबद्धता जनाए पनि आजसम्म कुनै सुनुवाई नगरेको भन्दै बाध्य भएर कक्षा बन्द गर्ने र शिक्षकलाई बेतलवी घर पठाउने निर्णय गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भौतिक रुपमा विद्यालय सञ्चालनको अनुमति दिएपछि मात्र विद्यालय प्रशासन खुला हुने पनि उल्लेख छ।
