PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

३१ जिल्लाका १६७ जनामा कोरोना पुष्टि : सबैभन्दा बढी ‘एक्टिभ केस’ सुदूरपश्चिममा 



विधुर ढकाल

३१ जिल्लाका १६७ जनामा कोरोना पुष्टि : सबैभन्दा बढी ‘एक्टिभ केस’ सुदूरपश्चिममा 

काठमाडौं : पछिल्लो २४ घण्टामा १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा ४ हजार ९८१ जनाको पीसीआर परीक्षण गर्दा ३१ जिल्लाका १६७ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २१३ जना डिस्चार्ज भएका छन्।

संक्रमण पुष्टि भएकामध्ये विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका २, सुनसरीका ४ जनामा संक्रमण पुष्टि भएको छ। कोशी अस्पताल प्रयोगशालामा झापाकै २ जना तथा उदयपुरका १ र इलामका ६ जनामा पनि संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ३ र ओखलढुंगाका १५ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धनुषामा धनुषाका २६ जनामा पनि संक्रमण पुष्टि भएको छ। नारायणी अस्पताल प्रयोगशालामा पर्साका २, बाराका १ र रौतहटका ६ जनामा संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल प्रयोगशालामा धनुषाका १ जनामा संक्रमण पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशालामा काठमाडौंका १  तथा किटजन्य रोग अन्वेषण केन्द्र हेटौंडामा नवलपरासी पूर्वका १७, मकवानपुरका ३ र रौतहटका ६ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक प्रयोगशाला पोखरामा बाग्लुङका २ र स्याङ्जाका १ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा रुपन्देही र प्युठानका १/१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

भेरी अस्पताल प्रयोगशालामा बाँकेका ८, दाङ र बर्दियाका १/१ तथा सुर्खेतका २ जनामा संक्रमण पुष्टि भएको छ। 

दैलेख अस्पताल प्रयोगशालामा दैलेखका ६ र चौरजहारी नगरपालिका प्रयोगशालामा रुकुम पश्चिमका १ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल सुर्खेतमा सुर्खेतका १ तथा सल्यान र जाजरकोटका २/२ जनामा पनि संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मुगुका १ जनामा संक्रमण पुष्टि भएको छ। 

सुदूरपश्चिम प्रदेश अन्तर्गत डडेलधुरा अस्पताल प्रयोगशालामा डडेलधुराका ८ तथा सेती अस्पताल प्रयोगशालामा कैलाली र कञ्चनपुरका १४/१४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, अछामका ४ र बझाङका १ जनामा पनि सेती अस्पताल प्रयोगशालामा नै संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ। जसमध्ये ११ हजार २४९ अर्थत ६४.८५ प्रतिशत संक्रमित डिस्चार्ज भइसकेका छन्। हाल एक्टिभ केस ६ हजार ५६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा सबै ७७ जिल्लामा संक्रमण पुष्टि भएकोमा हाल ५ वटा जिल्ला कोरोना भाइरस मुक्त भएका छन्। कोरोना मुक्त जिल्लाहरुमा भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ र हुम्ला रहेका छन्।

प्रादेशको संक्रमणको अवस्था

 

प्रादेशिक विवरण अनुसार हाल सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी एक्टिभ केस रहेका छन्। यहाँ २ हजार ३८४ एक्टिभ केस छन्। यहाँका संक्रमितमध्ये एक हजार ६१० जना डिस्चार्ज भएका छन्। जसमध्ये ६ जनाको मृत्यु भएको छ।

प्रदेश २ मा हाल एक हजार ९१५ एक्टिभ केस आइसोलेसनमा छन्। सबै भन्दा बढी संक्रमण पुष्टि भएको प्रदेश २ मा दुई हजार ५३८ जना डिस्चार्ज भइसकेका छन् भने ५ जनाको मृत्यु भएको छ।

संक्रमण पुष्टि भएको प्रदेशमा तेस्रो प्रदेश हो प्रदेश ५। यहाँ हाल ५५८ एक्टिभ केसमात्र उपचारका क्रममा रहेका छन्। यहाँ संक्रमण पुष्टि भएका तीन हजार ५३७ जना संक्रमित डिस्चार्ज भइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा यहाँका १० जना संक्रमितको मृत्यु भएको छ। यद्यपी प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा १३ जनाको मृत्यु भएको उल्लेख छ। जसमध्ये २ जनाले आत्महत्या गरेका हुन् भने एक जना भारतमा मृत्यु भई शव नेपालमा लिएर श्वाब परीक्षण गर्दा पोजेटिभ पुष्टि भएका हुन्। 

वाग्मती प्रदेशमा हाल ४२८ एक्टिभ केस उपचारका क्रममा छन्। यहाँ ४०६ जना डिस्चार्ज भइसकेका छन् भने ९ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, गण्डकी प्रदेशमा संक्रमितमध्ये ९३५ जना डिस्चार्ज भइसकेका छन्। त्यस्तै त्यहाँ ३८५ एक्टिभ केस रहेका छन्। यहाँ ६ जनाको मृत्यु भएको छ। यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा ५ जनाको मृत्यु उल्लेख छ।

गोरखाका एक जनाले आत्महत्याको प्रयास गरेपछि उपचारका लागि पाटन अस्पताल भर्ना गरिएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनको अस्पतालमा नै उपचारका क्रममा मृत्यु भएको थियो।

यसैगरी, कर्णाली प्रदेशमा संक्रमितमध्ये १ हजार ४७९ जना डिस्चार्ज भइसकेका छन्। त्यहाँ ३१९ वटा एक्टिभ केस रहेका छन्।

सबै भन्दा कम संक्रमण र कम एक्टिभ केस भएको प्रदेश हो प्रदेश १। यहाँ कोरोना संक्रमित कसैको पनि मृत्यु भएको तथ्यांक छैन। यहाँ हाल ६७ एक्टिभ केस उपचारका क्रममा छन् भने ७४४ संक्रमित डिस्चार्ज भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell