- कमल देवकोटा -
विश्वभर करिब तीन हजार सात सयभन्दा बढी प्रजातिका सर्प पाइन्छन् , जसमध्ये करिब छ सय प्रजातिका सर्प मात्र विषालु छन्। नेपालमा करिब ८३ प्रजातिका सर्प पाइन्छन् , जसमध्ये अहिलेसम्म चिकित्सकीय महत्वका हिसाबले करिब १८ प्रजातिका सर्प मात्रै विषालु रहेको तथ्यांक छ।
नेपालमा बर्सेनी २० हजार मानिस सर्पदंशबाट प्रभावित हुने र करिब एक हजार मानिसले सर्पको टोकाईबाट ज्यान गुमाउने गरेका तथ्यांक विश्व स्वास्थ्य संगठनले सन् १९८७ मा सार्वजनिक गरेको थियो। कतिपय बिरामी अस्पताल नै नपुगी झारफुकतिर लाग्ने र कतिपय अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गुमाउने हुँदा नेपालमा सर्पको टोकाईबाट प्रभावित र ज्यान गुमाउनेको संख्या अझ धेरै हुन सक्ने कालीगण्डकी अस्पतालका सर्पविज्ञ डा. छबिलाल थापा बताउँछन्।
नेपालमा एन्टीस्नेक भेनोम सेरम (सर्पदंशको औषधि) नबन्ने र भारतबाट आयात गर्नुपर्ने हुनाले हरेक वर्ष नेपालका धेरैजसो अस्पतालहरुमा औषधिको अभाव हुने गर्दछ र बिरामीलाई अन्य अस्पताल रिफर गर्नपर्ने समस्या छ। नेपालमै प्रसस्त मात्रामा औषधि उत्पादन गर्न सके र समयमै बिरामीलाई अस्पताल पुराउन सके सर्पदंशबाट धेरैको ज्यान जोगाउन सकिने सर्पदंश चिकित्सक डा. आमोद घिमिरे बताउँछन्।
डा. घिमिरेका अनुसार नेपालका विषालु सर्पहरु मध्य गोमन, करेत र बाघे सर्प (रसेल्स भाइपर) को टोकाइले मानिसको ज्यान जानसमेत लाने गरेको घट्नाहरु छन्। नेपालमा पाइने सबैभन्दा लामो अविषालु सर्प अजिंगर(पाइथोन) हो र विश्वकै सबैभन्दा लामो विषालु सर्प राजगोमन (किङ कोब्रा) पनि नेपालमा पाइन्छ। नेपालका झन्डै २६ जिल्ला सर्पदंशबाट धेरै नै प्रभावित छन्। सर्पका प्रजाति, सर्पको टोकाइ ब्यबस्थापन र सर्प संरक्षणसम्बन्धी उचित ज्ञान नहुँदा मानव र सर्पबीचको द्वन्द्व बढ्न गइ दुबैलाई नै हानी गरिरहेको उदाहरणहरु हाम्रै गाउँघरमा प्रसस्तै छन् र यस्तै समस्यालाई न्यूनीकरण गरी सर्प संरक्षण गर्ने उद्देश्यका साथ जुलाई १६ अर्थात् आजकै दिनमा संसारभर विश्व सर्प दिवस मनाउने गरिन्छ।
यो दिवस विश्व भरी नै सर्प र सर्प संरक्षणमा काम गरिरहेका वैज्ञानिक, संरक्षणकर्मी, उद्धारकर्मी, चिकित्सक तथा विद्यार्थीहरु बिभिन्न ठाउँहरुमा भेला भई विभिन्न कार्यक्रम गरेर धुमधामका साथ मनाउने चलन भएपनि अहिलेको कोभिड १९ को विषम परिस्थितिका कारण विभिन्न देशमा अनलाइनमार्फत सेमिनार गरी मनाउने जमर्को गरिएको छ।
नेपालमा भने सम्भवत: सन् २०१८ मा पहिलोपटक विश्व सर्प दिवस मनाइएको थियो जसमा नेपाली सेनाको न. २ तालिमगण सैनामैना रुपन्देहीमा एकैपटक करिब ६०० जना नेपाली सेनालाई सर्प, सर्पदंश ब्यबस्थापन र सर्प संरक्षणसम्बन्धी जनचेतनामुलक कार्यक्रम गरी भव्यताका साथ मनाइएको थियो। त्यस्तै सोही दिन नै रुपन्देहीकै शंकरनगर बनबिहार तथा अनुसन्धान केन्द्रमा पनि विभिन्न क्षेत्रका मानिसहरुलाई समेटेर सर्पदंशबाट मानिसको मृत्यु कम गराउने तथा सर्प संरक्षण अभियानलाई दीर्घकालीन बनाउने उद्देश्यका साथ विश्व सर्प दिवस मनाइएको थियो। त्यसपछि सन् २०१९ मा नवलपुर जिल्लाको कावासोतीमा स्कूलका बिद्यार्थीहरुलाई "जैविक विविधतामा सर्प संरक्षणको महत्व" भन्ने बिषयमा निबन्ध प्रतियोगीता आयोजना गरी उत्कृस्ट प्रतियोगीहरुलाई पुरस्कृतसमेत गरीएको थियो।
यी सम्पूर्ण कार्यक्रमहरु नेपाल टक्सिनोलोजी एसोसिएसन तथा कालीगण्डकी अस्पतालनवलपुरको सहकार्यमा सम्पन्न भएका थिए। यो वर्ष भने अहिलेको कोभिड १९ का कारण भएको लकडाउनले गर्दा यस्ता खालका जनचेतनामुलक कार्यक्रमहरु गर्ने माहोल अलि असहज भएको कुरा सर्पदंश विज्ञ डा.थापा बताउँछन्।
सर्प संरक्षण किन गर्ने त?
