PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

विराटनगर महानगरपालिकाले पढाउन सकेन भर्चुअल माध्यमबाट, विद्यार्थीको पहुँच नदेखिएपछि कार्यक्रम बन्द



फूलमाया पुरी

विराटनगर महानगरपालिकाले पढाउन सकेन भर्चुअल माध्यमबाट, विद्यार्थीको पहुँच नदेखिएपछि कार्यक्रम बन्द

विराटनगर : कोरोना भाइरसको महामारीका कारण सम्पूर्ण शैक्षिक संस्था ठप्प छन्। साउन लाग्दासम्म पनि विद्यालय संचालन हुन सकेका छैनन्।

विद्यार्थी विद्यालयमा उपस्थित हुन नसक्नेदेखिएपछि सरकारले वैकल्पिक शिक्षा सञ्चालन निर्देशिका नै जारी गर्‍यो। त्यसैका आधारमा विराटनगर महानगरपालिकाले पनि गत जेठबाट वैकल्पिक शिक्षा सञ्चालन थाल्यो।

तर, दुई महिनामै महानगरपालिकाले यो कार्यक्रम बन्द गरेको छ। पूर्वेली एफएम र मकालु टेलिभिजनबाट दुई महिना शैक्षिक सामग्री प्रसारण गरेपछि बिहीवारबाट यो कार्यक्रम बन्द गरेको हो। 

विद्यार्थीको उल्लेखनीय पहुँच नदेखिएपछि वैकल्पिक शिक्षा बन्द गर्नुपरेको महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले बताए।

‘विद्यार्थीको पहुँच नै नभएपछि लगानी गर्न उचित ठानिएन,’ खतिवडाले भने।

त्यसो त दुई महिना वैकल्पिक शिक्षा सञ्चालनका लागि महानगरपालिकाले एफएम र मकालुसँग सम्झौता गरेको थियो।

विद्यार्थी कम, खर्च बढी

वैकल्पिक शिक्षा कार्यक्रममा विद्यार्थीको सहभागिता कम देखिएको खतिवडाको दाबी छ। ‘खर्चिलो छ कार्यक्रम। तर प्रयोगकर्ता कम देखियो,’ उनले भने।

महानगरपालिकाले पाँच लाखभन्दा बढी वैकल्पिक शिक्षाका लागि खर्च गर्न नसक्ने अवस्था आएको खतिवडाले बताउँछन्।जुन खर्च टेलिभिजन र रेडियोमा दुई महिनामै सकिसक्यो।

अब पढाउन के गर्ने त?

विद्यार्थीलाई शिक्षाबाट वञ्चित हुन नदिनका लागि महानगरपालिकाले विद्यार्थीको वर्गीकरण गरी शिक्षण सिकाइलाई निरन्तरता दिन तथ्याकं संकलन गर्न थालेको छ।

खतिवडाकाअनुसार महानगरपालिकाभित्रका विद्यालयहरुबाट निर्देशिका अनुसारकै विद्यार्थीको वर्गीकरण गर्दै तथ्यांक संकलन गरिरहेको छ। सम्बन्धित विद्यालयलाई निर्देशन गरिसकेको र केही विद्यालयले तथ्यांक बुझाइसकेका छन्।

सबै विद्यालयबाट तथ्यांक आइसकेपछि विद्यार्थीको पहुँच पहिचान गरी सोही अनुरुप महानगरपालिका अघि बढ्ने खतिवडाले जानकारी दिए।

विराटनगर ३ स्थित पोखरीया माध्यमिक विद्यालयले विद्यार्थीहलाई पाँच समूहमा विभाजन गरी तथ्याकं बुझाइसकेको विद्यालयका प्रधानाध्यापक खेम भट्टराइले बताए।

जसमध्ये सबैभन्दा बढी इन्टरनेट(कम्प्युटर र मोबाइल)मा ४५ प्रतिशतको पहुँच भएको पाइएको छ। त्यस्तै टेलिभिजनमा पहुँच भएका ३७ छन्। भने १२ प्रतिशत रेडियो एफएममा पहुँच भएका छन्।

त्यसैगरी  ४ प्रतिशतको मात्र कम्प्यूटरमा पहुँच भएको विद्यालयले नगरपालिकालाई दिएको तथ्याकं छ। १ प्रतिशत विद्यार्थी भने उल्लेखित कुनै पनि माध्यमको पहुँचभन्दा बाहिर रहेको पाइएको छ।

घरमा एउटा मात्र मोबाइल फोन भए पनि त्यसलाई रेडियोको पहुँच भएको मानिएको प्रअ भट्टराइको भनाइ छ।

उनी परिवारका सबैसँग मोबाइल नहुन सक्ने र  विद्यार्थीसँग मात्रै हुनुपर्छ भन्ने पनि नरहेको भन्दै राज्यले गर्न खोजेको वर्गीकरण अस्पष्ट भएको बताउँछन्।

‘परिवारमा पाँच जना छन्। कम्तीमा तीनजनासँग इन्टरनेट चल्नसक्ने मोबाइल भएको पाइएको छ’ उनले भने।

महानगरपालिकाले मकालु टेलिभिजनमार्फत सञ्चालन गरेको वैकल्पिक शिक्षासहित अन्य टेलिभिजन र रेडियोमा पहुँच भएको पनि उनले बताए।

‘हामीले मकालु टेलिभिजनको पहुँचलाई मात्र आधार बनाएका छैनौं’ उनले भने।

महानगरपालिकाले नेपाली अंग्रेजी दुवै माध्यममा वैकल्पिक शिक्षा सञ्चालन गरेको थियो। तर अंग्रेजी माध्यमको तुलनामा नेपाली माध्यममा अध्ययनरत विद्यार्थीको सहभागिता अत्यन्तै न्युन रहेको प्रअ भट्टराइले बताए।

सत्यनारायण माविले पनि विद्यार्थीको तथ्यांक बुझाइसकेको शिक्षक प्रभातराज नेपालले बताए। यहाँका विद्यार्थीहरुलाई भने नौ समूहमा विभाजन गरी तथ्यांक निकालिएको छ।

जसमा रेडियो, मकालु टेलिभिजन, अन्य टेलिभिजन, कम्प्यूटर अफ लाइन, इन्टरनेट, स्मार्ट फोन, सबैको पहुँच र कुनैपनि पहुँचमा नभएकोलगायतका समूहमा विभाजन गरी कक्षा ७ देखि १० कक्षासम्मको तथ्याकं संकलन गरेको छ। 

त्यसो त सांकेतिक भाषाको प्रयोग गरेरै अध्ययन गर्ने गराउने विद्यालयका विद्यार्थी पनि वैकल्पिक शिक्षामा जोडिएका छन्। विराट बहिरामावि विराटनगरले पनि वैकल्पिक शिक्षा सञ्चालनमा ल्याएको छ।

विद्यालयका शिक्षक मनिस गौतमका अनुसार विद्यालयले विद्यार्थीलई तीन भागमा विभाजन गरी तथ्यांक निकालेको हो। जसअनुसार इन्टरनेटको पहुँचमा भएका ६३ जना र ९० जना टेलिभिजनमा पहुँच भएका विद्यार्थी छन्। जम्मा एक सय ६३ जना विद्यार्थी भएकोमा १० जना इन्टरनेट र टेलिभिजन दुवैको पहुँच बाहिर रहेका छन्।

सांकेतिक भाषामा अध्ययन अध्ययापन गराउनु पर्ने भएको हुँदा यहि असारबाट अनलाइन कक्षा सञ्चालन गर्दै आएको विद्यालयकी प्रधानाध्यापक मीनु अधिकारी दाहालले जानकारी दिइन्।

उनका अनुसार विद्यालयले विद्यार्थीको वर्गीकरणको आधारमा जुम एपको प्रयोग गरी अनलाइन कक्षा सञ्चालन गरिरहेको छ। तर यसलाई प्रभावकारी बनाउन नसकेको प्रअ दाहालले स्वीकार गरेकी छिन्।

निर्देशिकाअनुसार पाँच वटा वर्ग तोकिएपनि यस विद्यालयका विद्यार्थीहरुले बहिरा र सांकेतिक भाषाको प्रयोग गर्ने हुँदा तीन भागमा मात्र विभाजन गरिएको हो। ‘विद्यार्थी वर्गमा विभाजन गरेर कक्षा सञ्चालन गरेपनि औपचारिकता मात्रै पुरा गरेजस्तो भएको छ,’ उनले भनिन्,'विद्यार्थीहरु नै डाटाबाट चलाएको हो कक्षा समय घटाउन आग्रह गर्छन्।’

सुरुवातमा नयाँ प्रविधिमा पढाउन असम्भव नै देखेका बहिरा माविका शिक्षकहरु अहिले यसबाट धेरै कुरा सिक्न र सिकाउन पाएको बताउँछन्। अनलाइन कक्षा भएकै समयमा बोर्डतिर क्यामेरा फर्काएर लेखेरै बुझाउने गरेको शिक्षक गौतमले बताए। ‘हामी सकेसम्म विद्यार्थीलाई पढाइप्रति आकर्षण गर्नमा ध्यान दिन्छौं। समूहमा बाडेर पनि गृहकार्य दिने गरेका छौं’गौतमले भने। यसलाई प्रभावकारी बनाउन अभिभावकले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ।

अपांग बालबालिकालाई समेटिएन

सरकारले वैकल्पिक शिक्षाको कुरा गरिरहँदा र निर्देशिका तयार गर्दा अपाङ्ग बालबालिकालाई अझै समेट्न नसकेको देखिन्छ। वैकल्पिक शिक्षाका रुपमा अधिकांश विद्यालयले अनलाई कक्षा सञ्चालन गरिरहेका छन्। जसका लागि स्मार्ट फोन वा कम्प्यूटर अनिवार्य हुने बताउँछिन् बिराट बहिरा माविकै शिक्षक शोभा धमला।

‘विराटनगर जस्तो शहरी क्षेत्रमा त वैकल्पिक कक्षाले प्राथमिक कक्षाका विद्यार्थीलाई समेट्न सकेन भने अन्य ग्रामिण भेगमा त झन् के होला?’ त्यसमा पनि बहिरा विद्यार्थीहरुको सिकाइ प्रकृया नै फरक छ। उनीहरुलाई देखाएरै पढाउनुपर्छ।’

माथिल्लो कक्षालाई सहज भएपनि तल्लो कक्षाका लागि भिडियो बनाएको उनले बताइन्। जुन शिक्षकको नजिक घर भएका विद्यार्थीको घरमा अभिभावकसहित बुझाउने गरेको पनि उनले जानकारी दिइन्।

यता महानगरपालिकाले वैकल्पिक शिक्षाको वर्गीकरण गरिरहँदा प्याबसन र एन प्याबसनले  वैकल्पिक शिक्षाबाट पठनपाठन नगराउने र शिक्षक र कर्मचारीहरुलाई बेतलबी विदामा राख्ने निर्णय गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell