काठमाडौं: लकडाउनकै बीच सरकारले खेलकुद विकास ऐन ल्यायो। यसले खेलकुदमा एउटा अन्योलको अवस्था सिर्जना गरेको छ। ऐन कार्यन्वयनमा आएसँगै सदस्य सचिवलगायतका राष्ट्रिय खेलकुद परिषद्(राखेप)का पदाधिकारीहरु स्वत पदमुक्त भए। र, आर्थिक वर्षको अन्तिम समयमा खेलकुद मन्त्रालयले सदस्य सचिव कार्यवाहक तोकियो।
त्यस्तै परिषद् र संघ दुबैतर्फ आबद्ध हुन नपाउने नियमका कारण एकापट्टी राजीनामा दिने ट्रेन्ड पनि अहिले चलेको छ। यस्तैमा तेक्वान्दोका पूर्व खेलाडी तथा प्रशिक्षक दीपक विष्ट पनि राजीनामा दिनेहरुको भीडमा मिसिन पुगे। उनले नेपाल तेक्वान्दो संघको सचिवबाट बुधवार राजीनामा दिएका हुन्। उनीसँगै तेक्वान्दोकै संगीना वैद्यले संघको सदस्यबाट राजीनामा दिएकी थिइन्।
राजीनामापछि विष्टले बिहीवार बिहानै फेसबुकमार्फत नयाँ ऐनले बाध्यात्मक अवस्था सिर्जना गरेको भन्दै असन्तुष्टि जनाएका छन्।
'एकातिर खेलकुद पृष्ठभूमि भएकाले नै खेलकुदको नेतृत्व गर्ने अवस्था सिर्जना हुनुपर्दछ भन्ने बहस छ। धेरै थोरै हाम्रो खेलकुदमा त्यो अभ्यास पनि हुने क्रममा थियो। हामी कतिपयले खेलाडीका रुपमा प्राप्त गरेको एतिहासिक सफलताका आधारमा सरकारले सम्मानबापत प्रशिक्षकको नियुक्ती दिएको थियो,' उनले लेखेका छन्, 'सँगै हामीजस्ता कतिपयले खेलको विकासका लागि सम्बन्धित संघको केन्द्रीय समितिमा रहेर स्वयंसेवक रुपमा काम गर्ने अवसर पाएका थियौं।'
खेल संघ र प्रशिक्षण दुवैतर्फ रहँदा संघ सञ्चालन र खेलाडीको भावना बुझ्न दुबैतर्फ सहज भइरहेको दाबी गर्दै विष्टले नयाँ ऐनले बाध्यात्मक अवस्था सिर्जना गरेको दाबी गरेका छन्। उनले बिना खेल पृष्टभूमि संघमा रहनु र खेल बुझेका संघमा रहनुलाई एउटै डालोमा राखेर ब्याख्या गरिनु सुखद नहुनेसमेत दाबी गरेका छन्।
'तर, खेलकुद विकास ऐन २०७७ ले संघ वा प्रशिक्षकमध्ये एक रोज्नुपर्ने बाध्यतामक अवस्था सिर्जना भएको छ। बिना कुनै पृष्ठभूमि खेल संघमा बस्नु र हामी जस्तालाई खेलाडी संघको भूमिकामा रहनुलाई एउटै डालोमा राखेर व्यवहार गर्नु कदापि सुखद होइन,' उनले लेखेका छन्।
त्यस्तै राखेपको प्रशिक्षकको भूमिकालाई जागिरको रुपमा मात्र हेर्न नसकिने उनले तर्क गरेका छन्। त्यसलाई उनले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफलताका आधारमा सरकारले दिएको भूमिका मान्दै नेपाली खेलकुदको विकासका लागि अझै लागिरहने उल्लेख गरेका छन्।
'अन्तर्राष्ट्रिय जगतमा सफलता दिलाएवापत सरकारले सम्मान स्वरुप दिएको प्रशिक्षकको नियुक्तीलाई कतिपयले फगत जागिरका रुपमा मात्र हेर्नुलाई सही मान्न सकिन्नँ,' उनले लेखेका छन्, 'भूमिका जे होस् नेपाली खेलकुदको विकास र विस्तारमा ज़िन्दगीको अन्तिम समयसम्म आफु लाग्नेमा म दृढ छु।'
विष्टले तेक्वान्दो संघको सचिव तथा प्रवक्ता पदबाट राजीनामा दिएको बताउँदै यस्ता बाध्यात्मक अवस्थाहरुले आफुलाई कहिलेकहीँ अपमान महसुस हुने उल्लेख गरेका छन्।
'समय समयमा आउने यस्ता निर्णय र व्यवस्थाले कहिलेकाहीँ अपमानसमेत भएको महसुस हुन्छ,' उनले लेखेका छन्,'अहिले नेपाल तेक्वान्दो संघको सचिव र प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिँदै प्रशिक्षकमा यथावत रहने निर्णय गरेको छु।'
विष्टले भोलिका दिनमा आवश्यक परे प्रशिक्षकको भूमिकाबाट फेरि संघको कुनै पनि जिम्मेवारीमा फर्कन सक्नेसमेत उल्लेख गरेका छन्।
'भोलिका दिनमा तेक्वान्दो परिवारले आवश्यकता महसुस गरेको खण्डमा प्रशिक्षक पद त्यागेर संघको कुनै पनि जिम्मेवारीका लागि आफु तयार रहेको पनि जानकारी गराउन चाहन्छु,' उनले लेखेका छन्।
नयाँ ऐनका कारण संघ या राखेप एकातर्फ राजीनामा गर्ने ट्रेन्ड नै चलेको छ पछिल्लो समय। अखिल नेपाल फुटबल संघका उपाध्यक्ष उपेन्द्रमान सिंहले पनि हिजै सहायक प्रशिक्षकको पदबाट राजीनामा दिएका थिए। त्यस्तै सोमवार राखेपमा ३३ जना पदाधिकारीहरुले विभिन्न संघहरुबाट राजीनामा दिएका थिए।