धार्मिक तथा सांस्कृतिक महत्वको हिसाबले पनि सर्प सम्बन्धी धेरै नै किम्वदन्तीहरु सुन्नमा आउँछन्। हिन्दु धर्ममा नागपंचमीका दिन सर्पलाई पूजा गर्ने चलन छ। यसो गर्नले सर्पदंशबाट बच्ने र सुख शान्तिले बास गर्छ भन्ने धार्मिक आस्था रहिआएको छ। सर्पले ससाना किराफट्यांग्रा, माछा, भ्यागुता, छेपारो, चरा र स्तनधारीहरुको आहार गर्दछ भने चिल, बाजÞ, न्याउरी मुसो आदि प्राणीहरुले सर्प र तिनीहरुको अण्डा आहार गर्दछन्। यसरी नै पारिस्थितिक पद्धति सन्तुलन भैराखेको हुन्छ। सर्पले प्राकृतिक तरिकाले नै मुसा र किराफट्यांग्रा खाइदिएर एकातिर किसानको उत्पादन बढाइरहेको हुन्छ भने अर्कोतिर पेस्ट कन्ट्रोल केमिकल्सको प्रयोगमा कमी ल्याई वातावरण जोगाउन पनि मद्दत पुर्याइरहेको हुन्छ।
त्यस्तै सर्पको विषबाट, एन्टीस्नेक भेनोम सेरोम बनाइन्छ जुन सर्पकै टोकाईको उपचार गर्न प्रयोग गरिन्छ। मानिसको ज्यान बचाउन सक्ने अन्य धेरै औषधीहरु बनाउन पनि सर्पको विष प्रयोग गरिन्छ। मस्तिष्कको चोट, स्ट्रोक, मानसिक तनावको उपचारका साथै पीडा कम गर्ने औषधिलगायत हृदयघात र रक्तचाप सम्बन्धि रोगका उपचार गर्ने औषधी बनाउन पनि यसको विषको प्रयोग गर्ने गरिन्छ।
सर्प संरक्षणमा कसरी योगदान पुर्याउने?
सर्प, सर्पदंश र सर्प संरक्षणसम्बन्धी कुनै पनि जनचेतनामूलक कार्यक्रममा भाग लिई आफ्नो क्षेत्रको वरीपरी पाइने विषालु र अविषालु सर्पबारे जानकार हुनुहोस्।
आँफुले जानेबुझेको भ्रम र सत्यतथ्य केलाई आफ्ना नजिकका मानिसहरुलाई पनि जानकार गराउनुहोस्।
यदि आफ्नो घरभित्र वा बाहिर वरपर कतै अचानक सर्प देखिएमा त्यसलाई नमार्नुहोस्, बरु तुरुन्त उद्धार केन्द्रमा खबर गरिदिनुहोस्।
बढ्दो शहरीकरण, औधोगिकरण र वनविनासले अन्य जीवजन्तुहरुका साथै सर्पको बासस्थानमा पनि असर पारी मानिस र सर्प बिचको द्वन्द्व बढ्न गई दुवै पक्षलाई हानी गर्ने हुँदा, यिनीहरुको बासस्थान जोगाउन र प्रकृति संरक्षण गर्नमा योगदान पुर्याउनुहोस्।
सर्प वा अन्य जीवजन्तुहरुसँग सम्बन्धित कुनै पनि गैरकानुनी क्रियाकलापहरु जस्तै चोरीशिकारी गर्ने वा तस्करी गर्ने वा अनावश्यक रुपमा सर्प खेलाउँदै हिड्ने सपेराहरु वा स्टन्ट देखाउँदै हिड्ने मान्छेहरुको बारेमा थाहा पाउनुभयो भने तरुन्त नजिकैको वन विभाग वा जिल्ला वन कार्यालय वा प्रहरी प्रशाशन वा प्राणी उद्धार केन्द्र वा कुनै सम्बन्धित निकायमा खबर गरिदिनुहोस् ।
-लेखक नेपाल टक्सिनोलोजी एसोसिएसनका संस्थापक सदस्य तथा कन्जरभेसन बायोलोजिस्ट हुन्।