युवा उद्यमी तथा अन्तर्राष्ट्रिय ‘राइड सेयरिङ’ कम्पनी ‘पठाओ’का सह-संस्थापक मृत फेला परेका छन्। ‘पठाओ’का सह-संस्थापक फहिम सलेह सोमवार न्यू योर्कको आफ्नै अपार्टमेन्टमा शरीरका अंगहरु काटेर टुक्रा टुक्रा पारिएको अवस्थामा भेटिएका अमेरिकी सञ्चार माध्यमलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ।
प्रहरीले यसबारे सार्वजनिक रुपमा कुनै जानकारी दिएको छैन। तर युवा उद्यमी सलेहले स्थापना गरेको कम्पनी गोकाडाले उनको मृत्युको पुष्टि गर्दै ट्विट गरेको छ।
‘हाम्रा संस्थापक तथा सीईओ फहिम सलेहको असामयिक मृत्युले हामी मर्माहित भएका छौँ,’ कम्पनीले बुधवार ट्विट गरेको छ।
We are deeply saddened to inform you about the sudden and tragic loss of our founder and CEO, Fahim Saleh. Fahim was a great leader, inspiration and positive light for all of us.
— Gokada - We do delivery now (@GokadaNG) July 15, 2020
अमेरिकी सञ्चार माध्यमहरुका अनुसार उनी सोमवार एक मास्क लगाएका व्यक्तिसँग उनी बसेको भवनमा प्रवेश गरेको सीसीटीभी फुटेजमा देखिएको छ।
उनका शरीरका अंगहरु काटेर टुक्रा टुक्रा पारेको अवस्थामा फेला परेको थियो। उनको शरीरको नजिकै एउटा विद्युतिय काट्ने औजार समेत भेटिएको थियो।
कानुनी निकायका एक व्यक्तिले घटनास्थलको दृश्य हेर्दा ‘प्रोफेसनल किलिङ’ जस्तो देखिएको बताएका छन्।
३३ वर्षीय सलेह बंगलादेशी आप्रवासी हुन्। हाई स्कुलमा हुँदा नै उनले आफ्नो पहिलो कम्पनी स्थापना गरेको थिए। उनी बंगलादेश, नेपाललगायत विभिन्न देशमा प्रख्यात रहेको ‘पठाओ’ कम्पनीको पनि सह-संस्थापक हुन्।
उनले केही समयअघि मात्रै नाइजेरियाको मोटरबाइक ट्याक्सी एप ‘गोकाडा’ संस्थापना गर्न समेत मद्यत गरेका थिए। लागोसमा यो एपमा प्रतिबन्ध लगाइएपछि कम्पनीलाई ठूलो धक्का पुगेको थियो।
