PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ट्वीटरमा अहिलेसम्मकै ठूलो साइबर हमला : पूर्व राष्ट्रपति ओबामादेखि बिल गेट्ससम्मका अकाउन्ट ह्याक



पहिलोपोस्ट

ट्वीटरमा अहिलेसम्मकै ठूलो साइबर हमला : पूर्व राष्ट्रपति ओबामादेखि बिल गेट्ससम्मका अकाउन्ट ह्याक

अमेरिकी राष्ट्रपति चुनावका प्रतिस्पर्धी जो बाइडेनसहित, पूर्व राष्ट्रपति बाराक ओबामा, अर्बपतिहरु इलन मस्क, जेफ बोजेस, बिल गेट्ससहितको ट्वीटर एकाउन्ट ह्याक भएको छ।

ट्विटरले यो आक्रमण आफ्ना केही कर्मचारीहरुलाई निसानामा पारेर उनीहरुको सिस्टम मार्फत् कम्पनीको आन्तरिक टुल प्रयोग गरेर भएको बताएको छ।

बिटकोइन घोटालाका लागि ह्याकरले उनीहरुको ट्वीटर एकाउन्ट निशाना बनाएका हुन्। ह्याकरले अर्बपतिका ट्वीटर एकाउन्ट ह्याक गरी त्यसमा बिटकोइन मार्फत् डोनेट गर्न अपील गरिएका ट्वीट गरेका थिए।

ती एकाउन्टबाट पनि बिटकाइन डोनेट गर्न अपिल गरिएका ट्वीट ह्याकरले गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

बिल गेट्सको एकाउन्टबाट ट्वीट भएको छ, ‘सबैले यो समुदायलाई केही दिन भनेका छन्, र यो सही समय हो। तपाईँहरु एक हजार डलर पठाउनुस्, म दुई हजार डलर पठाउँछु।’

ट्विटरका सीईओ ज्याक दोर्सेले ट्विट गर्दै ट्वीटरमा आफूहरुका लागि सबैभन्दा कठिन दिन भएको उल्लेख गरेका छन्। उनले घटनाको बारेमा छानबिन गरिरहेको र के भएको हो भन्ने सबै कुरा सार्वजनिक गर्ने घोषणा गरेका छन्।

 

ट्वीटर ह्याक भएसँगै बिल गेट्सका प्रवक्ताले विज्ञप्ति जारी गर्दै भनेका छन्- 'हामी स्पस्ट पार्न चाहन्छौँ कि यो ट्वीट बिलगेट्सबाट पठाइएको होइन। यो एउटा ट्वीटरले भोगिरहेको ठूलो विषय हो। ट्वीटर यस विषयमा जानकार रहेको र एकाउन्टलाई पुन: सञ्चालनका लागि लागिरहेको छ।'

ह्याक भएका ट्वीटर खाताहरुमा वारेन वफेट, इलन मस्क, एप्पलको आधिकारिक एकाउन्ट, जैफ वेजोस, अमेरिकी र्‍यापर विज खलिफा, न्यूयोर्कका पूर्व मेयरमाइक ब्लुमवर्ग, अर्बपति युटुवर मिस्टर बीस्ट, बक्सर फ्लोइड, किम कार्दासिनलगायतका रहेका छन्।

यी सबै एकाउन्टबाट एउटै खाले सन्देश लेखिएको छ। ह्याकरले बिटक्वाइन स्कामलाई सफल बनाउनका लागि सबैलाई बिटक्वाइनमा लगानी गर्न भन्दै त्यसको लगानीको दोब्बर दिने उल्लेख गरिएको छ।

अकाउन्ट ह्याक भएसँगै राष्ट्रपतीय चुनावका प्रतिस्पर्धी बाइडेनका सहयोगीले ट्विटरले उनको अकाउन्टलाई तत्काल 'लकडाउन' गरेको भन्दै यस विषयमा ट्विटरसँग छलफल चलिरहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell