काठमाडौं: विश्व हिन्दू महासंघका उपाध्यक्ष ज्योत्सना साउदले कलेजो प्रत्यारोपण गरेका बैतडीका नाबालक शिवांश अवस्थीको उपचारका लागि ५५ हजार रुपैयाँ सहयोग गरेकी छन्।
उपाध्यक्ष साउदले उक्त रकम बिहीवार शिवांशका पिता महेशप्रसाद अवस्थीलाई भैंसेपाटीस्थित निवासमै बोलाएर हस्तान्तरण गरेकी छन्।
रुडुक नेपालकी महासचिवसमेत रहेकी साउदले नाबालकको कलेजो प्रत्यारोपणपछिको उपचारमा मद्दत पुगाउन थोरै भए पनि सहयोग गरेको बताइन्। ज्योत्सना नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदकी पत्नी हुन्।
बैतडीमा रेडियो सञ्चालन गर्दै आएका अवस्थीले भारतको चेन्नेईस्थित एक अस्पतालमा छोरा शिवांशको कलेजो प्रत्यारोपण गराएका छन्। त्यसयता शिवांशको उपचार भइरहेको छ।
