PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

सम्मानमा विभेद गरिएपछि प्रदेश का १ मुख्यमन्त्रीलाई हरि खड्काको प्रश्न, 'प्रशिक्षकको भूमिका के?'



पहिलोपोस्ट

सम्मानमा विभेद गरिएपछि प्रदेश का १ मुख्यमन्त्रीलाई हरि खड्काको प्रश्न, 'प्रशिक्षकको भूमिका के?'

काठमाडौं: पूर्व राष्ट्रिय खेलाडी तथा नेपाली महिला फुटबल टिमका पूर्वप्रशिक्षक हरि खड्काले प्रशिक्षक र व्यवस्थापकको भूमिका के हो भनेर प्रश्न उठाएका छन्। बुधवार प्रदेश १ सरकारले सागमा पदक जितेका खेलाडीहरुलाई पुरस्कार दिएको प्रसङ्गमा खड्काले खेलाडीहरुलाई बधाइ दिँदै प्रशिक्षक र व्यवस्थापन पनि उत्तिकै सम्मानको हकदार हुने तर्क अघि सारेका छन्।

'प्रदेश नम्बर एकले खेलाडीहरुलाई नगदसहित सम्मान गरेकोमा खेलाडीहरुलाइ बधाई अनि प्रदेश प्रमुखलगायत सम्पूर्ण टिमलाइ धेरै धरै धन्यवाद,' खड्काले फेसबुकमा लेखेका छन्,'तर एउटा जिज्ञासा प्रशिक्षक अनि व्यवस्थापक को भूमिका के? यदि भूमिका छैन भने भन्नू पर्‍यो नत्र नेपालमा बसेर काम गर्ने चाहे त्यो प्रशिक्षक होस या व्स्थायवपन सबैको भूमिका महत्त्वपूर्ण हुन्छ र सबैले स सम्मान आफ्नो मुल्यांकन होस भनेर काम गरेका हुन्छन् यसमा मुख्यमन्त्रीज्युले के भन्न चाहनुहुन्छ।'

खड्काले प्रशिक्षक र व्यवस्थापकको यो योगदानको कदर किन गरिएन भनेरसमेत प्रश्न उठाएका छन्। साथै उनले खेलमा खेलाडीसँगै प्रशिक्षक र व्यवस्थापकहरुको पनि त्यति नै योगदान हुने भन्दै ध्यानकर्षण गराएका छन्।

'मुख्यमन्त्रीज्युलाई उहाँहरुको जिम्मेवारी,उत्तरदायित्व र योगदानको कदर नभाएको हो कि भन्ने मलाइ लागेको जिज्ञासा हो,' उनले लेखेका छन्, 'म गलत हुँला। तर जति पनि नेपालमा बसेर काम गर्ने प्रशिक्षक होस या व्यवस्थापन सबै सम्मानका भोका हुन्छन्। त्यसैले यसतर्फ मुख्यमन्त्रीज्युको ध्यानाकर्षण गर्न चाहन्छु! जय नेपाली फुटबल।'

दक्षिण एसियाली खेलकुद सागमा खड्काले नेपाली महिला फुटबल टोलीको प्रशिक्षण सम्हालेका थिए। श्रेष्ठको स्टाटसमा सहमति जनाउँदै तेक्वान्दो प्रशिक्षक दीपक विष्ट यो सबै प्रदेशका लागि सन्देश हुने उल्लेख गरेका छन्।

त्यस्तै उसुका पूर्व प्रशिक्षक रबिन श्रेष्ठ आफू यो विषय उठान गर्दा गर्दा थाकिसकेको बताउँछन्।

'आ मलाई त दिक्क लागिसक्यो, गुनासो केही गर्दिनँ,' उनी लेख्छन्,'उमेरमा मरिहत्ते काम गरियो। कहिल्यै मूल्यांकन पनि भएन। अब पहिला जस्तो जोशजाँगर रहेन। अब केही आशा पनि छैन।'

त्यस्तै अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्षसमेत रहेका नरेन्द्र श्रेष्ठ खड्काको विचारमा सही थप्दै कोचको पनि उचित मुल्याङ्कन हुनुपर्ने बताउँछन्।

'यसको जवाफ चाहिन्छ,' राखेपका प्रशिक्षक राजेश श्रेष्ठ लेख्छन्।

बुधवार प्रदेश १ सरकारले खेलाडीहरुको बैंक खातामै पैसा जम्मा गरिदिनुका साथै उपलब्ध खेलाडीहरुलाई सम्मान गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell